बागलुङबाट पर्सा गएका १४ मजदुरमा कोरोना पुष्टी


आदर्श अनलाईन, बागलुङ
२ नम्बर प्रदेशको पर्सा जिल्लामा ३९ र बारा जिल्लामा १ जना गरेर ४० व्यक्तिमा मंगलवार कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार संक्रमित व्यक्तिमध्ये १४ जना पर्साको छिपहरमाई गाउँपालिका र बाँकी २५ जना वीरगञ्ज महानगरपालिकाका रहेका छन् ।

वैशाख २१ गते वीरगञ्ज–३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ पाइएको थियो । ‘पछि वैशाख २४ गते १७ नम्बर वडा पनि संक्रमण पुष्टि भएको थियो,’ घिमिरेले भने, ‘संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको खोजी गरेर स्वाब संकलन गरेर परीक्षण गराउँदा कोरोना संक्रमण बढेको पाइएको हो ।’ पर्साको छिपहरमाई गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ६२ जना व्यक्तिमध्ये १४ जनामा कोरोना संक्रमण पाइएको छ । गाउँपालिकाका प्रमुख मनोजकुमार गुप्ताका अनुसार संक्रमित १४ जनाको समूह १७ दिनअघि वैशाख १३ गते बस चढ़ेर बाग्लुङबाट पोखरा हुँदै आएका थिए । बसमा ४२ जना आएका थिए ।

संक्रमितहरू बाग्लुङमा काम गर्दै आएका मजदुर हुन् । ‘उनीहरू आएको खबर पाए लगत्तै मैले सबैलाई दायाँबायाँ हुने मौका दिइनँ, सबै जनालाई क्वारेन्टाइनमा राखेको थिएँ,’ प्रमुख गुप्ताले भने, ‘२ दिनअघि वैशाख २८ गते उहाँहरूको स्वाब संकलन गरिएको थियो ।’ संक्रमितमध्ये १ जना भारतीय नागरिक रहेको, २ जना पर्सा जिल्लाकै धोबिनी गाउँपालिकाका र बाँकी ११ जना छिपहरमाई गाउँपालिकाका रहेका उनले बताए ।

गाउँपालिका प्रमुख गुप्ताका अनुसार बाग्लुङबाट बस चढेर आएका ४२ जना व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने बेलामा नै १ जनामा उच्च ज्वरो देखिएको थियो । ‘४२ जनामध्ये १ जनामा १०२ डिग्री ज्वरो थियो, मलाई त त्यतिबेलै शंका लागेको थियो,’ प्रमुख गुप्ताले भने, ‘त्यसपछि मैले सीडीओ सा’पलाई फोन गरेर सदरमुकामको आइसोलेसनमा राखेर उपचार गराउनुपर्छ भनेर पनि भनेको थिएँ । तर सीडीओ सा’पले पर्दैन, त्यहीँ क्वारेन्टाइनमै राख्नुस् भनेर भन्नुभएको थियो । मैले के गर्ने ? त्यतिबेला नै स्वाब संकलन गरेर परीक्षण गरेको भए आज १४ जनामा संक्रमण नहुन पनि सक्थ्यो ।’

सचिव घिमिरेका अनुसार मंगलवार पुष्टि भएकामध्ये वीरगञ्ज महानगरपालिका–२, ३, ४, १६, १७ र १८ का छन् । १२ वर्षदेखि ५३ वर्ष उमेर समूहका संक्रमित छन् । ४० वर्षका ५ जना र बाँकी युवा छन् । बाराका १ जना विश्रामपुर गाउँपालिका निवासी रहेका उनले बताए । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउतका अनुसार बारामा कोरोना देखिएका १ जना संक्रमित व्यक्ति वीरगञ्जको इनरवा चोकमा नै ग्यास पसल सञ्चालन गर्दै आएको थियो । ‘उनी लकडाउन अवधिमा गाउँ आएका छैनन् उतैबाट संक्रमण भएको हुनसक्छ,’ उनले भने । बारा जिल्लास्थित विश्रामपुर गाउँपालिकाका १४ वर्षीय किशोरमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
साभार लोकान्तर डटकम

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *