सम्पादकीय
अरु देशका नागरिकको जस्तै कोरोना भयावहले दिमाग ह्याङ भइरहेको थियो नै । त्यही संकट माथि भारतले नेपाली मन र माटो माथि धावा बोलेको बिषयले हामीमा कुनै न कुनै रुपमा तनाव थपिएको छ नै । यहि बीचमा जनयुद्धको उद्गम स्थल रुकुमको चौरजहारीबाट अप्रिय खबर आयो । दुई निर्दोष युवायुवती बीचको प्रेमलाई आकार दिने क्रममै स्थानीयले निर्ममतापूर्व फुल मात्रै निमोठि दिएनन् । लहलहाउदो बोट पनि मारिदिए । दलित युवक मात्रैको हुर्मत लिएनन् । उनीसँगै गएका अरु केहि युवाको पनि ज्यान लिए । यो जघन्य सामाजिक अपराध कर्र्ममा एक व्यक्ति मात्रै सम्लग्न छैनन्, सिंगो गाउँ र जनप्रतिनिधि समेत सामेल भएको खबर अझ कहाली लाग्दो छ ।
नेपाल जस्तो संविधान, ऐन, कानुन भएको देशमा यति बिभत्स, निर्लज्जताको घटना कुनै पनि हिसावले क्षम्य हुनै सक्दैन । हाम्रो कानुनले प्रत्येक व्यक्तिको मानवीय मर्यादा मात्र होइन, विवाह गर्ने र बरवधु छान्ने अधिकार पनि सुरक्षित गरेको छ । तर पश्चिम रुकुममा कथित माथिल्लो ठकुरी जातकी प्रेमिकालाई बिहे गर्न जाजरकोटबाट गएका युवाको समूहलाई ढुंगामुढा गरेर लखेटियो । ज्यान बचाउन भेरी नदिमा ११ जना युवा हाम फालेका थिए । जस मध्ये तीन जनाको शव भेटियो । तीन जना अझै बेपत्ता छन् । पाँच जना भने नदी तरेर जाजरकोट पुगेका छन् । देशमा जात नमिलेकै कारणले भएको यो नयाँ घटना भने कदापी होइन । यसअघि ०६८ भदौमा दैलेखका सेते दमाईलाई गैरदलितहरूको समूहले खुकुरीले छातीमा हानेर हत्या गरेको थियो । ०६९ असारमा धादिङ पीडा– ५ मूलखर्कमा दलित युवकले सुवेदी थरकी युवतीसँग प्रेमविवाह गरेपछि गैरदलितहरूले सिंगो दलितबस्ती माथि आक्रमण गरे पछि दलितबस्ती नै विस्थापित भयो । ०७३ मा काभ्रेका अजित मिजार पनि अन्तरजातीय विवाहकै कारण मारिए । उनको शव अझै शिक्षण अस्पतालमा छ । २०६८ सालमा जातीय भेदभाव विरुद्धको ऐन कार्यान्वयनमा आइसकेपछि अन्तरजातीय विवाहकै कारण २५ जना युवाले दलित समुदाय भएकै कारण ज्यान गुमाएका छन् ।
न प्रेमले कुनै जात सोध्छ । न घरले कुनै जात खोज्छ । तर, यो अजिव मान्छेहरुले नै मान्छेको जात खोजिरहेछ र कथित ठुलो भन्ने दम्भ र अहम्तामा यति कहाली लाग्दा हर्कत सहित अपराधमा समेत उत्रिरहेको छ । यो देशमा व्यवस्था बदलियो । प्रजातन्त्रको ठाउँमा गणतन्त्र, एक सरकारको ठाउँमा धेरै सरकार आए । अभियानका नाममा छुवाछुत मुक्त जिल्ला, गाउँ घोषणा गरिए । तर, पात्र र प्रवृत्तिका हिसावले केहि भिन्न स्वरुप र शैलीमा उस्तै घृणित कर्मले निरन्तरता पाइरहेको छ । यो मानव समुदाय र व्यवस्थाकै बिडम्बना हो । अहिलेको रुकुम घटनाले बदलिएको भनिएको हामी र हाम्रो समाजलाई सोच्न बाध्य बनाएको छ । कथित उच्च जाति ठान्नेहरु सबैलाई हेक्का रहोस् अब राजा या पञ्चायतकालिन अवस्थामा जस्तो निश्चित समुदायलाई अछुत, अशुद्ध, हीन, अपवित्रको नाममा किनाराकृत बनाउन छुट छैन । यो घटनाले सिंगो गैरदलित समुदायको साँेच, चेतना, मानवता र व्यवहार माथि गम्भीर प्रश्न उठाएको छ । र यो गम्भीर मानताव बिरुद्धको अपराध भए पनि यस माथि अपराधको राजनीतिकरणको आंशका उब्जिन थालेको छ । यस्तो घटना र अपराध कुनै पनि हिसावले क्षम्य छैन । राज्यले प्रचलित ऐन कानुन अनुसार दोषिलाई कडा कारवाहीको दायरामा ल्याउन सके मात्र यस्ता घटनाहरु न्युनिकरण हुँदै जान सक्छन् । र सर्वश्रेष्ठ प्राणीको रुपमा कहलिएका मानव र त्यसमा पनि गैर दलित समुदायले अब सोच विचार गरेर निधो गर्नुपर्ने ठाउँमा ल्याएको छ कि मानवीयकरणको बाटोमा अघि बढ्ने या कथित जातका नाममा अपराधिकरणको मार्गमा हिँड्ने ? र गन्तव्य कहाँ ? मानवीयकरणको बाटो भुलेर कथित जात, परम्परा र बाहनामा कुनै समुदायलाई यसरी उपेक्षित गरिरहने अपराधिकरणको बाटो हिँड्ने हो भने त्यो पतनको मार्ग हो ।
–आजको जागरण दैनिकबाट