बागलुङका एक सय बढि सुत्केरी सम्पर्क विहिन

गत फागुन र चैत महिनामा बागलुङका १० स्थानीय तहका विभिन्न स्वास्थ्य संस्थामा गर्भजाँच गर्दै आएका ३४ जना गर्भवती महिला र १ सय २ जना सुत्केरी स्वास्थ्य संंस्थाको सम्पर्क बाहिर छन् ।

सिर्जना पन्त, बागलुङ । कोरोना भाइरसका कारण संवेदनशिल अवस्थाका गर्भवति र सुत्केरी महिलाहरु बढि समस्या र मारमा परेका छन् । कोरोना जोखिम रोकथामका लागि नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरे पछि नियमित स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थामा समेत जोखिम बढ्ने सन्त्रासमा गर्भवती र सुत्केरी अवस्थाका महिलाहरु घरमै बसेका छन् ।

कोरोना संक्रमणको डर, यातातका साधनको सहज पहुँच नहुँदा गर्भजाँचको लागि स्वास्थ्य संस्था जानेहरु मात्र होइन, प्रसूति हुनका लागि स्वास्थ्य संस्था जानेहरुको संख्यामा समेत कमी आउन थालेको छ ।

बागलुङको ढोरपाटन नगरपालिका–१ की ३३ बर्षिया गर्भवति महिलाको वैशाख १ गते मृत्यु समेत भयो । पाठेघरको बाहिर नलिमा गर्भ रहेर नली फुटेपछि उपचारको लागि हेलिकप्टरबाट पोखरा पु¥याईएकी उनको समयमा उपचार नपाएका कारण मृत्यु भएको उनका परिवारका सदस्य र आफन्त बताउँछन् । रत्तश्राव भए पछि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र आइपुगेकी उनलाई चिकित्सकले तत्काल सुविधा सम्पन्न अस्पताल लैजान सुझाव दिए पनि लकडाउनका कारण यातायात नचल्ने र आर्थिक अवस्था सामान्य भएकाले तत्काल अस्पताल लगिएन । वैशाख १ गते विहान अचानक अत्याधिक रत्तश्राव भई पेट पनि दुखे पछि परिवारले उनलाई फेरी बुर्तिवाङ स्वास्थ्य केन्द्र ल्याउदा अवस्था नाजुक भइसकेको थियो । ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधी २०७५’ अनुसार हेलिकप्टरबाट निशुल्क उद्धार गर्न खोज्दा लकडाउनका कारण गृह मन्त्रालयको पास कुर्दा–कुर्दै अन्य समयमा एक घण्टामा उपलब्ध हुने सेवा त्यो दिन तीन घण्टा भन्दा बढी समय लाग्यो । अन्ततः हेलिबाट उद्धार गरेपनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याउँदा मृत्यु भइसकेको थियो ।

बागलुङको बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकाकी गर्भवती महिलालाई हेली मार्फत उद्दार गरिदै । उनको हेलिबाट उद्धार गरेपनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याउँदा मृत्यु भइसकेको थियो ।

जेठ २ गते बागलुङको रायडाँडाकी एक सुत्केरी महिलालाई अत्याधिक रत्तश्राव भएपछि परिवारले हेलिकप्टर मार्फत काठमाडौ पु¥याएर उपचार गरिरहेका छन् । धौलागिरी अस्पतालमा शल्यक्रिया मार्फत बच्चा जन्माएकी उनको रत्तश्राव नरोकिए पछि अस्पतालकोे सहयोगमा काठमाण्डौ उद्दार गरिएको थियो । लकडाउनको कारणले समयमा स्वास्थ्य संस्था पुग्न नसक्दा गर्भवती र सुत्केरी महिलाको ज्यान समेत जाने जोखिम बढेको छ ।

कोरोना संकटको जोखिम र लकडाउनका कारण पछिल्लो फागुन र चैत महिनामा स्वास्थ्य संस्था जाने गर्भवती र सुत्केरी महिलाको संख्यामा कमी आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

२०७५ सालको फागुन महिनामा बागलुङमा ३ सय ९१ पहिलो पटक र २ सय ३५ जना महिलाले चौथो पटक गर्भजाँच गराएका थिए । सोही समयमा जिल्लामा ५ जना महिला घरमा र २ सय १० जना महिला जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सुत्केरी भएका थिए । तेसैगरी २०७५ को चैत महिनामा ३ सय ३३ जनाले पहिलो पटक र २ सय ५३ जना महिलाले चौथो पटक स्वास्थ्य संस्थामा गर्भजाँच गराएका थिए । सोही समयमा ६ जना महिलाले घरमै बच्चा जन्माए भने २ सय ५० जना महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माए । यो तथ्याङ्कमा स्वास्थ्य जाँच गराउनेको भन्दा प्रसूति हुनेको संख्यामा ३ जनाले बढी देखिन्छ । बागलुङ जिल्लाका मात्र नभएर जिल्ला बाहिरका महिलाले पनि जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट प्रसुति सेवा लिएको हुनसक्ने स्वास्थ्य कार्यालय बागलुङका तथ्यांक अधिकृत एवम् सूचना अधिकारी घनश्याम सापकोटा बताउँनुहुन्छ ।

यो तथ्याङ्कको तुलनामा २०७६ सालको फागुन महिनामा स्वास्थ्य संस्थामा चेकजाँच गराउने र सुत्केरी हुनेहरुको संख्यामा निकै फरक देखिएको छ । गत फागुन महिनामा ३ सय ३२ जना महिलाले बागलुङका विभिन्न स्वास्थ्य संस्थाबाट पहिलो पटक गर्भजाँच गराएका थिए भने २ सय ३८ जनाले चौथो पटक गर्भजाँच गराएका थिए । सोही महिना स्वास्थ्य संस्थामा प्रसुति हुने महिला १ सय ३६ जना छन् भने घरमा सुत्केरी हुनेको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क छ । चौथो पटक गर्भजाँच गराएका महिलाको तुलनामा सुत्केरी हुनेको संख्यामा १ सय २ जना कम देखिएका छन् ।

फागुन महिनामा चेकजाँच गराउने बढी र सुत्केरी हुने कम हुनुमा विभिन्न कारणहरु हुन सक्ने धौलागिरी अस्पताल बागलुङका स्त्री तथा प्रसुती रोग विषेशज्ञ डा.सौगात कोइरालाको भनाई छ । कोइरालाले जहाँ चेकजाँच गराइन्छ त्यही प्रसूति पनि गराउने अनिवार्य नभएकाले केहि फरक स्वभाविक भए पनि अहिले कोरोनाको सन्त्रासले गर्भवति सुत्केरीमा समस्या परिरहेको भने बताउनुभयो । फागुन महिनामा देशमा लकडाउन नभएका कारणले बागलुङका स्वास्थ्य संस्थामा गर्भजाँच गरेका महिलाहरुले जिल्ला बाहिरका स्वास्थ्य संस्थाबाट प्रसुति सेवा लिएकाले चेकजाँच गराउने भन्दा सुत्केरी हुनेको संख्यामा कमी आएको हुन सक्ने बताउँनुहुन्छ । कुनै–कुनै समयमा महिलाहरुको गर्भावस्थाको स्थितिलाई हेरेर चिकित्सकले ८÷१० दिन ढिलो प्रसूति गराउने सुझाव पनि दिन सक्ने उहाँको भनाई छ । फागुन महिनाको अन्तिममा चेकजाँच गराउन आएका महिलाहरु चैत महिनामा सुत्केरी हुनसक्ने भएकाले फागुनको तथ्याङ्क कम र चैतको बढि देखिन सक्ने उहाँको भनाई छ ।

२०७६ चैत महिनामा २ सय ३७ जना महिलाले पहिलो पटक गर्भजाँच गराएका थिए भने १ सय ६४ जना महिलाले अन्तिम चौथो पटक स्वास्थ्य जाँच गराएका थिए । यो महिना स्वास्थ्य संस्थामा परीक्षण गर्नेहरुको तुलनामा प्रसुति हुनेहरुको संख्या बढेको छ । घरमा ३ जना र १ सय ९५ जना स्वास्थ्य संस्थामा गरि चैत महिनामा १ सय ९८ जना महिला सुत्केरी भएका छन् । अन्तिम पटक गर्भजाँच गराउनेको तुलनामा सुत्केरी हुनेको संख्यामा ३४ ले वृद्धि भएको छ ।

चैत्र महिनाको दोश्रो साता देखि देशव्यापी रुपमा लकडाउनको घोषणा गरेसंगै अत्यावश्यक बाहेक अस्पताल नआउन आग्रह गरेकाले गर्भजाँच गर्नेहरुको संख्यामा कमी र प्रसुती हुनेको संख्यामा वृद्धि भएको हुनसक्ने डा.कोइरालाको भनाई छ । अन्य समयमा थप सुविधाको लागि पोखरा लगायतका स्वास्थ्य संस्थामा सुत्केरी हुन जाने महिलाहरु लकडाउनको कारणले नजिककैको स्वास्थ्य संस्थामा आएकाले पनि संख्यामा वृद्धि भएको हुनसक्ने उहाँको धारणा छ ।

नेपालमा भर्खर मात्र फैलिएको कोरोना विश्वका विभिन्न देशमा केहि महिना पहिले नै फैलिएकाले गर्भवती महिलाहरु स्वास्थ्य संस्था जाँदा संक्रमणको डरले चेकजाँच गराउन कम गएको हुनसक्ने कोइराला बताउनुहुन्छ । अन्य अवस्था भन्दा गर्भावस्था जटिल भएकाले नियमित रुपमा स्वास्थ्य संस्था जान सम्भव नभए फोन मार्फत भए पनि चिकित्सकको परामर्श लिइराख्न उहाँले सुझाव दिनुहुन्छ । समयमा गर्भजाँच नगर्दा स्वास्थ्यकर्मी संग परामर्श नलिदाँ समस्या बढ्न सक्ने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

बागलुङका एक सय बढि सुत्केरी सम्पर्क विहिन

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *