गर्भवती महिलाले कोरोना सम्बन्धि बिषय धेरै नहेर्नुस्: डा.कोइराला

देशभर ५१ दिनदेखि लकडाउन छ । गर्भावस्था आफैमा सम्वेदनशिल अवस्था हो । यस बेला कोरोना संक्रमण जोखिमको तनाव एकातिर छ भने अर्को तर्फ गर्भवती महिलाको नियमित चेकजाँचदेखि धेरै कुरा प्रत्यक्ष प्रभावित हुँदा प्रसुतिमा समस्या हुने भय पनि छ । भौगोलिक विकटताको कारणले धेरै ठाउँमा हिँडेर स्वास्थ्य चौकी, अस्पताल पुग्न पनि अहिले उत्तिकै जोखिमपूर्ण छ । यस्तो अवस्थामा गर्भवति महिला, तीनका परिवार, स्वास्थ्यकर्मीले के-के कुरामा ध्यान दिनुपर्छ त ? आदर्श अनलाइनकर्मी सिर्जना पन्तले धौलागिरी अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा.सौगात कोइरालासँग स्वास्थ्य संवाद गर्नुभएको छ । प्रस्तुत छ कोइरालासँगको कुराकानीको सम्पादित अंशः

गर्भावस्था अलि संवेदनशिल अवस्था हो । यो बेलामा गर्भवति महिला अस्पताल नआइ नहुने अवस्था चाही हुन्छ कि हुँदैन ?
हुन त गर्भवती महिलाले गर्भावस्थामा नियमित स्वास्थ्य परीक्षण गराउनु पर्छ । तर अहिलेको लकडाउनको अवस्थामा नियमित चेकजाँचको लागि अस्पताल जान गाह्रो मात्र नभएर कोरोना संक्रमणको जोखिम पनि हुन्छ । यद्यपी, त्यस्ता केही अवस्थाहरु छन्, जसमा अस्पताल वा नजिकैको स्वास्थ्य संस्थामा शिघ्र परामर्श र उपचार गर्नु पर्दछ । पहिलो भनेको गर्भावस्थामा देखिन सक्ने खतरापूर्ण संकेतहरु देखिएमा । उदाहरणका लागि टाउको साह्रै दुखेमा, हातखुट्टा अररो भइ काम्ने वा मूर्छा परेमा, आँखा तिरमिराएर धमिलो देख्ने भएमा, अनुहार वा हात सुन्निएमा, कडा रुपमा तल्लो पेट दुखेमा वा योनीबाट अलिकति पनि रगत बगेमा । दोस्रो भनेको धनुष्टङ्कार विरुद्ध लगाइने टिटानसको सुई लगाउनको लागि स्वास्थ्य संस्था नगई हुँदैन । यसैगरी उच्च ज्वरो आउने, खोकी लाग्ने भएमा पनि अस्पताल वा नजिकैको स्वास्थ्य संस्थामा जान जरूरी हुन्छ ।

लकडाउन लम्बिदै जाने र नियमित गर्भ जाँच गर्न नपाउँदा गर्भवतिको स्वास्थ्यमा मात्र नभएर मानसिक रुपमा समेत समस्या आउने देखियो । तनाव व्यवस्थापन सँगै गर्भवतीको कसरी स्याहार गर्ने त ?
यस बेलमा गर्भवती महिलामा तनाव हुने प्रवल सम्भवाना छ । एकातिर कोभिड–१९ को संक्रमणको डरले मानसिक तनाब हुन सक्छ भने अर्काेतिर लकडाउन र सामजिक दुरिको कारणले उत्पन्न हुन सक्ने एक्लोपनले गर्दा पनि तनाब हुन सक्छ । यस्तो परिस्थितिमा केही उपायहरु अपनाएमा तनाब कम गर्न सकिन्छ । सबैभन्दा पहिले त मन शान्त हुने काम गर्ने जस्तैः ध्यान योग गर्ने, संगीत सुन्ने र निद्रा पुग्ने गरी सुत्ने । त्यो लगायत अनावश्यक रुपमा कोभिड–१९ सम्बन्धि समाचार हेर्ने वा सुन्ने नगर्ने, तर दिनको एक पटक कुनै भरपर्दो माध्यमबाट यसको बारेमा जानकारी लिने । यसका साथै परिवारजनको पनि यसमा ठुलो भूमिका हुन्छ । उहाँहरुले गर्भवती महिलाको लागि स्वस्थ आहारको व्यवस्था गर्नुका साथै महिलाले चाहेको बेलामा आफ्नो मनमा हुन सक्ने डरहरुको बारेमा कुरा गर्न सक्ने वातावरण बनाउनु पर्छ । धेरै नै समस्या भएमा फोन मार्फत चिकित्सकसँग परामर्श पनि लिन सकिन्छ ।

अन्य सामान्य व्यक्तिमा भन्दा गर्भवती महिलाहरुमा कोरोना संक्रमणको जोखिम कस्तो हुन्छ ? संक्रमणबाट गर्भवती महिलालाई कसरी जोगाउने ? या उनीहरु स्वयम् कसरी जोगिन सक्छन् ?
अहिले महामारीको रुपमा फैलिएको कोभिड–१९ नयाँ संक्रमण भएकाले यसको बारेमा अध्ययन भैरहेको छ र धेरै कुराहरुको पुष्टि हुन बाँकी छ । हालसम्म प्राप्त प्रमाण अनुसार, गर्भवती महिलाहरुलाई अरु सर्वसाधारण मानिस भन्दा बढी जोखिम भएको देखिएको छैन । यद्यपी,गर्भवती महिलाहरुको शरीरमा आउने परिवर्तनको कारण उहाँहरुमा कुनै–कुनै रोगहरुको संक्रमण हुन सक्ने सम्भावना बढी हुन्छ । त्यसैगरी पछिल्ला अध्ययनहरुले गर्भावस्थामा भाइरसले गराउने श्वास प्रश्वासको समस्या बढी भएको देखिन्छ । त्यसैले गर्भवती महिलाले सतर्क हुन जरूरी छ । आफ्नो बच्चाको लागि उहाँहरुले केही कुराहरुमा ध्यान पु¥याउन जरूरी छ । जस्तै बारम्बार साबुन पानीले हातहरू धुने र हातले आँखा, नाक र मुख छुन सके सम्म कम गर्ने । त्यसैगरी भीडभाडमा नजाने र रुघाखोकी लागेका मान्छेहरुबाट टाढा रहने । साथै ज्वरो, खोकी वा सास फेर्न गाह्रो भएमा भने सक्दो चाँडै चिकित्सक सँग परामर्श लिनुपर्छ ।

अस्पतालमा नियमित गर्भवती महिलाको स्वास्थ्य परिक्षण सँगै प्रसूती पनि गराई रहनुभएको छ । कोरोना संक्रमण प्रति गर्भवती, सुत्केरी महिला र उनीहरुको परिवार कत्तिको सचेत भएको पाउनुहुन्छ ?
धेरैजसो सबैलाई कोरोना भाइरस (कोभिड–१९)को बारेमा थाहा भएको पाएको छु । उहाँहरुलाई यो कसरी सर्छ र कसरी बच्न सकिन्छ भन्ने बारेमा पनि थाहा हुन्छ । यद्यपी सवाधानीको उपाय भने गर्भवती र सुत्केरी महिलाहरुले मात्र अपनाइएको पाइन्छ । उहाँका कुरुवाहरुलाई बेला बेलामा कोभिड–१९ सँग बच्न सावधानी अपनाउन सम्झाई रहनुपर्छ ।

एउटै अस्पतालमा कोरोना संक्रमित सँगै अन्य व्यक्ति र गर्भवती महिलाको पनि उपचार गर्नुपर्ने हाम्रो बाध्यात्मक अवस्था छ । नेपालमा दिन प्रतिदिन संक्रमतिको संख्या बढ्दो छ । यस्तो अवस्थामा गर्भवती, सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य उपचारमा कसरी गर्ने, तपाईको सुझाव र सल्लाह के छ ?
उपचार गर्ने क्रममा अस्पताल व्यवस्थापन, चिकित्सक, गर्भवती महिला र उहाँको परिवार सबैले सावधानी अपनाउनु पर्छ । अस्पताल व्यवस्थापनले कोभिड–१९ को शंकास्पद र पुष्टि भएको बिरामीलाई जाँच गर्ने र भर्ना गर्ने छुट्टै ठाउँ बनाउनु पर्छ । चिकित्सकले नियमित हात धुने, व्यक्तिगत स्वच्छतामा ध्यान दिने र व्यक्तिगत सुरक्षात्मक उपकरणको प्रयोग गर्ने जस्ता काम गर्नुपर्छ । साथै गर्भवती महिला र उहाँको परिवारले पनि घरमा हुँदा र अस्पताल रहँदा कोभिड–१९ सँग बच्न सबै उपाय अपनाउनु पर्छ ।

यो पनि पढ्नुहोस्

गर्भवती महिलाले कोरोना सम्बन्धि बिषय धेरै नहेर्नुस्: डा.कोइराला

  1. एक अति नै महत्वपूर्ण जान्कारी हो यो / गर्भा अवस्था भेनेको कसैले पनि ढिलो गर्छु वा पछि डाक्टर कहा जान्छु भनेर नहुने अवस्था हो / त्यसैले सबै मा चेतना जगाऊन यस्तो खालको जानकारी दिई रहनु अति आवश्यक छ / धन्यवाद डा. सौगात जानकारीको लागि /

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *