जागरण दैनिकका १२ वर्ष

नेपाली प्रचलित उखान छ–‘१२ वर्षमा खोला पनि फर्कन्छ ।’ उखानको आशय र अनुमान १२ बर्षको अवधि निकै लामो र यो अवधिमा बगेर जाने खोला पनि बग्दै बग्दै पुर्ववत स्थानमा फर्किने हुनुपर्छ । धौलागिरी जागरण दैनिक प्रकाशनको १२ औं वर्ष पुरा भएको छ । यो १२ बर्षमा कालीगण्डकीमा धेरै पानी बगे । बगेको खोला फर्कियो कि फर्किएन थाहा भएन । तर, जागरण दैनिकको यो १२ बर्षको अवधिमा नागरिकका खोसिएका अधिकार, खुशी र हाँसो धेरथोर फर्काउन र नागरिक प्रतिको सञ्चार दायित्व पुरा गर्न हामी इमान्दार प्रयास गरिरह्यौ र गरिरहने नै छौ ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड मार्फत २०६३ फागुन २० गते नमुना अंक प्रकाशित गरी २३ गते विधिवत रुपमा पहिलो अंक प्रकाशित गरी अर्धसाप्ताहिक रुपमा प्रकाशन गरिएको धौलागिरी जागरण २०६५ जेठ १ गतेदेखि दैनिक पत्रिकाको रुपमा प्रकाशन भइरहेको छ । यस यात्रामा अभुतपूर्व साथ, सहयोग र सहकार्यका लागि समस्त पाठक, बिज्ञापनदाता, सञ्चार सहकारीका शेयर सदस्य, शुभचिन्तक शुभेच्छुकको स्नेह र हौसलाका लागि आदर्श सञ्चार परिवार कृतज्ञ छौ । र अहिले सम्मको अनुभव र उत्साहको साथमा अझै निर्भिक भएर थप खोजमूलक र तथ्यपरक समाचार सामग्री सम्प्रेषणमा अविचलित समर्पित हुने प्रतिद्धता व्यक्त गर्दछौ ।

६० को दशक सेरोफेरोमा छुट्टै खालको समय र समाजका लागि जागरण जरुर थियो । र त जन्मिएको धौलागिरीमा जागरणको उभार ल्याउने महत्वंकाक्षी लक्ष्य सहित ‘धौलागिरी जागरण’ । तर, यस्तो जागरण ल्याउने काम कुनै व्यक्ति बिशेषका तर्फबाट भन्दा सञ्चार माध्यमको संस्थागत तवरबाट गर्दा त्यसको आयु, स्थिरता, भरोसा र बिश्वसनियता बढी होला भन्ने पवित्र सोचको उपज हो यो जागरण । समयको अनुक्रमसँगै धौलागिरी जागरणले आफ्नो समय सापेक्ष भुमिकाबाट कत्ति बिचलित नहुँदै अविछिन्न यात्रा गरिह्यो । र आज सञ्चार माध्यमको विकासका लागि सहकारी माध्यम उपयुक्त हुने ठहरका साथ आदर्श सञ्चार सहकारी संस्था लिमिटेड मार्फत धौलागिरी जागरण पत्रिका प्रकाशनको निरन्तरता र सफलताले यसको आवश्यकता र औचित्यता पनि व्यवहाारिक रुपबाटै पुष्टि भएको छ ।

आदर्श सञ्चार सहकारीले धौलागिरी जागरण दैनिक मात्रै होइन । सह–प्रकाशनका रुपमा अग्रसर साप्ताहिक, समन्वयी सञ्चार माध्यमका रुपमा धौलागिरी टेलिभिजन र डिजिटल सञ्चार माध्यमका रुपमा आदर्श सञ्चार अनलाईन समेत सञ्चालन गरेको छ । भौगोलिक रुपमा हाम्रो क्षेत्रमा सञ्चार माध्यम सञ्चालन गर्न निकै कठिन छ । यसका बाबजुद कोरोना भाइरस जस्ता कठिन संकटहरु पनि बीच बीचमा बेहोर्नु परेको छ । अहिले कोरोना संकटमा लकडाउनले जटिलता पैदा हुँदै गए पछि केहि समय पत्रिका प्रकाशन बन्द गरिए पनि गत बैशाख २६ देखि पुनः प्रकाशनलाई निरन्तरता दिएका छौ । पत्रिका प्रकाशन बन्द हुँदाको बिवशतामा पनि हामीले आदर्श सञ्चार डट कम मार्फत तपाई प्रिय पाठक प्रति सहि समयमा सहि सूचना प्रवाह गर्ने दायित्व पुरा गरिरह्यौ । जस्तै कठिन चुनौति र संकट आओस्, हामी नागरिकको सूचनाको अधिकारलाई हर समय पुरा गर्न इमान्दार प्रयास गरिरहने छौ ।

अन्त्यमा, धौलागिरी जागरण दैनिकको १२ औं बर्षगाठका अवसरमा पत्रिकाको मातृ संस्था आदर्श सञ्चार सहकारी संस्थाका शेयर सदस्य, सहकारी तथा सञ्चार शाखामा कार्यरत सबै पत्रकार, कर्मचारीहरु प्रति हामी धन्यवाद व्यक्त गर्दछौ । धौलागिरी क्षेत्रको सवल र सक्षम सञ्चार गृहका रुपमा स्थापित हुने आदर्शको रणनीतिक लक्ष्य, सञ्चार माध्यम मार्फत समाज रुपान्तरणमा योगदान गर्ने यसको मुल कर्ममा हामी निरन्तर प्रतिवद्ध छौ र भोलीका दिनमा पनि हुनेछौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *