प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

आदर्श अनलाइन
जिल्लाको बागलुङ नगरपालिकामा यस वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । कोरोना संन्त्रासकाबीच जारी बन्दाबन्दीमा सामाजिक दुरी कायम गरी प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको बागलुङ नगरपालिकाले जनाएको छ । बागलुङ नगरकार्यपालिकाको वैशाख १६ को निर्णय अनुसार बागलुङ नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको बागलुङ नगरपालिकाका रोजगार संयोजक सविता शर्माले जानकारी दिनुभयो । कोरोना भाइरसलाई मध्यनजर गरी बाहीरबाट कामदार नल्याई स्थानीयलाईनै रोजगारीमा खटाइएको छ ।

नगपालिकाको वडा नम्बर १, २, ८ र १३ मा कार्यक्रम शुरु भइसकेको र बानपा ६ ले रोजगार कार्यक्रम अन्र्तरगत सिचाई पाईप बिच्छाउने कार्य सम्पन्न भइसकेको र अन्य वडामा समेत छिट्टै शुरु हुने शर्माको भनाई रहेको छ । “बन्दाबन्दीमा रोजगार बिहीन भएकालाई नगरपालिकाले राहत वितरण गर्न भन्दा रोजगार कार्यक्रम अन्र्तगत सामाजिक दुरी कायम गरी काममा लगाउन शुरु गरेका हौं” रोजगार संयोजक शर्माले भन्नुभयो “लकडाउनमा घरमै बसेकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत रोजगारी पाउदा खुसी भएका छन् ।”

हाल रोजगार कार्यक्रम शुरु भएका वडामा १५७ जनाले रोजगारी पाइसकेको शर्माले बताउनुभयो । शर्माका अनुसार नगरभरी यो वर्षमा ५०० भन्दा बढीले रोजगारी पाउने बागलुङ नगरपालिकाले जनाएको छ । नगरपालिकाका १४ वटै वडामा संकलन गरिएको बेरोजगारहरुको सूचीमा दुई हजार ३५० जना सूचिकृत छन् । जसमध्ये अति विपन्न तथा परिवारनै बेरोजगार भएकालाई प्राथमिकतामा राखिएको छ ।

रोजगार कार्यक्रम अन्र्तगत नगरपालिकाको १ मा ३४, २ मा २१, ६ मा ७७ र ८ नम्बर वडामा २५ जनाले रोजगारी पाएका हुन् । बन्दाबन्दीमा समेत रोजागरी पाउदा कामदारहरु हर्षित भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बागलुङ नगरपालिकालाई प्राप्त रु. ३६ लाख २६ हजारको बजेटबाट ७५ प्रतिशत श्रमिकलाई ज्याला र २५ प्रतिशत निर्माण तथा मजदुर सुरक्षा सामाग्री खरिद गरिनेछ ।

नगरपालिकाले सडक मर्मत, सिचाई तथा पदमार्गलाई प्राथमिकतामा राखेर रोजगारी प्रदान गरिरहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “हामीले काम देखाउने गरी रोजगारीमा खटाएका छौं” प्रमुख पौडेलले भन्नुभयो “प्रधानमन्त्री रोजगार कार्यक्रमले थोरै भएपनि बेरोजगारीलाई रोजगार दिदै, विकासले गतिलिएको छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *