फाइल तस्बिर
सम्पादकीय
विश्वव्यापी रुपमा कोरोनाले मानव जीवन तहस नहस बनाइरहेको छ । दुनियाँलाई भयभित बनाउने गरी चीनबाट फैलिएको यो भाइरसको भ्याक्सिनका लागि विश्व समुदायका बैज्ञानिक प्रयत्नशिल छन् । तर, आजको दिन सम्म कुनै अचुक विकल्प र औषधि पत्ता लाग्न सकेको छैन । बरु दैनिक हजारौ संक्रमित हुने, मृत्यु हुने क्रम बढिरहेको छ । यद्यपी निको हुने दर पनि उत्साहजनक छ । दुई छिमेकी देश दुवै कोरोनाले भयावह बन्दा पनि नेपाल धेरै हद सम्म सुरक्षित बिन्दुमा रह्यो । तर, भारतिय सीमामा अलपत्र परेका नेपालीहरु अनुमति र त्यस इतर पनि देश भित्रिने क्रम तिव्र बनेसँगै पछिल्लो केहि साता यता कोरोना संक्रमित संख्या दैनिक अकल्पनीय रुपमा बढिरहेको छ । सोमवार मात्रै एकै दिन ७२ जना कोरोना संक्रमण पुष्टि भएको खबरले पनि अबको थप संकट र जोखिमलाई संकेत गरेको बुझ्न ढिला गर्नुहुँदैन ।
अहिले बागलुङ जिल्लाका १० स्थानीय तहमा भारत र नेपालका सीमा नाकाहरुमा अलपत्र परेका नागरिकहरु नेपाल आउने क्रम तिव्र छ । पछिल्ला दिनमा मात्रै दुई सय सेरोफेरोमा भारतमा रोजगारीको शिलशिलामा पुगेका नागरिक जिल्ला भित्रिएका छन् । उनीहरुलाई अहिले धमाधम क्वारेन्टिनमा राख्ने क्रम जारी छ । बाहिरबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने मात्र होइन । कतिपय स्थानीय तहमा लकडाउन भएको ६० दिन बितिसक्दा बल्ल क्वारेन्टिन निर्माण गर्ने बुद्धि फिरेको छ । र हतार हतार क्वारेन्टिन बनाउने क्रम जारी छ । तर, हाम्रा स्थानीय तहले तयार गरेका क्वारेन्टिन कस्ता छन् ? कति व्यवस्थित छन् ? कति सुरक्षित छन् ? के भोलीका दिनमा कुनै एक दुई जना आगन्तुक व्यक्तिमा कोरोना संक्रमण देखिए उनीहरु त्यसबाट क्वारेन्टिनमा बस्ने अरु व्यक्तिलाई सुरक्षाको प्रत्याभुति दिलाउन सक्छन् ? भारतीय सीमा नाका क्षेत्रका क्वारेन्टिनमा बसेकाहरुमा अहिले धेरै ठुलो संख्यामा संक्रमण देखिएको छ । उताबाट आएकाहरुमा मात्र होइन, सुरक्षित जिल्लाबाट गएर त्यहाँ क्वारेन्टिनमा राखिएकाहरुमा पनि संक्रमण देखियो । बागलुङकै गलकोटबाट पर्सा गएका १४ जना मजदुर पनि क्वारेन्टिन असुरक्षित नै भएका कारणले संक्रमणको शिकार बन्नुपरेको तथ्य हामी माझ प्रष्ट छ ।
अब क्वारेन्टिन मापदण्ड अनुसारका छैनन् । स्थानीय स्तरमा बिद्यालय, सामुदायिक भवन, क्याम्पस, खाली घर अहिले क्वारेन्टिनमा प्रयोग छ । एउटै कोठामा एक जना होइन, धेरै जना राख्ने गरी बनाइएको छ । धारादेखि शौचालय सम्म एउटै प्रयोग गर्नुपर्ने बाध्यता छ । यस्तो क्वारेन्टिनमा अलि ठुलो संख्या हुन साथ गम्भीर जोखिम बढ्ने निश्चित छ । क्वारेन्टिनमा बस्ने ठुलो समूहमा कुनै एक जनामा संक्रमण भए सबैमा सर्न सक्ने जोखिम बढेको छ । अबका दिनमा भारत लगायतका देशबाट भित्रिने नागरिकको बढ्दो संख्या, क्वारेन्टिन बसाई र व्यवस्थापन हाम्रा लागि ठुलो परीक्षा बन्ने निश्चिछ । यो कठिन तर सिमित स्रोत साधनका बीच जिल्ला, स्थानीय तह, अरु सरोकारवाला र आगन्तुक नागरिकहरुको जिम्मेवारपूर्ण भुमिकाले हामी कोरोना सँगको लडाई र सम्भावित जोखिम रोक्न सफल हुनेछौ । यो संवेदनशिल घडीमा जो कसैले पनि लापरवाही, खेलवाड नगरौ । आ–आफ्नो भुमिकामा जिम्मेवार बनौ ।
-आजको जागरण दैनिकबाट