समय नयाँ शैक्षिक सत्रको : चिन्ता विद्यार्थीको-२

सामान्य समय भएको भए नयाँ शैक्षिक सत्रको समय शुरु भएर भर्ना अभियान पनि सकिने बेला भइसक्यो । तर, कोरोनाको अनिश्चित संकटका कारण जेठ लाग्दा पनि कसरी पठन पाठन गर्ने अन्यौल छ । बागलुङ जिल्लामा अब के कसरी अघि बढ्न सक्ने सोच, योजना, विकल्प र सम्भावना हुन सक्छन् ? आफ्ना बिद्यार्थीलाई यो लकडाउनमा केहि टिप्स या सकरात्मक उत्प्रेरणा सन्देश केहि दिएका छन् ? घर गाउँमा रहेका बिद्यार्थीहरुलाई सुझाव के छ ? कोरोना संकट पछिको शैक्षिक सम्भावनाका बारेमा आदर्श अनलाइनकर्मी साधना पन्तले जिल्लाका बिभिन्न बिद्यालयका प्रधानाध्यापक/प्रिन्सिपलसँगको गरेको शैक्षिक बिमर्श–२

यामबहादुर जिसी प्रधानाध्यापक शान्ति माध्यमिक बिद्यालय कुश्मिशेरा जैमिनी नगरपालिका

हामीहरु विशेष गरेर एसइई दिने विद्यार्थीहरुलाई बढि प्राथमिकता दिएका छौ । किनकी अरु कक्षाका विद्यार्थी भाइ बहिनीहरु परिक्षा दिएर नतिजा पनि आई सकेको छ । तर, एसइई दिने विद्यार्थीहरुले हामीहरुलाई पटक–पटक फोन गरी सोधिरहनु हुन्छ । उहाँहरुलाई चाहिने सामग्रीहरु पु¥याउने काम भइरहेको छ । उनीहरुको मनोबल बढाउने काम गरिएको छ । पढाई रोकिए पछि फेरी पढेका कुरा ताजा बनाउने प्रयास गरेका छौ । सम्पूर्ण विद्यार्थीहरुको अभिभावकहरु सँग फोन मार्फत कुराकानी गर्ने काम भएको छ । हामीहरुले अभिभावकलाई यो समयमा विद्यार्थी भाईबहिनीलाई घरका काम लगाउने, सिकाउने, बाहिरी ज्ञान वृद्धि गराउने भनेर सल्लाह सुझाब दिने काम गरेका छौ ।

हामीहरुले सम्पूर्ण भाइ बहिनीहरु सँग पुराना पुस्तकहरु फिर्ता मागेर पास भएर अगाडी बढेको विद्यार्थी भाई बहिनीहरुलाई बाँड्ने भनेका छौ । यसको लागि सल्लाह गरिरहेका छौ । के कसरी यो काम गर्न सम्भव हुन्छ भनेर शिक्षकहरुसँग छलफल गरेका छौ । अहिले सवै गाउँमै आउनु भएको छ सहर बजारबाट । त्यसकारण हामीहरुले विद्यार्थी भाईबहिनीलाई आफु भन्दा ठुला दाई दिदिहरु संग केहि सिक्न पनि सकिन्छ भनेर उनीहरुलाई सल्लाह दिएका छौ । एनटिभि प्लसले पनि टिभीमा विषयगत कक्षाहरु सञ्चालन गरेर प्रसारण गरिरहेको छ । अनलाईन कक्षाहरुबाट पनि पढ्न सकिन्छ भनेर सुझाव दिएका छौ ।

भुपेन्द्र केसी प्रिन्सिपल आदर्श विद्यामन्दिर आवासिय मावि बागलुङ

हामीहरु प्याब्सन र एन प्याब्सनको बैठक बसेका थियौ । बैठकबाट पनि त्यति राम्रो योजना आएको पाइएन । अहिले सवै ठाउँमा अन्यौलनै रहेको छ । हाम्रा विद्यालयको कुरा गर्दा हामीहरुले विद्यालय बन्द गर्नु भन्दा पहिलेनै योजना बनाएर विद्यार्थीहरु खाली नबसुन् भनेर विषयगत गृहकार्य दिएका थियौ । तर, उनीहरुले बेवास्ता गरेर ति सवै सामग्रीहरु विद्यालयमै छाडेरर गएका थिए । तर उनीहरुले अहिले आफै फोन गरेर अहिले माग्ने र पठाइ दिन भनिरहेका छन् । विद्यार्थीहरु पनि लामो समय घर भित्र बस्दा–बस्दै दिक्क परेर पढाई गर्ने विचार गरेको पाइएको छ । हामीहरुले पनि विषयगत प्रश्नहरु विद्यार्थीलाई पठाएर केही समय ति काम पनि गरियो । अनलाइन कक्षा सञ्चालन पनि केहि समय सम्म गरियो । यी सवै कामहरु असफल भए किनकी सवै विद्यार्थीहरु इन्टरनेटको पहुँचमा नभएका कारणले समस्या आइपरेको छ । धेरै समस्या पनि हुँदो रहेछ अनलाइन कक्षा सञ्चालन गर्दा । अभिभावकले आफ्नो बच्चाले पढ्ने भने पछि इन्टरनेट जोडिदिने तर विद्यार्थीहरुले पढाई भन्दा अरु कुरामा बढि ध्यान दिएको पनि पाइयो । त्यसकारणले हामीहरुले अहिले हाम्रो विद्यालयका मात्र नभएर अरु भाईबहिनीलाई पनि विषयगत सामग्रीहरु बनाएर दिने काम गरेका छौ ।
अहिले सवै निजी विद्यालयहरु समस्यामा छन् । विद्यालय बन्द भए पछि शिक्षक कर्मचारीलाई तलव दिने कुरा अन्यौलम रहेकाले सवै शिक्षकहरु समस्यमा हुनुहुन्छ । हामीहरुले काम पनि आफै गरेका छौ । विद्यार्थीहरुलाई अनलाईन कक्षा सञ्चालन गरे पनि शुल्क लिन नमिल्ने भएकाले हामीहरु विद्यार्थीहरुका लागि भए पनि उनीहरुलाई व्यस्त बनाउने यो खाली समयमा विद्यार्थीहरुको ध्यान अन्त नमोडियोस् भनेर उनीहरुलाई केहि न केहि काममा व्यस्त बनाएका छौ ।

हामीहरुले विद्यार्थी भाईबहिनीको म्यासेन्जर ग्रुप बनाएका छौ । उनीहरुको समस्याको समाधान त्यही म्यासेन्जर ग्रुपबाट पनि गरेका छौ । हामीहरु निरन्तर विद्यार्थी र अभिभावकसँग कुराकानी गरिरहेका छौ । हाम्रा अभिावकहरु पनि सन्तुष्ट हुनुहुन्छ । कमसेकम आर्दशले विद्यार्थीहरुलाई व्यस्त बनाउनका लागि केहि न केहि गर्नु भएको छ भनेर हामीहरुलाई भन्नु हुन्छ । हामीहरुले विद्यार्थीको मात्र होइन, हामीहरुले अभिभावकहरुको पनि म्यासेन्जर गु्रप बनाएर विद्यार्थीहरुको विषयमा छलफल निरन्तर गरिरहेका छौ ।

विद्यार्थीहरुका लागि हामीहरुले अरु नयाँ तरिकाले कसरी उनीहरुमा धेरै भन्दा धेरै कुराहरु सिकाउन सकिन्छ भनेर शिक्षकहरु सँग कुराकानी गरेका छौ । हामीहरुले विद्यार्थीहरुले अब विद्यालयमा आउदा उनीहरुले नयाँ कक्षामा जाँदा उनीहरुमा यो नहोस् कि यो कसरी गर्ने पढ्ने भन्ने प्रश्न उनीहरुको मनमा नरहोस् भनेर हामीहरुले विद्यार्थीको दिमाख ताजा नै बनाउने प्रयासमा छौ । अब अभिभावकले पनि आफ्नो बच्चाहरु घरमा बसेर के गरेको छ भनेर पनि ख्याल गर्नुपर्ने हुन्छ । नत्र हामीहरुले यहाँबाट दिने उता विद्यार्थीहरुले वास्तै नगरे त्यसको कुनै औचित्य नरहने भएकाले आफ्ना बाल बच्चाले गरे की गरेन भनेर हेर्ने काम गर्नु पर्दछ ।

चन्द्र क्षेत्री प्रिन्सिपल सनराइज आवासिय मावि बागलुङ

लकडाउन सरकारले आकस्मिक घोषणा गरेका कारण हामीहरु पनि अन्यौलमा रहेका छौ । चैत ५ गते घोषणा गरेर ६ गतेको एसइई परीक्षा थियो । एसइई परीक्षा दिने विद्यार्थीहरुमा मनोवैज्ञानिक असर परेको महुशुस गरिएको छ । मलाई सरकारले लकडाउन अलि हतारमा गरेको अनुभुति भएको छ । कक्षा १ देखी ९ कक्षाका विद्यार्थीहरुको कुरा गर्दा हामीहरुले लकडाउन यति धेरै लम्बिन्छ भनेर सोचिएको थिएन । त्यसकारणले पूर्व तयारी केही नभएको कारण विद्यार्थीहरुको पढाईमा असर परेको छ ।

लकडाउन मात्र समस्याको समाधान हो जस्तो लागेको छैन । लकडाउन बैशाख महिनादेखि गरेको भए पनि हुन्थ्यो । विद्यालयमा एसइई परीक्षा चल्न दिएको भए र सिमा नाकामा कडाई गरेको भए राम्रो हुन्थ्यो । अन्यौल–अन्यौलमै विद्यार्थीहरु दुई महिना घरमा बसिसकेका छन् । विद्यालयहरु सञ्चालन गर्ने विकल्प छन् तर राजयले त्यस विषयमा चासो दिएको छैन । सरकार अलि जम्मेवारी भएर शिक्षाको क्षेत्रमा सोच्नु पर्ने देखिन्छ । लण्डन, दक्षिण कोरिया जस्ता देशहरुमा सामाजिक दुरी कायम गरी कामहरु भईराखेको पाईएको छ । नेपालको शैक्षिक क्षेत्रमा सामाजिक तथा भौतिक दुरी कायम गरी विद्यालयमा दुई चरणमा विद्यालय सञ्चालन गर्न सकिन्छ । सरकारको अझ सम्म त्यस विषयमा ध्यान जान सकेको छैन । कोरोना संक्रमण नभएको जिल्लामा विद्यालय सञ्चालन गर्न सकिन्छ । कक्षा कोठामा पनि बेञ्चको दुरी कायम गर्ने विद्यालयमा सेनिटाइजर, माक्सको प्रयोग गर्ने समयको व्यवस्थापन गरेर विद्यार्थीलाई विद्यालयमा बोलाउने र दुई चरणमा विहान, दिउँसोमा विद्यालय सञ्चालन गर्न सकिन्छ । विद्यार्थीहरुले हामीहरुलाई फोन गर्नु हुन्छ र सोध्नु हुन्छ । सर विद्यालय कहिलेबाट आउने हो भनेर विद्यार्थी चिन्तित हुनुहुन्छ । मेरो विचारमा अब कोरोना संक्रमण भएको ठाउँमा पुरै सिल गरेर कोरोना नभएको ठाउँमा उद्योग, विद्यालय, अफिस, सहकारीहरु सञ्चालन गर्ने वातावरण गर्नु पर्छ भन्ने हो ।

निजी विद्यालयमा काम गर्ने शिक्षकहरु दूई महिना भयो बेरोजगार जस्तै भएको । शिक्षकहरुको पढाउने बाहेक अन्य आय श्रोत नहुने भएकोले उहाँहरुलाई तलबको समस्या परेको छ । विद्यालय सञ्चालन नगरी विद्यार्थीहरुलाई नपढाई उनीहरु सँग शुल्क लिने कुरा नहुने र शिक्षकहरुलाई समस्या बढ्ने अवस्था आएको छ । सरकाले सरकारी विद्यालयका शिक्षकलाई फरक नपर्ने भएर होला निजी विद्यालयका शिक्षकहरुको बारेमा नसोचेको ।

हामीहरुले अझै लकडाउन लम्बिने देखेका छौ । त्यसकारणले लकडाउनमा विद्यार्थीहरुलाई टेलिभिजनले सञ्चालन गरेका कक्षा हेरेर थोरै धेरै ज्ञान वृद्ध हुन्छ भनेर जानकारी दिएका छौ । विद्यालयले पनि विद्यार्थीहरुका लागि घरमै बसेर केहि रचनात्मक कार्य गराउन अभिभावकहरुलाई सम्पर्क गरी खाली समयको सदुपयोग गराउनका लागि अनुरोध गरेका छौ । सवै भन्दा निजी विद्यालयको हकको मात्र नभएर समग्र निजी क्षेत्रको समस्या भएको कारणले चैत्र महिनाबाट लकडाउन भएको छ । समस्याको समाधान लकडाउनले नहुने र सरकाले यसको विकल्प नखोजिएको पाईएको छ । त्यसकारणले गर्दा बाहिरी सिमामा सरकारले अत्यन्त कडाई गर्ने र देश भित्रका कोरोना नभएको जिल्लामा बाहिरबाट आवाज रोकेर आन्तरिक रुपमा सवै खालको गतिविधि गर्न दिनुपर्ने लाग्दछ । सम्पूर्ण नागरिक समाज, पत्रकार, शिक्षकहरुले लकडाउने विकल्पको विषयमा आफ्नो–आफ्नो ठाउँबाट बहस गर्न आवश्यक ठानेको छु ।

रघुनाथ कंडेल प्रधानाध्यापक भिमसेन माध्यमिक बिद्यालय, बिहुँ काठेखोला बागलुङ

हामीले विद्यार्थीहरुको १०/१० जनाको समुह बनाएर पाठ्यपूस्तकहरु सवै विद्यार्थीलाई पुराना विद्यार्थीको मागेर दिने कुरा गरेका थियौ तर त्यो सम्भव रहेन । विद्यार्थीहरुको नाम दर्ता गर्ने अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई व्यस्त बनाउने भनिएको थियो । अहिले हामीलाई शिक्षाबाट अर्को सुचना नआउँदा सम्म केहि नगर्ने भनिएको छ । हामीहरुले एसइई दिने विद्यार्थी र ११,१२ कक्षाका प्राविधिक धारका विद्यार्थीहरुको परीक्षा आउन लागेका विद्यार्थीहरुका लागि अनलाइन कक्षा सञ्चालन गरिएको छ । काठेखोला गाउँपालिकाको ४ वटा वडाका विद्यार्थीहरु हाम्रो विद्यालयमा अध्ययनका लागि आउनु हुन्छ त्यसकारणले अहिले उहाँहरुको लागि पठन–पाठन, भर्ना गर्न सम्भव नरहेकाले अभिभावक सँग सम्पर्कमा रहेका छौ तर विशेष खालको योजना भनेर विद्यालयले अहिले केही बनाएको छैन ।

हाम्रो भिमसेन माध्यामिक विद्यालयको आधिकारिक फेसबुकबाट हामीहरुले विद्यालयका सुचनाहरु प्रकाशन गर्ने काम गरिरहेका छौ । सम्पूर्ण विद्यालयका गतिविधि त्यहाँ राखेका छौ । सम्वन्धित विषय शिक्षकहरुको तर्फबाट पनि विषयगत क्रियाकलापहरु पनि विद्यार्थीहरुलाई खाली समयमा बसेर केही सिक्न सकिन्छ भनेर राखिएको छ । त्यसकारणले इन्टरनेटको पहुँचमा भएको विद्यार्थी भाइ बहिनीहरुले फेसबुक मार्फत पनि पढ्न सक्नु हुनेछ । यो समयमा नजिकै परीक्षा आएका विद्यार्थीहरुलाई मात्र चिन्ता भएको पाएको छु । नयाँ भर्ना हुने विद्यार्थी तल्लो कक्षाबाट उपल्लो कक्षामा जाने विद्यार्थीलाई चिन्ता नभएकाले उनीहरुले व्यवस्था गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *