बन्दाबन्दीमै पाग्जा–टाकुरी सडकको दिनरात काम


– खेमराज गौतम, बागलुङ

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) कारण दुई महिना अघिदेखि बन्दाबन्दी जारी रहे पनि जिल्लाका केहि योजनाको निर्माण कार्यलये भने यहिबेला गति लिएका छन् ।

गत चैत्र ११ देखि जारी बन्दाबन्दीका कारण धेरै विकास निर्माणका कार्यहरु ठप्प भए पनि बागलुङ जिल्ला सदरमुकाम देखि जिल्लाको जैमिनी नगरपालिका जोड्ने सडक कालोपत्रे योजनाको काम भने सामाजिक दुरी राख्दै अघि बढाइएको छ ।

जैमिनी नगरपालिकालाई कालोपत्रे सडकमा जोड्ने गरी पाग्जा–टाकुरी सडक खण्डको निर्माण कार्य तिब्र छ । गण्डकी प्रदेश सरकारको दुई वर्षे आयोजनामा विनियोजन भएको बजेटबाट निर्माण भइरहेको बागलुङ नगरपालिका–१३, १४ र जैमिनी नगरपालिका जोड्ने गरी १० किलोमिटर सडक खण्डको अहिले कालोपत्रे गर्ने अन्तिम तयारी छ । बागलुङ सदरमुकामदेखि जैमिनी पुग्ने सडक खण्डको बागलुङ नगरपालिका–१३ पाग्जा सम्म मात्र सडक कालोपत्रे छ । १० किलोटिर सडक खण्ड सम्पन्न भएमा जैमिनी नगरपालिकाको सिमाना नजिकै कालोपत्रे सडक पुग्नेछ । अहिले उक्त सडक खण्डमा दिन मात्रै होइन, रातको समयमा समेत सडक ग्राभेलको कार्य भइरहेको निर्माण कम्पनीले जनाएको छ । २०७८ असार मसान्त सम्म कालोपत्रे गर्ने गरी २०७६ असार मसान्तमा रु.२६ करोडमा प्यासेफिक कर्ण जेभीले निर्माणको जिम्मा लिएको छ ।

सडक निर्माण कार्य दिनमा भन्दा रातको समयमा बढी गर्दै आएको सडक निर्माणको जिम्मा पाएको प्यासेफिक कर्ण जेभीका आधिकारीक प्रतिनिधि हेम गुरुङले जानकारी दिनुभयो । बन्दाबन्दी नभएको भए ७७ असारमा सडक कालोपत्रे गर्ने लक्ष्य भए पनि केही समस्या भएको निर्माण कम्पनीले सामाजिक दुरी कायम गरी स्थानीय मजदुरलाई रोजगारी दिएर काममा लगाएको छ । “दिनमा मात्र हैन रातको समयमा समेत ठूला उपकरणको सहायताले सडक ग्राभेल भइरहेको छ” गुरुङले भन्नुभयो “पूर्वाधार निर्माणको ९० प्रतिशत काम पुरा भएकाले मजदुरको काम लगभग छैन, अहिले ठूला औजारको सहायताले सडक निर्माणले अन्तिम रुप लिन थालेको छ ।”

अबको एक महिनामा कालोपत्रेका लागि सडक तयारी हुनेछ । बन्दाबन्दी खुल्दासाथ सडक कालोपत्रेको काम शुरु हुने निर्माण कम्पनीले जनाएको छ । सडक कालोपत्रे भएमा बागलुङ नगरपालिकाको सबैभन्दा धेरै कालोपत्रे भएको पहिलो सडक बन्ने र निर्माणकार्य सन्तोषजनक रहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । अधिकांश निर्माण कम्पनीले म्याद थप्दा समेत निर्माण कार्य नसकेको अवस्थामा म्याद सकिनु एक वर्ष अगावै सडकले अन्तिम रुप लिनु प्रशंसनीय भएको पौडेलको भनाई छ । दुई स्थानीय तह जोड्नका लागि गण्डकी प्रदेशले प्राथमिकताका साथ बजेट बिनियोजन गर्दे आएको गण्डकी प्रदेशले जनाएको छ ।

सडक कालोपत्रे हुन थालेपछि यस क्षेत्रका बासिन्दा उत्साहित रहेको बागलुङ नगरपलिका–१४ का वडा अध्यक्ष चक्रबहादुर खत्रीले जानकारी दिनुभयो । बन्दाबन्दीको समयमा कालोपत्रेका लागि आवश्यक चिप्स, अलकत्रा र विटामिनको ढुवानी गर्न सके अबको चार महिना भित्रै सडक सम्पन्न गरेर हस्तान्तरण गर्ने निर्माण कम्पनीको दाबी छ ।

“७ किलोटिर सडक कालोपत्रे गर्न मात्र बाँकी अवस्थामा छ” निर्माण कम्पनीका प्रतिनिधि गुरुङले भन्नुभयो “३ किलो मिटरमा धमाधम ग्राभेलको कार्य भइरहेको छ ।” सडक निर्माण भएमा बागलुङ जिल्ला सदरमुकाम देखि जिल्लाको जैमिनी नगरपालिकालाई कालोपत्रे सडक संग जोडिनेछ भने बागलुङको दुर्गम गाउँपालिकाको रुपमा रहेको बरेङ गाउँपालिका पुग्नका लागि सहज हुनेछ । जिल्लाको जैमिनी नगरपलिका–१ कुश्मिशेरामा गत वर्ष १.६ किलोमिटर सडक मात्र कालोपत्रे सडक छ । उक्त १० किलोमिटर सडक कालोपत्रे सम्पन्न भएमा जैमिनी नगरपालिका–१ कुश्मिशेराको सिमाना नजिकै कालोपत्रे सडकको पहुँच पुग्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *