–कमल पौडेल
यो मनले दर्जनौ पटक सोचेको छ । मन भतभति पोल्दै आफ्नै छाती पटक पटक चिथोरिएको छ । म के का लागि ? मेरो अस्तित्व के हो ? जिवन केवल बाँच्नु मात्रै हो ? परिवार पाल्नु, कमाउनु, रमाउनु यत्ती हो जिवन ? समाजमा भैरहेको असमानता, को विरुद्ध आगो ओकेल्न के म सक्दिन ? आफ्नै आँखा अगाडि उत्पिडनको ज्वालामा कोहि दन्किरहेको देख्दा आँखा बन्द गरेर सहन्छु भने के म मानव हुँ ? आज त्यहि अस्तित्वले ठोकी रहेको छ ।
मेरो घर भित्र आमा, दिदिबहिनी, भाउजु बुहारी अछुत भएको टुलुटुलु हेरेको छु । मेरो छिमेकी निरन्तर उसैको श्रममा मेरो घर चलेको छ, उहि नै आँगनको डिलमा बसेर खाएको टुलुटुलु हेरेर बसेको छु । मैले समताको पाठ पढाउने मेरो विद्यार्थी/चेला मेरै अगाडि अछुत भएर बाँचेको टुलुटुलु हेरेर बसेको छु । मैले मान्ने भगवान् बनाउने कालिगढ त्यहि भगवान ढोग्न नपाएको टुलुटुलु हेरेर बसेको छु । संगै रेडियोमा काम गर्ने अरुले अछुत भन्ने जोडि आफैमा जात नमिलेको भनेर जर्बजस्ती छुटाएको टुलुटुलु हेरेर बसेको छु । अनि कथित उच्च जातको सर्वश्रेष्ठ प्राणी ? आखिर म के का लागि ? के यो अवस्था मरितुल्य होइन र ?
मान्छे मान्छेको विभेदमा बोल्न नसक्ने, अन्याय र अत्याचार विरुद्ध विगुल फुक्न नसक्ने जिवनको के अर्थ ? समाज पढेको विद्यार्थी प्रारम्भिक, सामन्ति, पूँजिवादी हुँदै आधुनिक समाजमा हामी दौडिरहेछौं, कितावमा कि सामाजिक धरातलमा ? पूँजीवादी र आधुनिक समाजमा पनि सामन्ती अवशेषहरु जिवित रहनु कसको दोष ? के म यस्ता यथार्थ धरातल बुझ्न सक्दिन ? के बुझेर पनि बुझ पचाइ रहेको छु ?
सामाजिक सञ्जालमा पढे/देखे/हेरेको छु । विभेदको विरुद्ध स्टाटस राख्दा प्रतिक्रिया आउने छैन । तर यत्तिकै सञ्जाल धमिलो बनायो भने निकै प्रतिक्रिया आउने गर्दछन् । मेरो समाज कता जाँदैछ ? जातिय, वर्गिय उत्पिडन अन्त्य गर्ने नाममा तयार संरचना व्यक्तिगत स्वार्थ सिद्ध गर्न उद्धत छन् भन्नु के नाजायज हो ? छातिमा हात राखेर, भूमिको १ मुठि माटो उठाएर कसम खान को तयार छ ? विभेद हटाउने अभियानमा विगुल फुक्न माथि उठाएका जति प्रश्न, समस्या छन् । यी सवै सामाजिक साँस्कृतिक प्रचलन र अर्थ व्यवस्थासँग जोडिएका विषय हुन् । जस सम्म आर्थिक प्रणालीसँगै साँस्कृतिक क्रान्ति हुँदैन र उपरि संरचनामा परिवर्तन आउँदैन, तब सम्म विभेद निरन्तर रहन्छ । अहिले पनि उपरि संरचनाको दलदलमा समाज फसिरहेको छ । अन्धविश्वासी चेत हराएर बैज्ञानिक उन्नत चेत नभए सम्म उपरिसंरचनामा परिवर्तन आउने छैन । जातिय, वर्गिय उत्पिडनको मुद्धा, कुनै जात, धर्म वा वर्ग को चेतनाले मात्रै अन्त्य गर्न सक्दैन । कसैका विरुद्ध कसैलाई तयार गरेर समतामुलक समाज निर्माण गर्ने अभियान बलियो होइन थप कमजोर बन्छ । जसरी लैंगिक विभेद अन्त्य गर्न, महिला माथिको शोषण अन्त्य गर्न पुरुषहरुले अगुवाई गर्ने हो भने सम्भव छ तर महिलाको मात्रै कुरा हो भन्यो भने त्यो सहजै सम्भव छैन । यसैगरि जातिय विभेद विरुद्धको विगुल ब्राह्मण, क्षेत्री समुदायबाटै सुरु गरिनुपर्छ, राज्यका श्रोत, संरचनामा जसको हालिमुहाली बढी छ, उसैले विभेद विरुद्धको अभियान उचाल्न सक्छ तर ऊ मुकदर्शक बन्ने र उत्पिडनमा परेकाहरुको मात्रै ठेक्का भन्यो भने फेरी पनि समतामुलक समाजको नारा र आन्दोलन विचमै तुहिन्छ ।
त्यसैले समस्याको जड वर्गिय र जातिय चेतना नै हो । कितावी ज्ञान हासिल गर्ने विद्धानमा मानविय मुल्य र चेतनाकै अभाव हो । त्यसैले कुनै जाति विशेषका विरुद्ध अर्को कुनै जाति विशेष हुनै सक्दैन । सामाजिक सद्भाव कायम गर्दै सामाजिक चेतना र जागरणबाट मात्रै विभेद अन्त्य गर्न सकिन्छ । तर चेतना जरुर छ, समाजमा सबै नागरिकको चेतनास्तर समान हुन सक्दैन । समाजको अगुवाई गर्नेहरुको मात्रै चेतना बलियो हुने हो भने समस्या समाधान हुन सक्छ । अहिले पनि तागाधारी हुन् या मतवाली वा अन्य जाति । ती जाति भित्रै विभेद छ, समाज माथि देखि तलसम्म लम्बिय रुपमा विभिन्न श्रेणीमा विभक्त छ, त्यसको अचुक औषधि भनेको चेतना स्तर र त्यसको व्यहारिक परिवर्तिन रुप नै हो । अहिले पनि त्यो उन्नत चेतना स्तर सामाजिक अगुवाइ गर्नेहरु संग नै छैन ।
युग वदलिएको छ, व्यवस्था बदलिएको छ तर सामाजिक संरचनाहरुमा परिवर्तन भएको छैन । साँस्कृतिक क्रान्तिमा विचलन आएको छ । यहि विचलनलाई आधार बनाएर, बर्तमानमा भैरहेको विभेदलाई सिढि बनाएर आज पनि कोहि भ¥याङ चढ्दैछ । आम नागरिक त्यसैमा ताली पिट्न विवश छ । त्यसैले कसैका विरुद्ध कोहि भएर होइन, जातिय उत्पिडन सामाजिक कलंक हो । यो कसैको मात्रै शत्रु होइन, एक चोटि छातिमा हात राखेर उत्पिडित वर्गको प्रतिनिधित्व गरेर सामाजिक रुपान्तरणमा योगदान गरौं । आम युवा नयाँ जोश र हिम्मतका साथ सामाजिक विभेदको अन्त्य गर्ने र त्यसको अगुवाई गर्ने उन्नत चेतना सहित शंखघोष गरौं । समतामुलक समाज निर्माणमा अग्रसर होऔ ।