नानी नचिन्ने आँखो

राम सुवेदी

तिम्लाई लाग्दो हो, मेरो पनि मातृभूमी छ । पेट पाल्न नसक्ने भए पनि, अलिकति रुखो वारी छ । घाम र झरी टार्न नसक्ने तारामन्दले बुकुरो छ । बुढी आमाको चोली फेर्न नसक्ने, अर्धाङ्गिनीको भुतुँगो लाज टार्न नसक्ने, कलिला लालावालकाको दुधे पेट भर्न नसक्ने अजंगको गरिवी सार्न मातृभूमि छिचोल्दै परदेशी भएका तिम्रो, कारुणिकता सुन्दिने पो को रहेछन् र ? रुखो र पेख्खर बनझड परेको तिम्रो मातृभूमिमा जो जस जहाँ छन्, यो परिवेशमा तिम्लाई लाग्या होला, दुनियाँ रुखो र बञ्झड छ । आफ्नै माटोमा जिन्दगी बेहोर्न नसकेर, न थात न वासको तिम्रो गरिवीको संघर्षबाट सुनौलो समृद्धिको सपनाले दगु¥याएका परदेशी, तिम्रो वास्तविकता, कोरोना कहरले आज कति छताछुल्ल पा¥यो । दुनियाँका आँखामा रसायौ, कोमल मनहरुमा विझायौ, श्रव्यदृय पर्दाभरी कथाका पात्र बनेर छायौ, कर्मथलोमा बस्न तिम्रो गरिबीले सुखसँग त दिएन नै । उता वर्तमानको कहरले, तिम्रा अनेकन खरहरहरु थन्क्याउँदै, आफ्नै घरभित्र पस्ने संघारमा आइपुगेर पनि तिम्लाई बाटो छेकियो, आज आँगनपारिको पराई सडकमा अलपत्र प¥यौ ।

नआत्तिनु साथी, तिमी गरिव,मजदुर भयौ र त के भो, ‘सुखी नेपाली, समृद्ध नेपाल’ देशले बोकेको नारा तिमीले नउछिन्दा सम्म, संविधानमै समाजवाद उन्मुख गन्तव्यले कर्तव्य नठह¥याउँदा सम्म एक नागरिकको ज्यान ठटाएर सत्ता चलाउनुछ, यसलाई कर्मको खोट भन्दिनु । घरका जहान केटाकेटीसँग तिम्रो सडक अभियानका जिन्दगानी कहानी नकथिदिनु । प्यासले गला सुक्दा, भोकले डाम्रिएको पेटले अन्न खोज्दा, जोश, जाँगर तंग्रिएको बेला जस्तै मातृभूमिको अथक मायामोहले महाकालीमा हाम्फाल्दै मातृभूमिको आँगन टेक्ने कुचेष्टा कदापी नगर्नु ।

विश्वमा कोरोना कहरले आक्रान्त बनाई रहँदा मैले हेरेको हेरै छु । तिमी र तिमी जस्ता हजारौं श्रमिकहरु नेपाल—भारत सीमा नाकामा रन्थनिएका तस्वीरहरु । देश विदेशका समाचारपत्रका पानापानामा टाँसिएका छौ । टेलिभिजनका श्रव्यदृश्यमा तिम्रा रसिला नयनहरुले गुहार मागिरेहेका हुन्छन् । दुई हात जोडेर हार÷गुहार गर्न आइपुगेका तिम्लाई मातुभूमिको संघारमा छेकिनु, आफैमा विडम्बना त छँदैछ । उल्टो तिम्रो कर्म पुरा नभएको यता हाम्रा घरवालाले भनेका भन्यै छन् । धन्य साथी, तिम्री अर्धाङ्गीनी निरक्षर रहेछिन् र समाचारपत्र पढ्न जान्दिनन् । तिम्रा लालावालाले स्कुल देखेनन्, जान्ने बुझने भएनन् । र त, वास्तविकता तिम्रो के छ, तिम्रो वेदना पत्तो पाएका छैनन् । तिमीले, तिम्रा जहान केटाकेटी राखेको झुपडिमा पल्लाघरे छिमेकीले बजाएको टड्कारो रेडियो, उनका घरभित्र घन्काएको टिभि र उपल्लाघरे मास्टरले बोकेको समाचारपत्र तिम्रा घरकालाई के मतलव । जे छ, यता त ठिकै छ, बरु तिम्रो देशको दुर्दशा छ । घर संघारमा रोइदिएको तिम्रो रोदनले नछोएको कठोर सत्ता लतको जंघार तर्न नसकेर न वारी, न पारी भएको छ ।

हिजोका दिनमा तिमी जस्ता गरीव र श्रमजिवीको गित घन्किएका इतिहासका दैनिकीहरु आज कालापारबाट स्मरणको चेतमा मन्दमन्द बज्दै होलान् । उनीहरु हिजो तिम्लाई आफ्नै जस्तै लाग्थे । प्राण प्यारा मानिन्थे, त्यसैले त होला साथी, राता टाला बाकेर महाराजाका अघिपछि डुल्थ्यौ? समानता र समृद्धिका भाषण चित्त बुझेर होला, छाति पिटेर अव मेरो राज्य आउँछ भन्थ्यौ ? धनी गरिब बरावरी भन्ने सोलोगन त तिम्ले गाउँका धनीका घरतिर फर्केर उ, त्यही देउरालीको डाँडाबाट चिच्याएर कुर्लन्थ्यौ । विगत संझेर तिम्रो मातृभूमिलाई नसराप्नु, ति सपना त थिएनन् तर विपना जस्ता पनि होईनन् । यत्ति सम्झनु, व्यवस्था होईन बेइमान व्यवस्थापक हुन् ।

जीवनका यस्तै-यस्तै, अनेकन लहडमा त हो, तिम्ले घर व्यहार टार्न चाहिने छिमेरीलाई विराना बनायौ । समानताका खातिर न्यायपूर्ण आवाज बोल्दा, शासक र शासन त फेरियो, तर साथी तिमी हामी उस्ताको उस्तै रह्यौं । भन्थ्यौ, आज विराना भएर के भो, भोली मेरो सत्ताले समान बनाउछ । तिम्रो कस्तो स्वच्छन्द विश्वासको जग, थाहा पायौं है, आज ? के गर्नु विरानो त विश्वास भइदिएको छ, तिमी कर्मका धनी मान्छेलाई उछालेर गरिवीको खाडलमा जाक्ने यिनै सत्ताशीन हुन्, जस्ले आज तिम्रो कुनै वास्ता गरेनन् ।

चुनावमा हिंडाए भिडाए, दौडाए तर थाहा छ, संसारका मजदुरहरु एक हौं भन्नेहरु गद्धार रहेछन्, बैइमान भएकाछन्, तिम्रो गरीवीसँग दलाली गरेर शत्तामा मोज गरेका देखिन्छन् । उनीहरुलाई आफ्नै रंगीचंगी छ, भाई भतिज, नातागोता, आसेपासे र गासेहरुको गतिलो रजाईछ । तिमी विचरोले सुनौली बोडर कुर कि, महाकालीमा हामफाल । सुन्ने, जान्ने कोही छैन, तिम्रो । किन कि तिमी एक दर्जाका मान्छे हौ जो, भोटबैंकका रुपमा जम्मा÷जम्मी एक दिनका लागि चाहिन्छौं । अरुवेला चाहिने उनका दाहिने बहुत छन् ।

गास वास र कपासले सताइएका, गरिबी, भोका पेटवाला र नाँगा जीउवाला । तिमी चाहे भारतका नाकामा प्रताडित भएका हौ, चाहे खाडिबाट रेमिट घुचटेर सत्ता धानेका दानवीर साथीभाई किन होउ । आज कोरोना कहरले आफ्नो औकातसँग राज्यसत्ताको तालमेल गज्जवले भोग्नै खास अवसर मिल्यो । समृद्धि र समानताका बात चुट्ने चाटुकारहरु शत्ता ठेकेदारहरु, कोरोना कहरले होईन, यसवेलाको उदाँगो नकचरोपन छेक्न चाईनिज माक्स प्रयोग गरिरहेका छन् । महामारीको संकटग्रस्त यो वेला लुटाहाहरुको भूँडिले शिंहदरवारको औकात बताइदिएको छ । देश लकडाउनको बेला ठेक्कापट्टामा माल किनेर मालामाल हुने रहरको घृष्टता छरपरस्ट पोखिएका छन् । ‘लुट्नेहरु जुट र राज गर ।’ भने झै , रातारात अध्यादेशको बैतरणी तरेर कसैलाई फोर्ने कसैलाई जाड्ने बेमौसमी खेतिमा महायज्ञ सुरु भएको छ । दशकौंसम्म सत्ताका झिनाझप्टी र चलखेल फेरि मौलाउने खतरा बढेको छ । कस्तो उदेक लाग्दो, एक माननीयले अर्को माननीयलाई अपहरण गरे भन्दै देशका पूर्व प्रधानमन्त्री, उपप्रधानमन्त्री र पूर्व प्रहरी प्रमुखहरु। सत्तासिन साँसदहरुबीच तथानाम लज्जाको दुष्टान्तले नेपाली मिडिया छाएको छ । बल्ल हेर्न पाइयो, यस्तो वेला पनि नाकले विष्टी सुँघेर स्वादलिने कामरेडहरु कत्ति हो कत्ति रहेछन् । देशका नागरिकले दुःख पाएको, भोकै प्यासै सडकभरी हिंडिरहेको, कन्धो र पेटमा लालाबतिला बोक्नेहरुको आँशुले मेरो सरकारलाई कत्ति छोएन । लालझण्डेहरुलाई, श्रमिकका पाप लाग्नै नै छन् । आजको दिनमा लज्जाको रापले थोरैपनि अनुहोर रातो पारेन, भन्दैथिए, जहाँ छौ त्यही सरकार छ, खान नपाएर मर्नु पर्दैन । ओछ्यान नपाएर, कसैको निद्रा भंग हुँदैन । सकड पेटिमा कसैलाई भौतारिनु पर्दैन । चिल्ला कारमा कुद्नेहरुका चिप्लाकुरा, ज्यान धरापमा पारेर कालोपत्रे सडकमा बजारिंदै, चौधारा रोएका आँशुले भिजेको धुलोलाई थाहा होला तर वास्तविकता र यथार्तता हारेको यो बेलाको बेथा, राजश्वमा मोजमस्ती गरेर हाइफाई गर्ने बकम्फुसहरुलाई के मेसो । खै कहाँ के भयो पत्तै भएन ।

तर, साथी तिमी र तिमी जस्ता गरिव, मजदुर, श्रमिक, भोका र नाँगाहरुको आँशुले, तिम्रो भक्कानिएको रोदनले, यिनलाई आजैबाट न रातमा निद्रा छ, न दिनमा भोक छ । तिमीलाई घरका लालावालासँगै हुन नपाएको पीर छ, यहाँका शत्तासीनलाई खाइपाइ आएको फुत्किन्छ कि भिन्नै शोक छ । हिजो लुटेको देखिइने होकि भन्ने एकातिर छँदैछ, अर्कातिर देश कंगाल पारेर नीजी सम्पत्ति टालेको भ्वाङ, हावाङ्ग पर्नेहो कि भन्ने डरत्रास उत्तिकै छ । सेटिङमा मिटिङ, आफ्ना भन्नेहरु आफ्नैलाई चिटिङ, तिम्लाई त्यो भिडभाडमा कतै कोरोना संक्रमण हुन्छकि अझै अर्को पीर छ, यता त संक्रमित भएकाहरु को बाँच्ने को सन्चो हुने भित्र भित्र डरैडर छ ।

पाखुरो बजारेर जिन्दगी चलाम्ला, देश थुनेर कतिदिन चल्ला र, आफु मरेर अरु बचाउने श्रमजीवीहरु तिम्रो दर्दसम्म पुग्ने हण्डर ठक्कर पाएपनि सहायता, सहकार्य र सचेतनाको आवश्यकता उत्ति छ । भोट हाल्यो, फाल्यौ, आज तिम्लाई कोही कही काम लाएनन् । नामका कम्युनिष्ट, काँग्रेस जो सुकै भएपनि पद प्रतिष्ठा, सत्ता भत्ताले अनमत्त हुने जात रहेछ राजनीति । ‘भोका बाख्रालाई खरीको बुटो रहेछ, संसद ।’ सर्वहारा जनताको मुक्तमका लागि गरिएका क्रान्ति, नयाँ जनवादी व्यवस्थाको बाटो हुँदै, आम शोषित पीडित खर गरिखाने श्रमिकको व्यवस्था, जनताको राज्य शत्ता, जनभावनाको कदर, जनताको डर भन्ने कही कतै रहेनछ हाम्रो गणतन्त्रमा । इमान, जमान भन्दापनि बैइमानहरुको भिडमा पुगेपछि, रुखा र भद्धा हाम्रा माननीयहरु, कौवाले आफ्नो नाम आफै काढे जस्तो, बुर्जुवा संस्कारका पूजनीय ठानिएका देखिन्छन् । चुनावका दिन जसरी तिमीले मतदान गरेपछि आंैलाको टुप्पो नेरको नङको फेंदमा कालो मसी लगाइएको थियो नी, आज उनीहरु सारा अनुहार भरी कालो मसी लगाएर लकडाउनमा थुनिएका छन् । मतपेटिकामा लाहापाछ लगाएर टालिएको जस्तो तिम्रो दर्द बोल्ने हिम्मत छैन, थुतुनो उसैगरी लाहाछापले टाँसिएको छ ।

साथी, तिमी हिजो जे थियौ, आज उस्तै छौं । श्रम गरेर खाने श्रमिकको गज्जव ईज्जत इमान छ । अफ्ठेरोमा संघर्ष गर्न त हिजैबाट सिकेका हौ । पत्थर ठोकेर मुर्तिबनाउने तिम्रा ज्यान कति अठिला, सुन्दरताको परिकल्पनाले हिर्काएको हथौडाले उछिट्टयाएको धुलो पुछेर होर्दा जसरी तिम्रो अनुहार मुस्कुराउथ्यो, ठीक, कोरोना कहरको बाछिटाले ननिभ्याएको तिम्रो जीन्दगी अझै अजर अमर रहिरहनेछ । कथा कहानीले जो जीवनको बाटो कारेका छन्, आउँदा सन्ततिका लागि समेत इतिहासको पानामा उदाउनेछन् । शास्ति जति खेप्दै छौ । धर्ति पुकारेर गुहार पाउनेबेला, सरापेर जिन्दगी बेकार जस्तो परिवेश वर्तमान राज्य व्यवस्थापकहरुको नजानिदो कचकरोपन हो । अनोकन अफ्ठेरापछि सजिलोपनि आउन भ्याउँछ, तर कचकराहरु हटाएर छिप्पल चुन्ने त्यो दिन, तिमी ओर्लेर मैदानमा आउनु । पत्तो पाएकै छौं, जस्को आँखाको नानी बनेर यो संसरमा आइपुग्यौ, उसले तिम्लाई जान्दैन, चिन्दैन, प्रश्न कस्ले कस्लाई गर्नु, यो संसर आफ्नै नानी नचिन्ने आँखो भइदिएको छ ।
लेखक सुवेदी रेडियो परिवर्तन बुर्तिबाङका स्टेशन म्यानेजर हुन् । उनी समसामयिक बिषयमा सशक्त कलम चलाउछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *