मदिराले मातिएका कुमालले जलाए घरगोठ, परिवारको बिचल्ली

कमल पौडेल
बडिगाड गाउँपालिका वडा नम्बर २ सिमलचौर हुकुर्थुम डाँडामा शिव भनिने सुरज बहादुर कुमालको घरगोठ बुधबार राति भएको आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ ।

राति ९ बजेपछि भएको आगलागी प्रहरी र स्थानीयको सक्रियतामा राति ११ बजेपछि नियन्त्रणमा आएको थियो । घर र गोठ एकैठाउँमा तथा खरको छानो भएको र राति भएकाले गोठमा बाँधिएका पशु फुकाउनु बाहेक केहि जोगाउन सकिएको थिएन ।

घरगोठ जल्दा २ लाख ४५ हजार बराबरको क्षति भएको खर्बाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक गुरु प्रसाद न्यौपानेले बताउनुभयो । घर धनि सुरज मदिराले माती घरमा श्रीमति राधिका र छोरा छोरीलाई पिट्न थालेपछि भागेको र सोहि समयमा सुरजले नै आफ्नै घरमा आगो लगाएको स्थानीयले बताए ।

पीडित राधिकाले श्रीमान्ले आफुहरुलाई कुट्न थालेपछि छोराछोरी लिएर ज्यान बचाउँन छिमेकीको घरमा पुगेको बेला रिसले चुर भएका श्रीमान्ले आगो लगाएको बताइन् ।

घरमा आगो लगाएर घरभित्रै बसेका सुरजलाई तत्कालै जुटेका स्थानीयले घर भित्रैबाट निकालेका निकालेका थिए । आगो नियन्त्रणमा आएपछि प्रहरीले सुरजलाई नियन्त्रणमा लिई प्रहरीचौकी खर्बाङमा राखेको छ ।

घटनाको थप अनुसन्धान भैरहेको छ । यस वर्ष वडा कार्यालयको खरको छानो विस्थापित गरि टिनको छाना लगाउने गरि तयार गरिएका सबै काठ सहित सिँगो घर गोठ नै जलेपछि परिवार बिचल्लीमा परेको छ ।

दैनिक रुपमा ज्याला मजदुरीबाट गुजारा गर्दै आएको परिवारमा लत्ता कपडा सहित घरमा भएको सबै जलेपछि बिचल्लीमा परेको हो । परिवारमा श्रीमान्, श्रीमती सहित ३ छोरा र १ छोरी रहेका छन् ।

जेठो छोराले काठमाडौंमा होटलमा काम गर्ने गरे पनि अहिले बन्दाबन्दिले समस्या परिरहेको र घरमा रहेका छोरा छोरी साना भएकोले थप समस्या पर्ने देखिएको हो ।

अहिले छिमेकीको घरमा आश्रय लिएको परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्बाङले त्रिपाल सहित सहयोग गर्ने अध्यक्ष होमनाथ अर्यालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *