मृत्यु पछिको रिपोर्टले अब नगिज्याओस्

सम्पादकीय
कोरोना भाइरसका कारण विश्व समुदाय त्राहिमाम छ । दैनिक सयौ जनाले कोरोनाकै कारण ज्यान गुमाइरहेका छन् । विश्वभर ३ लाख ११ हजारको मृत्यु भएको । ४६ लाख ३६ हजार कोरोना भाइरसबाट संक्रमित भएका छन् । १६ लाख ९३ हजार भन्दा बढि कोरोना जितेर घर समेत फर्किएका छन् । नेपालमा पनि २ सय ९२ जना संक्रमित पुगेका छन् । जसमा २ जनाको दुखद मृत्यु हुन पुगेको छ भने ३६ जना निको भएर घर फर्किएका छन् । नेपालमा शुरुवातका महिना दुई अकंमै सिमित रहेको कोरोना संक्रमण पछिल्लो केहि साता यता दोहोरो अकंमा बृद्धि भइरहेको छ । जुन डरलाग्दो परिदृश्य र जोखिम सहित उपस्थित छ ।

सौभाग्यवश, कोेरोनामा नेपाल लामो समय सम्म ग्रिन जोनमा परिरह्यो । संसारका महारथी कहलिएका शक्ति राष्ट्रहरु कोरोना संक्रमणले आजित बनेर रेड जोनमा परिरहँदा नेपाल सुरक्षित देशको परिचयका साथ सगौरव उभिने अवसरमा थियो । छिमेकी देश चीनबाट शुरु भएको कोरोना सम्मुखमै नआएर अरु देश तर्फ फैलिरनु हाम्रा लागि सुखद संयोग त थियो नै यसबीचमा यथेष्ट पूर्व सजगताको तयारी गर्नुपर्ने प्रयाप्त समय र अवसर पनि थियो । तर, देशमा जारी गरिएको लकडाउनको ५४ दिन सम्म आइपुग्दा विस्तारै खराब सूचक र संकेत देखिन थालेका छन् । शनिवारदेखि कोरोना संक्रमणकै कारण मृत्युको श्रृखंला शुरु भएको छ । त्यो पनि नवजात शिशुलाई जन्मदिएकी २९ बर्षीय युवतिको कहाली लाग्दो मृत्युबाट । यो क्रम आइतवार पनि दोहोरिएको छ । त्यो पनि भर्खरका कलकलाउदो उमेरका २५ बर्षीया युवक कोरोनाकै कारण गुमायौ । नेपालको बिडम्बना भन्नुपर्छ कि कोरोनाबाट दुखद मृत्यु बेहोरेका दुवैको कोरोना संक्रमणको पिसिआर रिपोर्ट मृत्यु पछि मात्र सार्वजनिक भयो । दुवैमा कोरोना संक्रमण पोजेटिभ देखिएको रिपोर्ट मृत्युको घण्टौ पछि सार्वजनिक गरियो ।

कोभिड १९ बाट मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाकोे १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्य भएर डिस्चार्ज भएर घर फर्किए पनि ज्वरो र खोकी निरन्तर लागेपछि धुलिखेल अस्पताल ल्याउदा बाटैमा निधन भयो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको पनि मृत्यु पछि सार्वजनिक भएको रिपोर्टमा कोरोना पोजेटिभ देखियो । गत वैशाख ३० गते भारतबाट नेपाल आएका उनको स्वास प्रश्वासमा समस्या आएपछि आइतबार विहान मृत्यु भएको थियो । यी दुवै घटनाले हाम्रो कोरोना रोकथाम, नियन्त्रणको तयारीको अवस्थालाई प्रस्टाएको छ । कोरोना संक्रमणको पुर्ववत परिक्षण, पहिचान गरेर सोही अनुरुप समयमै उपचार शुरु गरिएको भए सम्भवतःपुर्नजीवनको सम्भावना जिवित रहन सक्थ्यो । मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको रिपोर्टले हाम्रो समग्र तयारी, प्रणाली र व्यवस्थालाई गिज्याएको छ । यसले हामीलाई लज्जाबोधको अवस्थामा मात्रै पु¥याएको छैन । यहि अवस्था र प्रवृत्ति बिद्यमान रहे भोलिका दिन निकै सकस र जोखिमको बेहोर्न तयार रहनुपर्ने संकेत पनि गरेको छ । अब यसबाट पाठ सिकेर समयमै आफ्ना नागरिकको जीवन रक्षाका लागि समयमै हर सम्भवका प्रयास र पहलहरु अघि बढाउन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *