सम्पादकीय
बागलुङ जिल्लाको गलकोटबाट बिरगञ्जको पर्सा गएका १४ मजदुरमा कोरोना संक्रमित भएको पुष्टिको खबर पछि बागलुङ फेरी एक झस्कियो । झस्किएन मात्रै पुरै जिल्ला तरंगित बन्यो । जिल्लाबाटै गएको ठुलो संख्यामा एक साथ कोरोना देखिए पछि त्यो स्वभाविक पनि थियो । गत बैशाख ११ मा जिल्लाबाट गलकोट नगरपालिकाको बिशेष पासमा गृह जिल्ला गएका उनीहरुलाई स्थानीय तहले क्वारेन्टिनमा राख्यो । सरकारको नीति र स्थानीय तहको नियम अनुसार क्वारेन्टिमा राख्नु अन्यथा बिषय भएन । उता संक्रमणको भयावह देखिएसँगै स्वास्थ्य कार्यालयको पहलमा कन्ट्याक्ट ट्रेसिङ गर्दा १ सय ९ जना सम्पर्कमा रहेको बिवरण संकलन गरियो । र हतास मानसिकतामा हतारमा स्वाब पिसिआर पोखरा पु¥याएर परीक्षण पनि गरियो । तर, रिपोर्ट सबैको नेगेटिभ आयो ।
पछिल्लो बागलुङको भयग्रस्त मानिसकता र पर्सासँगको संक्रमण कनेक्सनको जोखिमको बिषयले सबै सचेत त बन्नैपर्ने सन्देश दिएको छ नै । तर, एउटा बिषय चाहि सोचनीय बनाईदिएको छ । संक्रमण देखिएका मजदुरलाई छोड्न गएका चालक, सहचालक सहित गलकोटका सबै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आउनुले संक्रमण बागलुङमा अर्थात यहाँबाट संक्रमण त्यहाँ पुगेको होइन रहेछ भन्ने प्रष्ट भएको छ । अब बाँकी कुरा रह्यो पर्साको क्वारेन्टिनको । गलकोटबाट गएका सबै मजदुरलाई एकाएक क्वारेन्टिनमा कसरी कोरोना संक्रमण भयो ? के क्वारेन्टिननै त्यस्तो जोखिमयुक्त छ र थियो ? क्वारेन्टिनको नाममा त्यहाँ भारतबाट आएका अरुहरुलाई पनि के कसरी राखिएको थियो ? हामीले बनाएका क्वारेन्टिन एक व्यक्ति या एक समूह मात्र राख्ने खालको छ कि जहाँबाट आएका पनि जति संख्यामा पनि भीड बनाएर राख्ने खालको छ ? निश्चय पनि यो सोचनीय बिषय बनेको छ ।
अब अहिले भारतबाट आएकाह, सीमा क्षेत्रमा अलपत्र परेका सबै जिल्ला र स्थानीय तहका नागरिकहरुलाई घर फिर्ता गराउने क्रम शुरु भएको छ । जस अनुसार ठुलो संख्यामा अहिले कोरोना संक्रमणको निकै भयावह भएको जोखिमपूर्ण स्थान भारतबाट आउने समूह हर जिल्ला र स्थानीय तहका लागि खतरानक हुनेछन् । अब हाम्रा क्वारेन्टिन कस्ता छन् ? के कसरी राख्ने तयारी छ ? त्यहाँ बस्ने, खाने व्यवस्था र त्यस क्रममा बिभिन्न स्थानबाट आउने नागरिकहरुलाई कति सुरक्षित ढंगले राख्ने योजना छ ? किनकी अहिले सम्म नेपालले कोरोना भयावह बेहोरिरहेको तथ्यांकलाई हेर्ने हो भने पछि ९० प्रतिशत संक्रमित भारतबाटै आएका देखिन्छन् । यसर्थ पनि अहिले बाह्य जिल्लाबाट आउने सन्दर्भमा निकै सचेतता पूर्वक कदम चाल्नुपर्ने देखिन्छ । क्वारेन्टिनको मापदण्ड अनुसार व्यवस्थापन गर्न हाम्रा सिमित स्रोत साधनले असम्भव भए पनि सक्दो सुरक्षित रहने विकल्प र सचेतता भने अबलम्बन गर्न अपरिहार्य छ । यदी यो कदममा थोरै मात्र चुक्ने हो भने पनि त्यसले जुनसुकै पल अवस्था भयावह बन्न सक्ने जोखिम तिव्र छ । यदी त्यस्तो बिडम्बनापूर्ण अवस्था भयो भने ५५ दिन बढिको हामीले इमान्दारपूर्वक पालना गरिरहको लकडाउनको कुनै अर्थ हुने छैन । परिस्थिति हाम्रो अनुकुलता नियन्त्रण भन्दा बाहिर जान सक्ने जोखिम पनि धेरै टाढा छैन । समयमै सरोकारवालाको ध्यान जाओस् ।
–धौलागिरी जागरण दैनिक पत्रिकाको आजको सम्पादकीयबाट