१४ संक्रमित छोडेका बागलुङका चालक सहित दर्जनको स्वाब संकलन

तस्बिरः बागलुङ गलकोटबाट पर्सा जाने क्रममा मजदुरहरु ।

कन्ट्याक्ट ट्रेसिङ तिव्र

दिल शिरीष,बागलुङ

जिल्लाबाट घर फिर्ता भएका मजदुरमा कोरोना संक्रमण पुष्टि भए पछि बागलुङमा फेरी कोरोना संक्रमणको जोखिम बढेको छ ।

मंगलबार पर्साको छिपहरमाई गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ६२ जना मध्ये १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु सबै जिल्लाको गलकोट नगरपालिकाबाट गएको पुष्टि भए सँगै कन्ट्याक्ट ट्रेसिङ तिव्र पारिएको छ ।

यस क्रममा संक्रमित मजदुरको समूहलाई छोड्न गएका बसका चालक, सहचालक सहित चार जनालाई रामरेखा स्थित क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको स्वाब समेत संकलन गरिएको र बुधवार नै पिसिआर परीक्षणका लागि पोखरा पठाइने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । ‘पर्सामै स्वास्थ्य कार्यालयका प्रमुख सँग कुराकानी गरेर कन्ट्याक्ट ट्रेसिङको काम गरिरहेका छौ,’ यस बाहेक भारत, बुटवल लगायतका स्थानबाट आएका एक दर्जन बढिको स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने तयारीमा छौ ।’ पर्सा मजदुर छोड्न गएका चालक १, रुपन्देही बुटवलबाट आएका ३, तराईबाट आएर बसिरहेका मुस्लिम समुदायका २, अर्घाखाचीबाट आएका १, नेपाली सेना १ र काठेखोला गाउँपालिकाको बिहुँमा बाहिरबाट आएका थप ३ (हिजो २ जनाको गरिसकिएको) को गरि १३ जनाको स्वाब पोखरा पठाइदैछ । गलकोट क्षेत्रमा अरु सम्पर्क भएका व्यक्तिहरुका बारेमा समेत खोजी शुरु गरिएको जनस्वास्थ्य अधिकृत गुरौले जानकारी दिए ।

गलकोटमा मजदुरी गर्दै आएका उनीहरुलाई गत बैशाख ११ गते गलकोट नगरपालिकाले दुई वटा बसको व्यवस्थापन गरेर घर पठाएको थियो । गलकोट नगरपालिकाको हरिचौर, मल्म, हटिया, नरेठाटी लगायतका क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्र, घर निर्माण, फर्निचर, खानेपानी लगायतका योजनामा काम गर्दै आएका उनीहरुले पटक–पटक आग्रह गरे पछि सवारी पास बनाएर बस व्यवस्थापन गरी पठाएको गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले बताए । ‘हामीले राहत पनि दियौ, खानाको समस्या भए हामी व्यवस्थापन गर्छौ, यो बेला नजानुस् भनेर अनुरोध गरेका थियौ,’ उनले भने, ‘उनीहरुले जाने अडान नछोडे पछि गाडी र पासको व्यवस्था गरेर पठाएका हौ ।’

गलकोटबाट बसमा गएका उनीहरूलाई पोखरा पुगेपछि कास्की प्रशासनले रोकेको थियो । बीच बाटोमा अलपत्र परेपछि उनीहरूले पर्साको आफ्नो छिपहरमाई गाउँपालिकाका मनोजकुमारी गुम्तालाई सम्पर्क गरेर उद्धारका लागि आग्रह गरेका थिए । ‘बाटोमा दुई दिनदेखि अलपत्र परेको फोन मार्फत जानकारी गराउनु भयो,’ गाउँपालिकाका अध्यक्ष गुप्ताले भने, ‘जिल्ला प्रशासनसँग समन्वय गर्दा सबै तपाईको गाउँपालिकाको हुनुहुन्छ, क्वारेन्टाइनको व्यवस्था गर्ने भए पठाउँछौं भन्ने कुरा भयो, हामीले सवै व्यवस्था गर्छौ भने पछि ल्याइएको हो ।’

चैत्र तेस्रो साता नेपालको पाँचौ र छैठौं संक्रमितको रुपमा बेल्जियमबाट नेपाल फर्किएका दुई जनामा कोरोना संक्रमण देखिए पछि भयावह सिर्जना भएको थियो । तर, बैशाख दोस्रो साता बानपा ३ कि ६५ बर्षिया मनकुमारी पौडेल र बानपा ४ कि १९ बर्षिया अंशु सापकोटा दुवै निको भएर घर फर्किए पछि ठुलो जोखिम टरेको अनुमान गरिएको थियो । जस अनुसार, पछिल्ला दुई दिन बजारमा गाडी र मानिसहरुको चहल पहल बढेको थियो भने अत्यावश्यकीय बाहेकका पसलहरु पनि खोल्न थालिएको थियो । तर, पर्सामा जिल्लाबाट गएका मजदुरमा संक्रमण भेटिएको खबर पछि पुनः लकडाउनमा कडाई गर्न थालिएको प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए । ‘यहाँबाट गएको मजदुरमा संक्रमण कसरी भयो भन्ने पुष्टि हुन बाँकी छ,’ प्रजिअ शैजुले भने, ‘हामी अब अलर्ट अवस्थामा बस्नुपर्ने भएको छ, त्यसका लागि लकडाउनलाई थप प्रभावकारी बनाएर आवश्यक सचेतता अपनाउन पहल, समन्वय गर्छौ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *