संकटमा जिम्मेवारीबाट नभाग

सम्पादकीय
अहिले कोरोना भाइरसको संकट गहिरिदो छ । यो संकट मानव कालखण्डकै कठिन सकंटको भोगाई अनुभव र संघर्ष एक साथ चलिरहेको छ । पछिल्लो केहि महिना यता चलिरहेको यो संकटको भुमरी कहिले रोकिन्छ ? विश्वका कुनै पनि देशका बैज्ञानिकहरुले अझै जवाफ दिन सक्ने अवस्थामा छैनन् । दैनिक लाखौको संख्यामा संक्रमित हुने, हजारौको संख्यामा मृत्यु हुने क्रम तिव्र छ । यद्यपी यसमा निको हुने सयौंको सेरोफेरोको दरमा छ । नेपालमै पनि पछिल्लो समय दैनिक दोहोरो अंकमा कोरोना भाइरस संक्रमणको दर बढ्दो क्रममा छ । भाइरसकै कारण ज्यान लिन समेत शुरु भए पनि ठुलो मानवीय क्षति अझै भोग्नु परेको छैन र नपरोस् पनि । तर, यस्तो विश्वव्यापी संकटको यस कठिन घडीमा पनि देशमा भएको तीन तहको सरकार, अरु सरोकारवाला र नागरिक पनि आफ्नो जिम्मेवारीबाट कदापी पन्छिन मिल्दैन ।

यसै साता बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले आफ्ना नागरिक उद्धारमा देखाएको व्यवहार र त्यसपछि उसले दिएको जवाफले कोरोना संकटमा केहि गम्भिर प्रश्न खडा गरेको छ । देशमा लकडाउन (बन्दाबन्दी)मा छ । भारतीय सीमा नाकामा दैनिक देश र घर गाउँ भित्रिन पाउँ भनेर नारा जुलुश चलिरहेको छ । यसरी नेपाल भित्रिएकाहरुलाई सीमा नाकाका जिल्लाबाट सम्बन्धित जिल्ला र स्थानीय तहमै पठाउन शुरु गरिएको छ । यसरी पठाउँदा सुरक्षित ठानिएका जिल्ला र घर गाउँहरु पनि एकातर्फ आंतकित बन्ने अवस्था सिर्जना भएको छ भने अर्को तर्फ आगन्तुक नागरिकहरुको यथोचित उद्धार, चेकजाँच, क्वारेन्टिन व्यवस्थापन लगायतका बिषयमा स्थानीय सरकारको अहिलेको काम अभ्यास अझै फितलो छ । जिल्लाका १० स्थानीय तहमा यथेष्ट तयारीका हिसावले केही स्थानीय तहले राम्रै तयारी गरे पनि अधिक चाही कोरोना रोकथाम, नियन्त्रणमा तयारी गरे जस्तो तर संक्रमण देखिए त्यो तयारी पानीको फोका जस्तो फिक्का सावित हुने देखिन्छ । जैमिनी नगरपालिकाले भारतबाट सीमा नाका हुँदै नेपाल भित्रिएर बागलुङ जिल्ला सम्म ल्याएका उसका नागरिकलाई सदरमुकामबाट त्यहाँ सम्म लैजान पनि बजेटको कमी भएको गुनासो गर्छ । देश लकडाउनमा छ । स्वतस्फुर्त यात्रा गर्न बन्देज छ । तर जैमिनी नगरले भनिरहेको छ–खर्च भएकाहरु आँफै आउँ, खर्च नभएकाको भाँडा नगरपालिका तिरिदिन्छ । अहिलेको समस्या खर्चको मात्र होइन, अलपत्र परेको ठाउँदेखि गाउँ सम्म आउने र कोरोनासँगको लडाई परिवारसँगै बसेर गर्ने नागरिकको सोच र सपना र रहर सँगको हो । यो बिषय र परिस्थितिको गाम्भिर्यता बुझ्न र कमजोरी सच्याउन ढिलाइ नगरोस् ।

अहिलेको संकटबाट कोही भाग्ने अवस्था र सम्भावना छैन । किनकी कोरोना भाइरसले बिगबिगी नभएको कुनै यस्तो भुगोल छैन । जहाँ हामी सुरक्षित हुन सकौ । नेपाल जस्तो देश होस् या हामीले सपनाको गन्तव्य ठान्ने अमेरिका होस् । सर्वत्र कोरोना आंतकले ग्रसित छन् । हामी पनि यही समस्या र आतंकले भयभित छौ । अझ पछिल्लो समय भारतीय नाका हुँदै जिल्ला भित्रिएकाहरु र अबका दिनमा बिदेशबाट उद्धार गरि भित्रिनेहरुबाट हामी थप जोखिममा हुनेछौ । जिल्ला भित्रिदा प्रयाप्त सजगता नअपनाउने, उनीहरुलाई राख्ने क्वारेन्टिन व्यवस्थित बनाउने, त्यस भित्र समेत एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्ने जोखिम नहुने गरी चुस्त बनाउने र अनिवार्य रुपमा पिसिआर परीक्षण गर्ने गराउने कार्य जरुरी छ । यसका लागि स्थानीय सरकारहरु बढि जिम्मेवार हुनुपर्छ । अहिले बजेट या स्रोत साधनको अभाव देखाएर या नीति निर्णय नभएको बाहनामा यो संकटबाट स्थानीय तह कदापी भाग्न मिल्दैन । विकास निर्माण योजनाका बजेटहरु प्रयाप्त खर्च नभइरहेको अवस्थामा अहिले प्रथमतः आफ्ना नागरिकहरुको जीवन सुरक्षानै मुल मन्त्र र कर्म बन्नुपर्छ । यो कर्म र दायित्वबाट च्युत भएर भोली कुनै अप्रिय घटना भए र अवस्था भयावह भए त्यो हामी सबैका लागि क्षम्य हुँदैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *