यस्तो छ बागलुङ नगर खानेपानीको विवाद

कोषाध्यक्षको ८ महिना अघि राजिनामा -उपाध्यक्ष पनि बिरोधमा उत्रिए

सिर्जना पन्त, बागलुङ

बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था पछिल्लो समय फेरी विवादित बनेको छ ।

यद्यपी यो लामो समयदेखि सानातिना विवादबाट मुक्त पनि थिएन । संस्थाको कोषाध्यक्ष रामप्रसाद शर्माले दोस्रो पटक राजिनामा दिएको ८ महिना वित्यो । २०७६ असोज २ गते शर्माले दिएको राजिनामा हालसम्म स्विकृत भने गरिएको छैन । नगर खानेपानीमा आर्थिक अनियमितता हुने गरेको र आफुले चाहेर पनि त्यससलाई रोक्न नसके पछि राजिनामा दिनुपरेको शर्मा बताउनुहुन्छ । कर्मचारी र कार्यसमितिले जहाँ–जहाँ हस्ताक्षर गर्न भन्यो त्यही गरे मात्र राम्रो हुने, आफ्नो पद र जिम्मेवारी अनुसारको काम गर्ने बातावरण संस्थामा नभएको उहाँको भनाई छ । आफुले कैलाम पोखरी लिफ्टिङ खानेपानी आयोजनाको मेसिनरी वाल गुणस्तरहिन भएको भन्दै भुक्तानी दिन अस्विकार गरेको र नगर खानेपानीकै कर्मचारी र पदाधिकारीले भुक्तानी दिनको लागि तिव्र दबाब दिए पछि गलत काममा साथ नदिने अठोट लिएर राजिनामा दिएको शर्माको कथन छ । नगर खानेपानीले ५० प्रतिशत पनि काम नसकिएका आयोजनामा पूर्ण भुक्तानी दिन दबाव दिने, गुणस्तरहिन कामको पनि भुक्तानी गर्ने गरेको उहाँको आरोप छ । नगर खानेपानीलाई सुधार गर्नको लागि शुरुवातको बर्षमा राजश्वको रेकर्ड राख्ने देखि फाटबारी समेत बनाएर लेखापालले गर्नुपर्ने काम समेत आफैले गरेको उहाँको भनाई छ । उपभोक्ताबाट पैसा उठाएर ३ दिन अतिरित्त काम गरे १५ दिनको भक्ता बुझ्ने गरेको शर्मा बताउनुहुन्छ ।

नगर खानेपानी उपभोक्ता संस्थाका उपाध्यक्ष निरज शाक्ले जेठ ८ गते सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष हरिप्रसाद श्रेष्ठलाई सम्बोधन गरेको पत्र सहित केरिएका केही चेकपोष्ट सार्वजनिक गरेरै संस्थाको खिलाममा उत्रिनु भयो । ‘कठपुतली नगर खानेपानीका अध्यक्ष हरिप्रसाद प्रति उपाध्यक्षको आरोप पत्र’ नामको चिठीमा कार्यालयको सवारी साधनको दुरुपयोग गरि ठुलो मात्रामा इन्धनको रकम भुक्तानी गरिएको देखि विभिन्न परियोजनामा ठुलो रुपमा आर्थिक हिनामिना भएको उल्लेख थियो । भ्रमण खर्च भनेर उल्लेख गरिएको ४९ हजार ५ सय ५० र इन्धन खर्च भनेर लेखिएको ५२ हजार ५ सय ७८ रुपैयाँ बराबरको चेक सहित अन्य २ वटा चेक नचल्ने बनाएर केरेर फेसबुकमा उपाध्यक्ष शाक्यले सार्वजनिक गर्नुभएको थियो । शाक्यले संस्था भित्रको मनपरी बिरुद्ध आँफुले संस्थागत र उपभोक्ताको हितका लागि आवाज उठाएको बताउनुभयो । ‘छिमेकी जिल्ला म्याग्दी, पर्वत, पोखराहरुमा खानेपानी संस्थाले अहिलेको कोरोना संकटमा धमाधम उपभोक्तालाई २० देखि ३०/४० प्रतिशत महुशुल शुल्क छुटको घोषणा गरेका छन्,’ उपाध्यक्ष शाक्यले भन्नुभयो, ‘हाम्रोमा यस्ता बिषयमा छलफल गर्नुप¥यो, बैठक राख्नुप¥यो भनेर अध्यक्षलाई पटक पटक भन्दा पनि बेवास्ता गरियो, यी र यस्ता बिषयमा मेरो विरोध हो ।’ संस्था भित्रको समस्या आन्तरिक रुपमै समाधान गर्न लामो समयदेखि प्रयास गरिए पनि नभएकाले आँफुले अन्य विकल्प अपनाएर उपभोक्तालाई यथार्थ अवस्था जानकारी गराउन थालेको बताउनुभयो ।

२०७५ चैत्र २३ गते साधारणसभा भए पश्चात संस्थाको हालसम्म साधारणसभा हुन सकेको छैन । गत असोज महिनामै हुनुपर्ने साधरणसभा संस्थामा भएको आर्थिक हिनामिनाको कारणले हुन नसकेको अधिकारकर्मी राम शर्मा बताउनुहुन्छ । असोजमै साधारणसभा हुनुपर्ने भएपनि हालसम्म संस्थाको अडिट समेत नभएकाले नगर खानेपानीको हिसाब किताब कस्तो होला भनेर स्वभाविक प्रश्न उठेको उहाँको भनाई छ ।

तर, नगर खानेपानी उपभोक्ता संस्थाले भने केहि आन्तरिक समस्या भए पनि ठुलो समस्या संस्थामा नभएको जिकिर गर्छ । संस्थाका प्रबन्धक हिमाल शर्माले उपाध्यक्षको तर्फबाट देखिएका समस्या केहि दिनमै समाधान हुने बताउनुभयो । घरभाडा, प्रशासनिक खर्च र पछिल्लो ६ महिनादेखि यताको इन्धन खर्चको विषयमा उपाध्यक्षले आवेगमा आएर निर्णय गरेको शर्माको दावी छ । कोषाध्यक्ष रामप्रसाद शर्माले सस्थामा रहुञ्जेल संस्थाको हितमा काम गरेको र अब १ वर्ष मात्र कार्यसमितिको सेवा अवधी रहेकाले राजिनामा स्विकृत नगरिएको उहाँले बताउनुभयो । अझै पनि कोषाध्यक्ष शर्मा संस्थामा र्फकिने आफुहरुको अपेक्षा रहेको प्रबन्धक शर्माको भनाई छ ।

साधारण सभाको लागि गणपुरक संख्यामा समस्या भएकाले विधान संशोधनको लागि उपसमिति गठन गरिएको छ । कोरोना भाइरस (कोभिड १९) का कारणले बैठक समेत बस्न नसकेकाले विधान संशोधन उपसमितिको काम अघि नबढेको र कोरोनाको जोखिम टरे सँगै साधारणसभाको तयारीमा लाग्ने उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

यस्तो छ बागलुङ नगर खानेपानीको विवाद

  1. खानेपानी आयोजना जनस्वास्थ्यसंग सम्बन्धित संवेदनशील सेवा भएकोले यसको स्वच्छता र सुसंचालनमा सबैले योगदान गर्नुपर्छ । यसमा विवाद र अन्योल हुनुहुदैन भन्ने लाग्छ ; सबै शुभचिन्तकहरुलाई , आगे जिम्मेवारवाला र सरोकारवालाको मर्जी ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *