पछिल्लो १० बर्षमा बाटो फराकिलो भएको छ । सडक नाली सफा । सौर्य बत्तिको उज्यालो । नाङ्गा तार हटाएर सुरक्षित तार र अग्ला पोल । हिउँदमा समेत प्रयाप्त पानी । ठूला नाली निर्माणको काम अघि बढेको छ । पछिल्लो समय विकासमा तिव्रता आएको छ ।
–तुलसीराम पाण्डे
परिवर्तन र विकास समाजमा चल्ने निरन्तर प्रक्रिया हो । अगाडी आउने दिनहरुमा सुख पाउनका लागि मानिसले निरन्तर मेहनेत गर्दछ । अगाडि आउने दिनहरुको कल्पनाले गर्दा मानिस आँफूले पछिल्ला दिनहरुमा भोगेको दैनिकी र समस्याहरुलाई सजिलै र छिट्टै बिर्सीसकेको हुन्छ । विकास र परिवर्तनको प्रकृया क्रमशः अगाडि बढेको भए पनि मानिसमा सधैजसो असन्तुष्टी मात्र व्यक्त भएको पाइन्छ । एक दुई वर्षमा गुणात्मक रुपमा परिवर्तन कही पनि हुन सक्दैन । कसैले पनि ५÷१० वर्ष पहिलेको अवस्थालाई सम्झेको र तुलना गरेको पाइदैन । धेरैजसो मानिसले निरन्तर रुपमा आँफ्नो दैनिक काम गर्ने, एक अर्कामा कुरा गर्दा केही भएन । कसैले केही गर्दैन भनेर असन्तुष्टी व्यक्त गर्दछन् ।
यो पंक्तिकारले देखेको र भोगेको आधारमा बागलुङ बजारमा १० वर्षमा भएका परिवर्तनलाई देखाउने प्रयास गरिएको छ । ब्यापार गर्नका लागि यो पंक्तिकार २०६५ सालमा बागलुङ आएको थिए । २०७६ साल चल्दै गर्दा सम्म धेरै परिवर्तनहरु भएका छन् । २०६५/६६ मा पसलको अगाडि एउटा पनि मोटर साइकल थिएन । फाट्टफुट्ट रुपमा दिनमा २०/३० वटा मोटर साइकल हिँड्थे । मोटरसाईकल हुनेहरुले समेत घरमा वा पार्कमा राख्थे । गाउँमा जानको लागि सबै ठाउँमा कच्ची बाटो थियो । त्यसमा जीप मात्र चल्थे, त्यो पनि हिउँदमा मात्र सामान ओसार्नु पर्ने । व्यापारीहरुले रिक्सामा र साइकलमा सामानहरु पु¥याउने र ओसार्ने गर्दथे । जुनसुकै सवारी पनि २०/३० मिनेटको फरकमा मात्र ओहोर–दोहोर गर्दथे । त्यसै कारण गर्दा पैदल यात्रुहरु सधै बाटोको बीचबाट हिँड्दथे । गलकोटमा समेत जीप मात्र जान्थे । ७० साल पछि मात्र बस जान थाल्यो । अहिले सवारी साधनको चाप बढी भएको कारण ट्राफिकले एकातर्फी पार्किङको व्यवस्था गरेको छ । मानिसहरु छेउ लागेर हिँड्ने बानी बढेको छ । जिल्लाको गलकोटमा मात्र होइन, ढोरपाटन र निसी जस्ता ठाउँमा पनि बाह्रैै महिना बसहरु चल्न थालेका छन् । सहकारीमा बिहुँबाट २ वटा खच्चरमा दूध ल्याइन्थ्यो । अरु थोक पसलबाट समेत गाउँमा माल पठाउँदा खच्चडमा बोकाएर पठाउँथे । सधैजसो खच्चडहरु बजारमा हिँड्थे । गाउँबाट सुन्तला, दूध, तरकारी र अन्य सामानहरु मानिसले डोकोमा बोके ल्याउँथे । महिलाहरुले साइकल, मोटर साइकल वा स्कुटर चलाएमा सबैले अचम्म मान्दै हेर्थे र जिस्काउँथे । सबैजसो होटलहरु बाँसको छाप्रोमा चलेका थिए । थोरै मात्र पक्की घरको सटरमा थिए । एउटा पनि कटेज थिएन । हङकङ बजार सबै बाँसको छाप्रोमा थियो । ७२ वर्षपछि मात्र सबै ठाउँमा सटर हालियो । जहिले विहानमा माल ल्याएर व्यापार गर्ने र साँझमा पोको पारेर लैजाने गर्दथे । होटलहरुले समेत भुईमा सिमेन्टले चिल्लो पार्ने, फलमको टेकाले अग्लो पार्ने र डेकोरेशन गर्ने काम भयो । होटलको हकमा प्रत्येक वर्ष ४/५ वटा बन्द हुँने र १०/१२ वटा थपिने हुन्थ्यो । २०७४/७५ मा ४५ वटा बन्द भए र १०/१२ वटा थपिए । ७६ मा ३/४ वटा बन्द भए ८/१० वटा थपिए ।
अस्पताल, जिल्ला विकास समिति, अदालत रोड, प्रशासन पुरानो ढुङ्गाले छाएको भवनमा थिए । अहिले नयाँ पक्की भवन बनिसकेको छ । आल्मुनियमको झ्याल ढोकाको चलन थिएन । सबै काठका झ्याल ढोका हुन्थे । झ्यालमा ग्रील लगाउँथे । आजकाल डिजिटल बोर्डको चलनले गर्दा लेख्ने चलन हराईसकेको छ । हातले लेखेका वोर्डहरु कम्तीमा ६/७ वर्ष वा त्यो भन्दा बढी टिक्थे । डिजिटल बोर्डहरु बढीमा ३ वर्ष मात्र टिक्छन् । होटलहरुमा आधुनिक रक्सी कम र स्थानीय रक्सी बढी मात्रमा विक्री हुन्थ्यो । प्रत्येक होटलवालाले एउटा कुनामा साँझमा रक्सी पार्थे । त्यसले समेत नपुगेर अझ बढी गाउँबाट ल्याएको रक्सी राख्थे । प्रशासनले जफत गर्र्दैे र नष्ट गर्न थालेपछि ३/४ वर्षमा स्थानीय रक्सी कम भयो । त्यसको सट्टामा ठूला कम्पनीमा बन्ने शिसाको रक्सी बिक्री बढ्यो । आजकाल लुकीछिपी थोरै ठाउँमा मात्र स्थानीय रक्सी पाइन्छ । चैते दशैंको मेलामा बजारका सबै बाटाहरु भरिने गरी मान्छेहरु हुन्थे । कालिका भगवतिको दर्शन गर्न आउँथे । व्यापार ल्याउनेहरुले आफ्ना सामानहरु बाटाभरी र चौरभरी राखेर बिक्री गर्थे । सवैको सामान सकिन्थ्यो । उपल्लाचौरमा ब्यापार मेला लागे पछि चैते दशैको व्यापार कम हुँदै गयो । चिप्लेटी बसपार्क कच्ची थियो । हिउँदमा समेत सिस्नो घारीले ढाकेको हुन्थ्यो । त्यहाँका मानिसहरु र यात्रुहरुले त्यही सिस्नोले छेकिएर दिशा पिसाव गर्थे । झोलुङ्गे पुल बनेपछि र वसपार्क पक्की भएपछि मात्र त्यहाँ सफा हुँदै गयो । त्यस बाहेक गुठी उपल्लाचौर, अस्पताल रोड, गोल्डन गेट पछिको बाटो चम्किदै गयो । क्याम्पसको गेट र व्यापारिक शहर पछि निर्माण भयो । ग्याँसको सधै अभाव हुन्थ्यो । सिलिन्डर र पैसा बुझाए पछि मात्रै एक हप्तामा ग्याँस पाइन्थ्यो । दाउँरा बेच्नेहरुले बजारमा गोदाम राख्दथे । १२ घण्टा देखि १६ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । नगरपालिकाको अफिस आवारोड भाडाको घरमा थियो । बाघचोकलाई मानिसहरुले महेन्द्र चोक वा महेन्द्रपथ भन्दथे । मोवाईलको सिम लिन रातभरी लाईनमा बस्नु पर्दथ्यो । फाराम बुझाएको २/३ महिना पछि मात्र सिम पाइन्थ्यो । ७३ साल पछि मात्र फारम बुझाउने वित्तिकै सिम पाउन थालियो । पहिल्यै फाटफुट रुपमा थकाली पोशाक लगाएका मानिसहरु देखिन्थ्यो । सहकारी र बोर्डिङका महिला कर्मचारीहरुको पोशाक साडी व्लाउज थियो । त्यसपछि कुर्ता सुरुवाल पोशाक बन्यो । ७३ सालपछि धेरैजसो संस्थाले महिलाहरुको पोशाक कोट पाइन्ट बनाए । ७२/७३ सालपछि कुर्ता सुरुवाल लगाउने महिलाले टिसर्ट पाईन्ट लगाउने चलन बढेको छ । साडीचोलो वा साडी व्लाउज लगाउने, बुढी महिलाले समेत कुर्ता सुरुवाल लगाउन थालेका छन् । श्रृङ्गारको कुरामा कपाल काट्ने, व्युटी पार्लर जाने र परिवार सहित होटलमा गएर खान खाने चलन समेत बढेको छ । राजनीतिमा सबैको आ–आफ्नो पकेट क्षेत्र हुन्थ्यो । अर्को दललाई गाली गर्ने सभामा नजाने अर्कोले ल्याएको योजना विगार्ने गर्दथे । चुनावमा धेरै ठाउँमा कुटपिट हुन्थ्यो । बागलुङका सबै निर्वाचन क्षेत्रलाई मसालको क्षेत्र भएको हुँनाले आयोगले खतराको सूचीमा राखेको थियो । त्यसबेला पैसा लिनेहरुले पैसा बाँड्नेहलाई भोट दिन्थे । अहिले पैसा सकेसम्म सबैतिरबाट खाने भोट कस्लाई जान्छ थाहा हुँदैन ।
अन्य कुराहरुमा बोर्डिङ र सहकारीहरु मर्ज भएका छन् । बाटो फराकिलो भएको छ । सडक नाली सफा भएका छन् । सौर्य बत्ति बलेका छन् । नाङ्गा तारहरु फालेर सुरक्षित तार र अग्ला पोलहरु राखिएको छ । सडकको दुबै तर्फ खानेपानीको पाइप रहेको छ । हिउँदमा समेत प्रयाप्त पानी आउँछ । लोडसेडिङ हटेको छ । ठूला नाली निर्माणको काम अगाडि बढेको छ । स्थानीय निकायको निर्वाचन भएपछि विकासमा तिव्रता आएको छ ।