‘कोरोना संकटको परिस्थिती सहज बन्दै गए ९० प्रतिशत काम सक्न सकिन्छ’

डम्मर बुढा मगर, बागलुङ
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण बागलुङ जिल्लाभर विकासे योजनाहरु प्रभावित भएका छन् ।

चालु आर्थिक वर्ष २०६६/०७७ मा जिल्लाका अधिकांश स्थानीय तहहरुले सबै योजना सक्ने संभावना कम देखिएको छ । योजनाहरुको मुख्य काम हुने समय चैतदेखि असारसम्म मानिन्छ । चैत महिनाको दोस्रो साताको सुरुवातदेखि नै देश लकडाउन भएपछि काम ठप्प भएका छन् ।

सरकारले लकडाउन केही खुकुलो बनाउने निर्णय गरेपछि स्थानीय पालिकाहरुले कामलाई पुनः निरन्तरता दिन थालेका छन् । चैतको पहिलो हप्तासम्म निरन्तर काम भएपनि त्यस यता हुन सकेको थिएन । बैशाखको आधाआधीबाट पुनः थालनी गरेको काम आर्थिक वर्षको अन्तिमसम्म कति काम सक्ने भन्ने धुनमा स्थानीय तहहरु देखिन्छन् ।

जिल्लाको तमानखोला गाउँपालिकाले हालसम्म करिब ५० प्रतिशत योजना मात्रै सम्पन्न गरेको अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो ।

पालिकामा लकडाउन सुरु हुनुभन्दा पहिलेसम्म तीव्र रुपमा काम भएपनि त्यस यता त्यत्ती प्रभावकारी ढंगले काम हुन नसकेको अध्यक्ष बुढा मगरले बताउनुभयो ।

‘लकडाउन हुनु पहिले योजनाका कामहरु स्पीडमा भइरहेको थियो, आर्थिक वर्षको अन्तिमसम्म सबै योजना सक्छौँ भन्थानेका थियौँ,’ अध्यक्ष बुढा मगरले भन्नुभयो ‘लकडाउनले सबै कामहरु प्रभावित बनायो तर पनि हामी निरन्तर योजनाको काममा लागेका छौँ ।’

उहाँले लकडाउनकै समयमा पनि विभिन्न आयोजनाहरुको कामलाई निरन्तरता दिएको भन्दै मौसमले पनि यो समय कामलाई प्रभावित बनाई रहेको बताउनुभयो ।

मौसमले साथ दियो आर्थिक वर्षको अन्तिमसम्म ९० प्रतिशत काम सक्ने अध्यक्ष बुढा मगरको भनाई छ । उहाँले कोरोना भाइरसको संकट सहज हुँदै गएमा काम अझै तीव्र गतिमा गर्न सकिने बताउनुभयो ।

‘कोरोना भाइरसले गर्दा काम गर्ने मजदुर पनि त्रसित भएका छन्, कम मजुदरहरु मात्रै काममा आएका छन्, त्यसको बावजुत पनि हामी कामलाई निरन्तरता दिएका छौँ,’ उहाँले भन्नुभयो ‘परिस्थिती सहज हुँदै गए यस वर्ष ९० प्रतिशत काम सक्छौँ कि भन्ने लागेको छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *