सरकार, संक्रमण कम कि परीक्षण ?

सम्पादकीय
नेपालमा पछिल्लो एक सातामा दैनिक दोहोरो अंकमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । आइतवार सम्म यो संख्या २ सय ९१ पुगिसकेको छ भने कोरोना संक्रमणकै कारण दुई जनाको मृत्यु समेत भएको छ । यो मृत्यु समेत निम्त्याउने अवस्थाले परिस्थिति भयावह तर्फ उन्मुख भएको संकेत समेत गरेको छ । अहिले सम्म ३६ जनाले कोरोना संक्रमणबाट प्रभावित भएर पनि बिभिन्न अस्पतालहरुमा उपचाररत रहेर रोग जितेर घर फर्किएका छन् । यसमा कोरोना जितेर घर फर्किएका ३ जना मात्रै पुनः संक्रमणका कारण फेरी अस्पतालमै उपचाररत छन् । अब कोरोनाकै कारण नेपालमै पनि अप्रिय मृत्यु बेहोर्नु पर्ने घटना देश भित्रै देखिनु दुखद मात्रै होइन, निकै सचेत र संवेदनशिल बिषय हो ।

नेपाल सरकारका अनुसार, हालसम्म २३ हजार ९ सय २३ जनाको पीसीआर टेस्ट भएको छ । ६३ हजार ८५ जनाको ¥यापिड डाइग्नोस्टिक टेस्ट गरिएको छ । यद्यपी, आरडिटी टेस्टका बिषयमा नेपालमा अहिले पनि ठुलो संशय छ । यस प्रतिको बिश्वसनियताका बारेमा सर्वत्र प्रश्न उठिरहेको छ । सर्वोच्च अदालतले पनि आरडिटी टेस्ट तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ । पिसिआर टेस्ट अर्थात अहिले कोरोना संक्रमणका कारण विश्व समुदाय ग्रस्त भएकाले हरेक देशमा स्वास्थ्य सुरक्षा सामग्रीको अभाव टड्कारो देखिएको छ । सुविधा सम्पन्न देशहरु पनि प्रयाप्त स्वास्थ्य सुरक्षा सामग्रीको अभावमा सबै नागरिकले सहज रुपमा कोरोना संक्रमणको परीक्षण, उपचार सेवाबाट बञ्चित हुनुपरेको खबर सार्वजनिक भइरहेको छ । यो बेलामा नेपालमा पनि अभाव हुनु स्वभाविक हो । तर, आफ्ना देशका नागरिकको जीवन मरणको सवालमा हुँदा देश सञ्चालन गर्ने सरकार राज्य यस्तो बिषयमा बेखवर बन्न मिल्दैन । हर पहल र प्रयासबाट अत्यावाश्यकीय सामग्री ल्याउन कुनै कसर बाँकी राख्नु हुँदैन ।

कोरोना भाइरस अनिश्चयको भुमरी बनेर विश्वमाझ घुमिरहेको छ । यो देशबाट चीन, अमेरिका, इटाली, स्पेन जस्ता देशहरुले ठुलो मानवीय क्षति भोगिसकेको छ । अहिले एक सुत्केरी सहित दुई जनाको कहाली लाग्दो मृत्यु बेहोरिसक्यो । यसले अब कति बिद्रुप रुप लिने हो एकिन छैन । संक्रमित संख्या पनि अरु देशको तुलनामा निकै कम छ । तर, यो बिषयमा हामी धेरै खुशी मान्नुपर्ने, उत्सव मनाउनु पर्ने अवस्था र बिन्दुमा छैनौ । अहिले संक्रमण कम कि परिक्षण कम भन्ने प्रश्न अहम् बनेको छ । अरु देशहरुको तुलनामा हामीकहाँ कोरोना संक्रमण भए नभएको परीक्षणको दायरा निकै साँघुरो छ । अर्थात ५० दिन भन्दा बढिको यो अवधिमा जम्मा २३ हजारको पिसिआर परीक्षण गरिएको छ । जब की यसको दोब्बर बढि संख्यामा छिमेकी भारतबाटै मानिसहरु नेपाल भित्रिएका छन् । यसरी भित्रिनेहरु अनिवार्य क्वारेन्टाइन भने पनि ढाटछल गरेर गाउँ, शहर, छरछिमेकमा घुमिरहेका छन् । यसले अझ बढि जोखिम निम्ताइरहेको छ । अतः जतिसक्दो छिटो देशभर बिशेषगरी शंकास्पद क्षेत्रमा परीक्षणको दायर बढाउ । अब समयक्रमसँगै लक्षण नदेखिए पनि हर व्यक्तिले परीक्षण गर्न चाहेको अवस्थामा पैसा तिरेरै भए पनि परीक्षण गर्ने व्यवस्था गरौ । र लम्बिदो लकडाउन र संकटबाट नागरिकलाई बाहिर ल्याएर आवश्यक सुरक्षा सचेतताका साथ नियमित दैनिकीमा फर्काउने बातावरण सिर्जना गरौ ।
आजको धौलागिरी जागरण दैनिकबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *