–शिवशरण ज्ञवाली
जाऊ ! लौरो लिएर बाटोमा बस । ‘यिनीहरू पढ्न जान आउनेछ तिमीले लौरो तेर्स्याएर फर्काउनु ।’ कसैले पल्लोघरे दाईलाई आदेश दिंदा यदि फर्किएनन् भन जोगी बन्छन् रे भन्ने कथाले मनमा चिसो पसेको थियो । आठ वर्षको उमेरमा जनै लगाउने कर्मकाण्डमा दाईहरु पहेलो बस्त्र धारण गरेर पढ्न पठाइएका थिए । तेर्सिएको लौरो पार नगरी फर्केकाले उनीहरू जोगी नबन्ने भए भनेर मेरो मन ढुक्क भयो । व्रतबन्ध अहिलेको जस्तो पैसावादी चलनमा फसेको थिएन । भिक्षा मागेर आको पैसा, चामल, फलफूल आदि सबै पण्डितकोमा जान्थ्यो । दायाँ हातले दान गरेको बायाँ हातले थाहा पाउनु हुँदैन भन्ने चलन थियो । उपभोक्तावादी र पुँजीवादी चलनसँगै व्रतबन्ध कर्ता स्वयंका लागि कमाइ हुने दिन बन्न पुग्यो । जन्मदिन र विवाहले पनि त पैसा कमाइरहेका छन् । अनि हाम्रो आफ्नो चलन कसरी बाँचोस् ? आज हाम्रो लागी सबथोक पैसा भको छ । हो, त्यही पहेँला कपडा लगाएका दिन आठ वर्षमा बाले कानमा ऊँ शब्द पारिदिनुभएको थियो । दाईजस्तै म पनि पढ्न भनेर हिडेको कसैले देखाएको लौरीले गृहस्थ जीवनमा फर्किएको थिएँ ।
त्यतिबेलासम्म न हामीले संस्कृत भाषाको बोझ बोकेका थियौं न त अहिलेको जस्तो अङ्ग्रेजीको बोझ थियो । चारकक्षाबाट अङ्ग्रेजी सुरू हुन्थ्यो । यादव थरका कडा स्वभावका सरले अङ्ग्रेजी पढाउनुहुन्थ्यो । छ सात कक्षामा बाले संस्कृत पढाउनुहुन्थ्यो । आठ वर्षमा बाले कानमा फुकिदिनु भको संस्कृतमा न दाईको रूचि रह्यो न मेरो नै । पछि दाईले रहरले अङ्ग्रेजी पढ्नु भयो मैले करले पढे । दाईलाई अङ्ग्रेजी दुनियाँमा रम्न मन पर्यो मलाई नेपाली ! हामी दुईका बाटा अलगअलग भए ।
जमानामा म दाइसँग दश बर्ष कीर्तिपूर बसें । पाँगा दोबाटोबाट भित्र जनसेवा स्कुलनेरको चोकमा बस्थ्यौं । हामी बस्ने घरका एकजना बुढामान्छे बाहेक अरू कोही नेपाली बोल्न जान्दैनथे । पल्लो घरमा फोन आउँथ्यो । उनीहरूले नाम बोलाउँथे तर फोन कल्ले गरेको हो के भनेको बुझ्दैनथे । उनीहरूले बोलेको हामीले बुझ्दैनथ्यौ हामी बोलेको उनीहरूले बुझ्दैनथे । युवायुवतीहरुले विश्वविद्यालय आडैमा भएर नि किन होला नपढेको भन्थ्यौँ हामी एक आपसमा । काठमाडौं भनेर के गर्ने यिनीहरु निकै पिछडिएका छन् भनेर भन्थे साथीहरू । युवायुवतीहरू ससाना काममा जान्थे दिनभर । उनीहरू नेपाल (नेवारी) भाषा बोल्दथे । हामीसँग कुरा बिरलै हुन्थ्यो । उनीहरूको कुरा हामी बुझ्दैनथ्यौ हाम्रो कुरा उनीहरू बुझ्दैनथे । नजिकै जनसेवा स्कुल थियो । नजिकै विश्वविद्यालय थियो । तर उनीहरू खासै पढ्दैनथे । कतै स्कुलमा उनीहरूले नबुझ्ने भाषामा पढाइ भएर त होइन ? भन्ने प्रश्न मनमा खेल्न बिस बर्षभन्दा बढी लाग्यो ।
तिन दिनदेखि दिनरात पानी परिरहेको थियो । रोकिइहाल्छ कि भन्ने झिनो आशा मनमा थियो । ऊ त निडर मस्तराम सुती म भने रातभर मसक्क सुत्न सकिन । बिहानै चारबजे उठेर तयारी गरी साढे छ बजे हामी बजारबाट जिपमा हिँड्यौँ । चालक भाइ उस्तै निडर रहेछन् । हाम्रो यात्रा बोक्सेको खाल्डोमा पुगेर रोकियो । हामी डरपोक प्रोसफरहरू गाडी रोकिने बित्तिकै ओर्लियौं तर ऊ भने यसपालि पनि ओर्लिन् । रातभरको पानीले पैरो खसेको रहेछ । किशोर चालकले पैरोमाथि गाडी चलाए । ऊ निर्धक्क बसी । पैरोमाथि गाडी इन्जिनले भन्दा पनि चालकको साहसले गुड्यो । हामी पारिपट्टिबाट गाडी चढ्यौं । घिचीघिची गाडी नरेठाँटीको खोलामा पुगेर रोकियो । खोलो बढेर उर्लेको थियो । गाडीका लस्कर लागेका थिए । चालकले बाटामै भनेका थिए, जुन गाडी जति छिटो गएपनि आखिर रोकिने त त्यही खोलामा हो । गाडी तार्ने त मै हुँ । हामीलाई ओरालेर मात्रै गाडी तार्नु भनेर पहिल्यै भनेकाले खोलाको किनारमा लगेर चालकले गाडी रोके । यसपालि त उसलाई पनि मैले ओराले । नभन्दै ती चालकले जोखिमपूर्ण तरिकाले गाडी खोलाबाट तारे । विचरा चप्पल भने खोलाले बगाएछ । हटियाबाट अगाडि जाँदा फेरि अर्को पहिरो थियो । त्यसैले जिपको यात्रा त्यही पुगेर टुङ्गियो ।
अगाडि अनेक गाडीहरू बीचबीचमा बसेर कमाउ धन्दा गर्दा रहेछन् । काँडेबासनेर पुग्दा एउटा बस तयार थियो, लल आउनुस जान्छ भन्दै गाडीमा मान्छे चढाइरहेका थिए । हामी पनि चढ्यौं । करिब दश मिनेट हिडेपछि बाटोमा अर्को पहिरो आएर ढसमस्स नै बसेको रहेछ । तर चालकले त्यही पहिरोमा गाडी धसिरहेका छन् । गाउँतिरका केही बुझ्झकी मान्छेहरु ओर्लिए तर हामी प्रोफेसर भने आँखा चिम्म गरेर बसेका छौं । बरै ! दुईचार पटक ध्याचघुच्च पारेपछि म ओर्लिए । त्यसपछि अरू साथीहरू नि ओर्लिए । यो प्रोफसरी पनि आफै मपाइत्वपूर्ण हुँदोरहेछ क्या ! बाहिरको परिवेश हेर्नु नपर्ने, समाजका चालचलन वा मूल्यमान्यता हेर्नु नपर्ने, अरूले गनोस् नगनोस् आफै गनिने, एउटा निश्चित सूत्रका आधारमा संसारलाई हेर्ने कोरोनाको नयाँ लक्षण स्वाद र गन्ध थाहा नपाउने जस्तै हुँदो रहेछ । नभए महामारीका बीचमा औषधी खोज्न नलागेर क ख खोज्न को हिड्थ्यो र ? त्यस्तै बस र वातावरणको स्वाद र गन्ध थाहा नपाएकाले पहिरोमा अगाडिपछाडि गराएर बसका चालकले हामीसँगबाट एक एक सय रूपैयाँ ठटाए । गाउँलेहरू पहिल्यै ओर्लिए । हामी नओर्लिएकाले पैसा तिर्यौ । आखिर हिरा नचिनेका शिवहरि न थियौं त्यहाँ !
त्यसदिनको बास बुर्तीबाङमा भयो । भोलिपल्ट हामी बुढाबुढी निसीतिर लाग्यौ । निसी सुन्दर गाउँ र असल मान्छेहरूको बस्ती रहेछ । अलिअलि पढेकाहरूमा ढाँटछल हुनु अस्वभाविक कुरा भएन । आम चरित्र सोझो, इमान्दार र असल नै पाएँ । ढोकाबाहिर आठ दश जना लोग्ने मान्छेहरू सुतेका छन् म भित्र एक्लै छु भनेर एकदिन उसले फोन गरी । मलाई बाहिर निस्कनु छ एकछिनमा फोन गर्नुस है आउँछु कि आउँदिन भन्दै ऊ बाहिर गई । एकछिनमा बाहिरबाट आएर उसैले फोन गरेर एकै सासमा सुनाई ‘सब मस्तराम छन् तर राति मलाई भने डर लाग्ने भो ?’ मैले उसलाई ढुक्कले सुत्न भने नभन्दै भोलिपल्ट बिहान उठ्दा ती मान्छेहरू आफ्नो बाटो लागिसकेका रहेछन् रे ! पछि बुझ्दा थाहा भयो तिनीहरू त बिहेका लागि केटी खोज्दै आएका रे ! अर्को एउटा कथा पनि उसले सुनाई । बाटोमा स्कुल जाँदा एक युवा हातमा हँसिया समातेर शरीरको माथिल्लो भागमा एउटा स्यान्डो मात्रै लगाएर आउँथे रे ! सधैजसो रक्सी पिएजस्ता ती युवाले उसका पुरुष सहकर्मीसँग सधै अङ्कमाल गर्थे रे ! तर उसलाई भने कहिल्यै ठाडो गरेर हेरेनन् रे ! उसले इमान्दारीपूर्वक विकट क्षेत्रमा काम गरी । त्यहाँ त एकदिन हाजिर नगरीकन घर फर्केर जागिर खाने हुँदा रहेछन् । शिक्षक, प्रअ र जिल्लाका कर्मचारीको मिलेमतो भएपछि खेल खत्तम हुँदोरहेछ । स्कुल जानु पर्दो रहेनछ । मलाई पनि अनेकन् कुकृत्ययुक्त पाठ अनुभवीहरूले पढाए । उनीहरूका पाठमा अँ भनेपनि हँ भाइ भनिन । चार महिनामा अन्य इमान्दारहरू पनि फर्कन थालेपछि उसलाई पनि मैले फर्काएँ ।
त्यहाँको भाषा फरक रहेछ । आम निसेलीहरूले नेपाली नबोलेर खाम भाषा बोल्दा रहेछन् । शिक्षकहरूले कक्षाकोठामा नेपाली बोलेपनि विद्यार्थीहरू आफनै खाम भाषामा बोल्दा रहेछन् । शिक्षाको माध्यम नेपाली रहेछ । बहुभाषिक मुलुकमा तिनीहरूको भाषामा आधारभूत तहको शिक्षा पाउने दिन कहिले आउला ?
राज्यले मातृभाषामा शिक्षा पाउने कुरालाई ऐच्छिक बनाइदिएको छन् । जो अबोध छन् जो बोल्न सक्दैनन् जो आफ्नो अधिकार लिन सक्दैनन् उनीहरूको अधिकारको ग्यारेन्टी गरिनुपर्छ । ऐच्छिक बनाउँदा कम्पनीले विद्यार्थीलाई उत्पादनका वस्तु बनाए । कक्षाका एकदुई जनालाई राम्रो पढाएको नाममा बाँकी विद्यार्थीको शैक्षिक बलि चढाए । नीतिनिर्माण तहमा प्रभाव र पहुँच पुर्याए भने तल्लो तहमा विजातीय भाषा भाग्य चम्काउने एक मात्र आधार हो भन्ने अफवाह फैलाए । तर्सथ समाजको तल्लो, भाषिक अल्पसंख्यक र गरिब वर्ग शोषणमा आज पनि पिसिइ रहेको छ । मलाई लाग्यो निसेली बालबालिकालाई कम्तीमा चार पाँच कक्षासम्म उनीहरूकै भाषामा पढ्न दिएर त्यसपछि नेपाली अङ्ग्रेजी भाषाको विस्तारै सङ्क्रमण गराउँदै लगे झन् राम्रो हुन्थ्यो होला । त्यहाँको माटोमा सुवास आउँथ्यो होला, साहित्यमा लालित्य आउँथ्यो समाजले परिवर्तनको परिष्कार पाउँथ्यो होला ।
माओवादी जनयुद्धको बेला संस्कृत भाषाको पढाइ विद्यालयमा बन्द गराइयो । पुस्तकहरू पोलियो । विभेदमा परेकाहरूलाई मानौं संस्कृत भाषाले नै अन्याय गरेको हो जस्तो वातावरण बनाइयो । समाजको सुन्दरताको प्रचार गरिएन कुरूपताको चर्चा गरियो । आखिर विभेद कहाँ रहेनछ र ? हालै अमेरिकन राष्ट्रपतिले एसियन मूलकी पत्रकारलाई ’इन्सल्ट’ गरेको भिडियो दुनियाँले देख्यो । कालो र गोरोको विभेद अझै पनि चर्चामा आउँछ । विभेद त आम जनताको आर्थिक सामाजिक समानता र अधिकारको रक्षाबाट मात्रै हटाउन सकिदो रहेछ । तर यहाँ भाषा संस्कृतिलाई प्रहार गरेर राजनीति गरियो । यो क्रम प्रजातन्त्रको स्थापनासँगै सुरू भयो । माओवादीले पनि त्यसको सिको नगर्ने कुरो भएन । द्वन्दकालमा एकपटक युवा क्रान्तिकारी नेतालाई तत्कालिन गाविस अध्यक्षका घर लिएर गएँ । उनीसँग बाटोमा यही विषयमा बहस भको थियो । उनले बीचमा संस्कृत पढाएर हुँदैन सुरुबाट गर्नु पर्छ भन्ने तर्क गरे । उतिबेलाको क्रान्तिकारी मनले ठीकै जस्तो ठान्यो । शायद त्यसैको परिणाम अहिले एक कक्षाबाटै ऐच्छिक रूपमा संस्कृत पढाउने अवधारणा आएको हो कि ! मेरो विचारमा त अङ्ग्रेजी अतिवादले मुलुक खाइसकेको छ । यो अतिवादी शिक्षाले वर्ग विभेद बढाएको छ । माटोको सुगन्ध हराएको छ । साहित्यको लालित्य र समाजको चमक गुमेको छ ।
शिक्षा व्यापारको बिषय बनेको छ । संस्कृत पनि नेपालीहरूको मातृभाषा त होइन । ऐच्छिक रूपमा पनि यसको नाकेडोरी चार पाँच कक्षाभन्दा तल लगाइनु ठिक छैन । । त्यसभन्दा माथि यसको विशाल ज्ञानभण्डारमा विद्यार्थीलाई डोर्याउनु त आवश्यक छ नै । लौरी कर्मकाण्ड त नेपालको संस्कृति नै हो । त्यसमा आपत्ति जनाउनु पर्ने के छ र ? अङ्ग्रेजी माध्यम खारेज गरिनुपर्छ । विषयका रुपमा दुवैलाई चार पाँच कक्षाभन्दामाथि योग्यबाट पढाउने हो आजको भन्दा राम्रो ज्ञान दिलाउन सकिन्छ । रूचि हुनले कसैले पाउलो कोएलो पढ्लान् कसैले मैले आजकालको फुर्सदमा लय हालेर पढेजस्तै श्रीमद् भागवत पढ्लान ।
म त अङ्ग्रेजी र संस्कृतको लौरी नेपाली गृहस्थतिर फर्कनका लागि तेर्साउनु पर्छ भन्ने मान्यता राख्छु । अन्य भाषाका लागि नेपाली पनि लौरी नै हो । पल्लाघरे दाईका यी भाषिक लौरीहरू समृद्धिका आधार बनुन् । नेपाली गृहस्थ चम्कियोस् । भन्ने कामना बाहेक के गर्न सक्छु । घर चम्काएर बाहिर हिंडे अरूले पनि सम्मान गर्छन् तर घर भत्काएर हिडे अपमान गर्छन् । सुखदुख दुवै बेला मनमस्तिष्कमा घर राखेर हिड्ने संस्कृति स्थानीय भाषिक लौरीले नै दिन्छ ।
–लेखक ज्ञवाली धौलागिरी क्याम्पसमा प्राध्यापन पेशामा कार्यरत हुनुहुन्छ । उहाँ शैक्षिक, सामाजिक र समसामयिक सरोकारका बिषयमा सशक्त कलम चलाउनुहुन्छ ।