मध्यपहाडी लोकमार्गमा पश्चिमेली गाली

सम्पादकीय
बागलुङ जिल्लाका दुर्गम भनिएका ढोरपाटन, बडिगाड, निसीखोलाका गाउँका सडक कालोपत्रे भइसके । अहिले पुष्पलाल मध्यपहाडी लोकमार्गको उक्त खण्डमा ठुला सवारी साधन मात्र होइन, ट्याक्सी समेत सरर गुड्छ । गलकोटदेखि बडिगाड, ढोरपाटन, निसीखोला हुँदै रुकुम सिमाना सम्म कालोपत्रे सडकमा सवार गर्ने सुविधा छ । मध्यपहाडीले दुर्गम गाउँहरुलाई सुगम मात्र बनाएको छैन । गाउँहरुमा सम्भावना पनि भित्राएको छ । लोकमार्गले दुर्गम भन्दै बुटवल, पोखरा, चितवन लगायतका ठुला शहरमा बसाई सरेका कैयनलाई गाउँ फर्काएको छ । बसाई सर्ने तयारीमा रहेका धेरैलाई गाउँमै अडाएको छ । यो सँगै गाउँका उत्पादन बजारमा लैजान पनि थालिएको छ । तर, त्यो भन्दा बढी शहरका खाद्य लगायतका सामग्री गाउँघरमा बढी आयात पनि हुने गरेको छ ।

दुर्गम गाउँमा लोकमार्गले धेरै उभार ल्याईसक्यो । बागलुङ सदरमुकामदेखि काठेखोलाको अक्षेते–बिहुँ सम्मको २५ किमी सडकको अवस्था भने अझै उदेक लाग्दो छ । गाउँघरको यात्रामा कालोपत्रे सडकमा आरामदायी यात्रा गरेका जिल्लाको पश्चिमेली जनता सदरमुकामकै आसपासमा आइपुग्दा सकसको यात्राले आजित छन् । यस कारण सदरमुकाम सेरोफेरोकाले भन्दा पश्चिमेलीको आक्रोश बढी छ । उनीहरु दैनिक जनप्रतिनिधि, नेता, कर्मचारीदेखी ठेकेदार सम्मलाई सरापिरहेका हुन्छन् । यो कहिले सम्म ? के उनीहरु यो बाटो हिड्दैनन् होला र ? नागरिकको आक्रोश, गाली र सराप सुन्दैनन् होला ? अब अक्षेतेदेखि बिहुँ सम्मको लोकमार्गको निर्माण सम्झौता अवधि आगामी कात्तिक (दुई महिना)मा सकिदैछ भने सदरमुकामदेखि अक्षेते सम्मको आगामी माघ (पाँच महिना) मा म्याद सकिदैछ । निर्माण कम्पनीको अहिलेको गति, कार्यशैली र लगावले निर्धारित समयमै निर्माण हुने सम्भावना सायदै होला । बिहुँ खण्डमा मजदुर समेत देखिएका छैनन् भने तल्लो खण्डमा खहरे भिरमा काम भइरहे पनि खानेपानी र बिद्युत पोलको अबरोध यथावत छ । नगर खानेपानीका कारण मध्यपहाडी आयोजनाको कालोपत्रेमा बढी जटिलता हुने निश्चित देखिन्छ । यो जटिलता सानो तिनो औपचारिक प्रयास र पहल, कर्मकाण्डीवाला बैठकबाट हल हुने अवस्था देखिन्न । आयोजनाले खानेपानी पाइप हटाउन दिएको ३३ लाखको प्रगति माग गरेर दुई पटक खानेपानी संस्थालाई पत्राचार ग¥यो । तर त्यसको जवाफ दिएन । नगर खानेपानी संस्था अहिले पनि पर्ख र हेरको अवस्थामा देखिन्छ ।

लोकमार्गको दुर्दशामा दैनिक हजारौ यात्रुले पाएको सकस र सास्तीको हिसाबबारे के सरोकारवाला बेखवर छन् ? जनताले दैनिक फरक–फरक शैली र स्वरमा व्यक्त गर्ने गुनासो र आक्रोश प्रति किन गम्भिर देखिन्नन् ? नेतृत्वदायक भुमिका निर्वाह गर्ने लोकमार्ग आयोजना, समन्वय सहजीकरण गर्ने सांसद, स्थानीय सरकारका प्रमुख, प्रशासन, खानेपानी संस्था र नागरिक समाज यो अस्तव्यस्तालाई छिटो निकास दिनेमा उदासिन देखिएका हुन् ? यदी कसैलाई त्यस्तो लागेन र होइन भने पनि सडकको उदेक लाग्दो दृश्य र अवस्थाले त्यँही देखाउँछ । जिल्लाको पश्चिमेली जनता मात्र होइनन्, लोकमार्ग भएर आवत जावत गर्ने आन्तरिक बाह्य पर्यटकले पनि यसरी नै बुझ्छन् । यसमा ठुलादेखी तपाई हामी जिल्लाबासी सबै अब जो कसैको प्रष्टिकरण र पन्छिएर मात्र यो अपजसको लज्जा छोपिने छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *