सरोजराज पन्त
विश्व आज कोरोना भाइरसबाट विक्षिप्त अवस्थामा लडिरहेको छ । आज विश्वको जनजीवनसँगै अर्थतन्त्र तहस नहस बनेको छ । लाखौँ मानिसको ज्यान लिने गरी आएको कोरोनाका कारण नेपालमा पनि लामो समयदेखि लकडाउनमा भोग्नु परेको छ । कोरोनाको कारण जनजीवन कष्टकर बन्दै गएको छ । लकडाउनले गर्दा देशको अर्थतन्त्र मात्र होइन, यसले देशको समग्र प्रणालीमा आघात पु¥याएको छ भने सयौँ नेपालीहरु कोरोना सक्रमित भएका र स्वदेश र विदेशमा गरी १२० जना नेपालीको अमूल्य जीवन यसले समाप्त पारेको छ । यो कोरोनाले गर्दा शिक्षा क्षेत्रमा पनि ठूलो आघात पु¥याएको छ । कयौँ विश्व विद्यालय, विद्यालय स्तरका परीक्षा रोकिएका छन् भने भोलिका राष्ट्रका खम्बा अहिले घरमै थुनिएर तनावमा दिनचर्या बिताइ रहेका छन् । दिनहुँ स्कूल जाने कलिला बालबालिकाहरु घरमा थुनिएर बस्नु पर्दा मनोवैज्ञानिक असरमा जीउन विवश छन् । यस्तो विषम परिस्थितिमा अबको शिक्षा पद्दतिमा के कस्तो परिवर्तन गर्नुपर्ला भन्ने बहस सुरु भए पनि यसले सार्थक स्वरुप धारण गर्न सकेको छैन । बहसको क्रममा रहेको नयाँ शैक्षिक संरचनामा अब आमुल परिवर्तनको खाँचो रहेको कुरा यसले प्रष्ट देखाएको छ । विगतको समयलाई हेर्दा यस बेला सम्म बालबालिकाको विद्यालय गएर पूणर् रुपमा नियमित कक्षाहरु सञ्चालन भइरहने समय हो । अहिले घरमा बस्दा पढ्न पर्दछ भन्ने कुरा भुलिसकेका छन् भन्ने गुनासो अभिभावकको रहदै आएको छ । यस सन्र्दभमा अबको उत्तम विकल्प के होला त भन्ने विषयमा गम्भीर बहस मात्र नगरी शिक्षाको वर्तमान संरचनामा परिवर्तन गर्नुपर्ने तड्कारो अवस्था सृजना भएको छ ।
हप्ताको १ दिन शनिबार र अन्य दिन १६-१८ घण्टा घरमा छोरा छोरी रहँदासम्म हैरान बनाउने गरेको दुखेसो गर्ने अभिभावक अहिले बालबालिकाको हेरचाह, पठनपाठन र अन्य घरायसी तनावमा रहेकाले कहिले सहज अवस्था होला र छोराछोरीलाई विद्यालय पठाउन पाइएला भन्ने पखाईमा हुनुहुन्छ । यस परिस्थितिमा आर्थिक अभावका कारण के खाऊ, कसरी दैनिकी चलाऊ, र कसरी बाँचु भन्ने समयमा घरमा बसेका नानीबाबुलाई व्याहारिक शिक्षा दिनु थप चुनौति पूणर् बनेको छ ।
आज कतिपय विश्वविद्यालय, विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेको पाइन्छ । यद्यपि यस्ता कक्षाहरु सबैको पहुँच भित्र नरहेको, नेपालको भूगोल र संरचना अनुरुप नभएको र नेपालीहरुको आर्थिक क्षमता स्रोत साधनको पहुँच भित्र नरहेको भन्ने गुनासो पनि बढ्दै गएको छ । अर्कोतिर सरकारी तर्फबाट यस समयमा प्रयोग गर्ने गरी शैक्षिक सामग्रीको उत्पादन र वितरण गरेको भएपनि ती स्रोत साधन शिक्षक विना विद्यार्थी मैत्री र स्वअध्ययन गर्न सहज हुने देखिदैनन् । अर्कोतिर केही विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षाको कारण इन्टरनेटको पहुँचमा रहेका बालबालिका दिनमा २-४ घण्टा भए पनि पठनपाठन गर्नु पर्दछ भन्ने सोचमा रहेको भएता पनि अन्य विद्यार्थीहरु जो गाँउघरमा रहेका छन् र ल्यापटप, मोबाइल (कक्षा लिनु मिल्ने) को अभावसँगै महङ्गो इन्टरनेट र यसको कम पहुँचले तिनीहरु यो सुविधाबाट वञ्चित छन् । यसले गर्दा शिक्षामा वर्गीय विभेदको अन्त्य कहिले नहुने दुखेसो पनि बढ्दै आएको छ । यो पनि वर्तमान शिक्षाको विकल्प सहज रुपमा बन्ने आधार देखिदैन । यसैगरी घरमा टिभी, मोबाइल, ल्यापटप लगाएतका सुविधा पाए पछि बालबालिकामा अहिले जति बेला पनि मैले पढ्नु छ । यी सामग्रीलाई चाहिरहन्छ भनेर झुटो रुपमा प्रयोग गर्ने गरेको पाइन्छ जसबाट गम्भीर खालका समस्या थपिने देखिन्छ ।
कोभिड-१९ को महासंकटमा सरकारले ल्याइएको नीति तथा कार्यक्रम कोभिडसँग जुध्ने र यसको क्षतिलाई न्यूनीकरण गर्ने विषयमा केन्द्रित हुने अपेक्षा गरिए पनि नीति तथा कार्यक्रमको बुँदा ६२ देखि ७८ सम्म शिक्षा केन्द्रित कार्यक्रममा कोभिड-१९ का कारण विद्यालय तथा उच्च शिक्षामा परेको संकटलाई एक शब्दमा पनि किन सम्बोधन गरिएन ? यो गभ्भीर बिषय बनेको छ । यसैगरी शैक्षिक विकास कार्यक्रमको योजना तर्जुमा गरी कार्यान्वयन गर्न, राष्ट्रिय नीति र कार्यक्रमहरु सञ्चालन गर्न शिक्षा क्षेत्रलाई निर्देश गर्ने गरी प्रभावकारी नीति तथा कार्यक्रम शिक्षा मन्त्रालयले ल्याएको छैन । उच्च शिक्षा तर्फ विश्वविद्यालयले आंगिक क्याम्पस चलाउन नसकी सम्बन्धन बिक्री गरेर खर्च चलाउनुपर्ने समयमा महत्वाकांक्षी शैक्षिक कार्यक्रम घोषणा गरि विश्वविद्यालयको संख्या बढी हुँदाहुँदै पनि तीन वटा विश्वविद्यालय थप्ने घोषणा गरिएको छ । हाल नेपालमा ११ वटा विश्व विद्यालयहरू स्थापना भइसकेका छन् जसमध्ये त्रिभुवन विश्व विद्यालय, नेपाल संस्कृत विश्व विद्यालय, काठमाडौँ विश्व विद्यालय, पूर्वाञ्चल विश्व विद्यालय, पोखरा विश्व विद्यालय, लुम्बिनी बौध विद्यालयहरूले शैक्षिक कार्यव्रmमहरू सञ्चालन गरिसकेका छन् भने कृषि तथा पशुविज्ञान विश्व विद्यालय, सुदूर पश्चिमाञ्चल विश्व विद्यालय र मध्य पश्चिमाञ्चल विश्व विद्यालयले भर्खरै आफ्ना शैक्षिक कार्य सञ्चालन गरेका छन् । त्यसै गरी मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू स्थापना भएका छन् । विद्यावारिधिका कार्यव्रmमहरु सञ्चालन भइरहेका छन् । तर पनि अहिले पढेका र नपढेका मानिस बीचको फरक छुट्याउने कसी के त जागिर, जग्गा जमिन, क्षमता, दक्षता, गुण ? यो एक ठूलो समस्या बनेको छ । शिक्षा बजेट तर्फ पहिले १७ प्रतिशत पुगेकोमा चालू आर्थिक वर्षमा भने १०.६८ प्रतिशतमा सीमित पारिएको छ ।
नयाँ शैक्षिक सत्रमा भर्ना तथा पठनपाठन सुरु हुने दिन लकडाउन खुकुलो भएपछि वा अन्त्य भएपछि पनि विद्यालयहरू तत्काल सुचारु हुन कठिन छ । केही विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेका भएपनि यो माहामारीमा विद्यालय र बालबालिकालाई कसरी व्यस्त राख्ने तयारी छैन । देशभरिका विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म ८२ लाख ५८ हजार ७८३ बालबालिकाहरु र उच्च शिक्षामा करिब सात लाख विद्यार्थीहरु अध्ययनरत छन् । यसबाट विद्यालय र उच्च शिक्षामा झन्डै ९० लाख विद्यार्थी र ३४ हजारभन्दा बढी विद्यालयहरु गम्भीर रूपमा प्रभावित छन् । एसइई, कक्षा १२ र विश्व विद्यालय तहका स्थगित परीक्षा र नतिजा प्रकाशन अनिश्चित छन् । यसरी करिब ९० लाख विद्यार्थीलाई अनिश्चितकालसम्म सिकाइ क्रियाकलापमा सरिक नगराई बेवारिसे छाडिएमा, लामो समय विद्यालय बन्द राखेमा धनी र गरिब बालबालिकाबीचको खाडल थप गहिरिने मात्र नभइ मनोसामाजिक संकटसँगै सामाजिक अपराध बढनगई समाज र राष्ट्रलाई ठूलो क्षति हुनेछ ।
नेपाली समाज जसरी अनेकतामा छिरलिएको छ यस्तै अध्ययन र कामका विषयमा पनि विभिन्न मतान्तर देखिन्छ । पढेकाले खेतीपाती, पशुपालन र घरपरिवारको काम गर्न नचाहने प्रवृतिले पनि शिक्षित बेरोजगारको संख्या नेपालमा बढ्दै गएको छ । नेपालमा शिक्षित बेरोजगार समस्या बढ्दै जानुका प्रमुख कारणहरुमा प्रमुख त व्यावसायीक शिक्षाको अभाव नै रहेको छ । यसैगरी शिक्षामा ज्ञान तहलाई प्राथमिकता दिनु तर सीप र क्षमता अभिवृद्धि, सक्षमता तर्फ कम ध्यान जानु, परनिर्भता बढ्नु, स्वदेशमा प्रशस्त उद्योग धन्दा, कलकारखाना नहुनु, कृषि क्षेत्रमा क्षमतावान, पढेका व्यक्ति संलग्न नहुनु र हुनु नखोज्नु कृषिबाट जिविको पार्जन गर्न ग्राहो हुन, शिक्षालाई भन्दा धनलाई बढी प्राथमिकता दिने प्रकृति हावी हुनु, राज्य स्तरबाट रोजगार सृजना गर्न र जनशक्ति व्यवस्थापन गर्ने रणनीति बनाएर सोही अनुरुप कार्यक्रम बनाउने काम नगर्नु, पाठ्यक्रम परम्परागत ढंगको हुनु, युगीन माग र आवश्यकता अनुरुप शिक्षालाई व्यवस्थित गर्न नसक्नु, दातृ निकाय केन्द्रीत शिक्षा नीति बनाइनु, माग केन्द्रीत, आवश्यक केन्द्रीत शिक्षा तर्फ सरोकार निकाय मौन हुनु, विधि प्रक्रियागत त्रुटीहरु बढ्दै जानु जस्ता समस्याहरुका कारण आज विद्यालय कलेजको शिक्षा कसैका लागि कमाइ खाने भाँडो बनेको छ भने सर्वसाधारण जनताका लागि बोझिलो, क्रृणको पोको र वेरोजगार उत्पादन गर्ने उद्योग जस्तो बन्न पुगेको छ ।
बिगतमा पाठ्यक्रम अनुरुप कक्षा कोठामा सो अनुसारको शिक्षण सिकाई कार्य हुन नसक्नु । जीवन उपयोगी शिक्षाको लागि सोही अनुरुपको पाठ्यक्रम नहुनु । कक्षा कोठामा परम्परागत व्याख्यान विधिबाट शिक्षण सिकाई हुनु । अध्ययनका आधारभुत सिकाइहरु जस्तै सामाजिकीकरण, समस्या समाधान, सिर्जनात्मकता, समालोचनात्मक सोचाई, प्रभावकारी सञ्चार, सहकार्य लगायतका जिवनोपयोगीसीप र सामाजिक व्यवहार विकास हुने खालका क्रियाकलापमा संलग्न गराउन नसक्नु । विषय शिक्षणको लागि विश्वविद्यालय स्तरमा प्रयाप्त योग्य जनशक्ति नहुनु । शिक्षकले तालिममा सिकेका सिपको प्रयोग कक्षामा नगर्नु । कक्षामा विद्यार्थीले सोध्ने, छलफल गर्ने, सहकार्य गर्ने, सिर्जना गर्ने, सामाजिक व्यवहार गर्ने अवसर प्राप्त नगर्नु सबै स्थानमा समान ढंगले हुन नसक्नु । समाजमा सामाजिक चालचलन र मर्यादा पालना गर्ने कार्य क्रमशः लोप हुँदै जानु । कक्षामा कितावी ज्ञान र परिक्षामुखी घोकन्ते विद्यालाई मात्र जोड दिनु । विद्यार्थीको चौतर्फि विकास हुने क्रियाकलापका साथै शिक्षण सिकाईका क्रममा नहुनु । विद्यार्थीको मुल्याङ्कनका निम्ति विद्यार्थीको व्यवहार र पाठ्यक्रमले तोकेको सिकाई उपलब्धि एवं अध्ययनका आधारभुत सिकाइहरु जस्तैः सामाजिकीकरण, समस्या समाधान सिर्जनात्मकता, समालोचनात्मक, सोचाई लगायत विद्यार्थीले सिकेका ज्ञान सीप र धारणाको व्यवहारिक उपयोग जस्ता पक्षको मूल्याङ्कन नगरी लिखित परिक्षाकै भरमा विद्यार्थीको मुल्याङ्कन गर्नु आदिका कारण बल, विवेक, आकाङ्क्षा, गतिशिलता जस्ता विशेषता बोकेका युवा शक्ति राज्यको सही शिक्षा नीति र योजनाको अभावमा आज लाखौं युवाहरु वेरोजगारको कारण विदेशिनु परेको छ । त्यसैले अहिले युवाहरु असन्तुष्टि, उदासिनता, अविश्वास र आवेगमा जीवन विताइरहेका छन् ।
यो विश्वव्यापी समस्यासँग जुध्दै जसरी भए पनि विद्यार्थीलाई सीप सिकाउन र शैक्षिक क्रियाकलापमा फर्काउन ढिलो गर्नुहुँदैन । यसैले अब सूचना तथा सञ्चार प्रविधि, विभिन्न खेल एंव्म मनोरञ्जनसँगै सामाजिक दूरी कायम राखेर उपलब्ध वैकल्पिक माध्यमबाट देशभरिका बालबालिकालाई सकभर अनलाइन, नसके अफलाइन, दूरशिक्षा, घुम्ती कक्षा, खुला विद्यालयलगायतका सिकाइका वैकल्पिक माध्यमबाट पठनपाठनमा लगाउन सकिन्छ । अतः जसरी भएपनि विद्यार्थीलाई सीप सिकाउन र शैक्षिक क्रियाकलापमा फर्काउन ढिलो गर्नु हुँदैन । त्यसैले अब गर्नुपर्ने केही प्रयासलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
आज कतिपय सहरमा पढेर बसेका बालबालिका आआफ्ना अभिभावकसँग गाउँ फर्किएका छन् भने कैयौँ सहरको बन्दकोठामा उकुसमुकुस भइ बसेका छन् यसबाट उनीहरुमा मनोवैज्ञानिक असर परेको छ भने भोलिको गन्तव्य के हुने भन्ने अन्योल रहेको छ । यस्तो परिस्थितिमा अबको सिकाइको पहिलो चरण घरबाटै सुरु हुनु पर्दछ व्यवहारिक सीप उनीहरुलाई प्रदान गरिनु पर्दछ । भनिन्छ बालबालिकाको पहिलो विद्यालय घर हो अतः घरबाटै व्यवहारिक र सीप मुलक शिक्षाको परिपूर्ति गर्नुपर्ने देखिन्छ । यसमा खाना बनाउने, सरसफाई गर्न, भान्छा करेसा बारी बनाउने, फलफूल लगाउने, गोडमेल गर्न, सामाजिक सम्बन्ध, इष्टमित्र, नातागोता, पारिवारिक सम्बन्ध स्थापित गर्न, दुःखमा रोइ लाग्ने र सुखमा खाइलाग्ने आपसी एकताबाट समस्या समाधानगर्न सीपअब घरबाटै प्रारम्भ गर्नुपर्ने देखिन्छ । यसैगरी विद्यालय स्तरबाट पनि आपसी समन्वय, दोहोरो सञ्चार कायम गरी आफ्ना विद्यार्थीहरुको स्वास्थ्यसँगै उनीहरुलाई सीप प्रदानगर्न किसिमका अनलाइन कक्षा सम्भव भएसम्म सञ्चालनगर्न र उनीहरुलाई जीवन उपयोगी बहुप्रतिभाशाली कार्यक्रमहरुमा अनलाइनमार्फत सहभागी गराएर सिकाउने गर्नु पर्दछ जसमा निशिचत समय सीमादिएर चित्र, नाचगान, कविता, निबन्ध लेखन, पत्र, वादविवाद कार्य, करेसाबारीको काम, स्वास्थ्य रहने तरिका, पारिवारिक सरसहयोग, विपत व्यवस्थापन गर्ने सीप, तरिका, सामाजिक सम्बन्ध, देश विदेशका घटनाक्रम सम्बन्धि हाजिरी जवाफ, हस्तकला सम्बन्धि सीपलगायतका कार्यहरु गरेर उनीहरुको समय व्यवस्थापनगर्न र चौतर्फी क्षमता अभिवृद्धि गर्न तर्फ विशेष ध्यानदिनु पर्ने देखिन्छ । आज बालबालिकाको सृजनाशतिm वृद्धि गराउनुका साथै अभिव्यतिmकला, अभिनयकला, सृजनात्मककला, हस्तलेखन कलासँगै सामाजिकीकरण सम्बन्धिकला घर र विद्यालयको तर्फबाट प्रदानगर्न सकेको खण्डमा पाठ्यक्रम र पाठ्यपुस्तक सम्बन्धि ज्ञान कोरोना संक्रमणपछि सहज अवस्था आएपछि दैनिक कक्षा सञ्चालनगर्दा पनि ढिला हुने छैन । आजको यो समस्या समाधानगर्न व्यायाम, दैनिक सरसफाई, घरेलु जडिबुटीको उत्पादन प्रयोग, व्यवस्थापनआदिको साथसाथै यी सँग सम्बन्धित उत्प्रेरक भिडियो देखाएर, सुनाएर समेत बालबालिकालाई उत्प्रेरित गर्न आवश्यक छ ।
दोस्रो चरणसर्वप्रथम घरबाटै अभिभावकले व्यवहारिक ज्ञान, सीपप्रदानगर्न, विद्यालयले आफ्ना विद्यालयको विद्यार्थी संख्या विद्यार्थीको बसोबास क्षेत्र, उनीहरुको अभिभावकको सम्पर्क, र अन्यव्यतिmगत विवरण लिने र दोहोरो सञ्चार कायमगर्ने र सोही स्थानमा बसोबास गर्न शिक्षकको सहायताबाट साप्ताहिक गहृकार्य दिने लिने र सामाजिक दुरी कायम गरी कार्य सम्पादनगर्न व्यवस्था मिलाउने यदि सबै विद्यार्थीहरुको इन्टरनेट पहुँच, मोवाइल, ल्यापटप आदि स्रोत साधन भएमा अनलाइनकक्षा सञ्चालनगर्ने र साप्ताहिक रुपमा माथि उल्लेखित व्यवहारिक क्षमतामापन गर्दै जाने र अभिभावकको सहायताबाट मुल्याङ्कनगर्दै जाने गरेको खण्डमा बालबालिकाले अभिभावकलाई समेत थप सम्मानगर्ने, अटेर नबन्ने देखिन्छ । यसैगरी यस्तो विषम परिस्थितिमा पाठ्यपुस्तकका सफ्टकपि र हार्डकपि जे जतिअनुकूल हुन्छ ती सबै आफ्ना भेग क्षेत्रका विद्यार्थीलाई मानवीय र सामाजिक सम्बन्धको आधारमा सहयोग पु¥याउन सकेको खण्डमा यो कोरोनाको संकटमा अन्योलमा पुगेका विद्यार्थी र अभिभावकको मनोभावना र मनोवल बढ्ने छ ।
तेस्रो चरणमा संरचनामा वृद्धि गर्नु भन्दा एक विद्यार्थी एक ल्यापटप कार्यक्रम, अनलाइन कक्षा व्यवस्थापन, निशुल्क इन्टरनेट सुबिधा, स्वमूल्याङ्कन , परम्परागत परीक्षा प्रणालीमा सुधार गर्ने, लिखित परीक्षाको विकल्पमा व्यवहारिक ज्ञान, सीप र क्षमताको आधारमा मूल्याङ्कन गर्ने परीपाटीको विकास गर्ने । कक्षा १२ को परीक्षा पछि १ वर्ष व्यवहारिक सीप, क्षमता र भौगोलिक अध्ययन र सीपअभिवृद्धि गर्न इन्टनसीप गर्नुपर्ने र त्यसपछि मात्र विश्व विद्यालयमा भर्नाहुने व्यवस्था गर्ने । यसका लागि कक्षा ८ सम्म न्यूनतम बहुपेशा सम्बन्धि ऐच्छिक विषय राख्ने र ९ देखि १२ सम्ममा उक्त पेशासँग सम्बन्धि विशिष्ट विषयको अध्ययन/अध्यापन गराउने र कक्षा १२ मा न्यूनतम २०० पूणर्ाङको प्रयोगात्मक क्षेत्र कार्य गर्ने व्यवस्था मिलाउने , त्यो विषयमा १ वर्षभित्र क्षेत्र अध्ययनसँगै प्रतिवेदन तयार गरेर बुझाउने व्यवस्था गर्ने । यसबाट १२ कक्षा उर्तीण छात्र/छात्रले उक्त पेशामा ज्ञान तह, सीप तह र अभिवृत्ति तहमा पुगेर पढेर, परेर वा भोगेर सहज अगाडि बढ्न सक्ने अवस्था सृजना गर्नु पर्दछ । नेपालमा रोजगार सृजना गर्न जनशक्ति व्यवस्थापन, प्रयोग र बहुआयाम हासिल गर्न जनशक्ति व्यवस्थापन बोर्ड गठन गरी जनशक्ति उत्पादनको लागि संख्यात्मक एंव गुणात्मक कार्ययोजना बनाएर बहुपेशामा भन्दा विषयगत दक्षता हासिल गर्ने र सोही अनुसारको रणनीति बनाएर अगाडि बढ्ने नीति लिन आवश्यक छ । वर्तमान समयमा वहुपेशा तर अल्पसीपको कारण विषयगत विज्ञता र क्षेत्रगत विज्ञताको अभाव भएकोले लगानी, प्रक्रिया र प्रतिफलको बीचमा तालमेल नमिलेको पाइन्छ । यसले गर्दा कोही व्यक्तिलाई अवसरको तानातान छ भने अन्यलाई रोजगार तथा अवसरको अभाव देखिन्छ । देशका कृषि, वन, इन्जीनियरिङ्ग, चिकित्सक, नापी, विधुत, कला, शिक्षण, प्राध्यापन, उद्योग धन्दा, व्यवस्थापन, पत्रपत्रिका, स्रोत व्यस्थापन, पर्यटन, कृषि क्षेत्रमा वर्षेनी कति जनशक्ति आवश्यक छ भनी योजना बनाएर संख्या निर्धारण गर्न र सोही अनुसार अध्ययन गर्ने व्यवस्था भएमा यी विभिन्न विषयमा अध्ययन गरेका जनशक्ति वेरोजगार हुने अवस्था क्रमश हट्दै जाने छ । स्वव्यवसायबाट समृद्ध नेपालको परिकल्पना पुरा हुनेछ । यस्तैगरी पढाईप्रतिको वितृष्णा अन्त्य भई युवावर्गको चाप शिक्षा र स्वदेशमा बस्ने अवस्था सृजना हुनेछ ।
देशको भौगोलिक अवस्था र स्रोत, साधन सम्भावना अनुसार कार्ययोजना बनाएर व्यवहारिक शिक्षा दिने कार्य अगाडि बढेको खण्डमा हिमालमा पर्यटन, जडीवुटी, पहाडमा पशुव्यवसाय र खानी, तराईमा कृषि पेशाबाट देशलाई आत्मनिर्भर बनाउन सकिन्छ । विश्वका विकसित राष्ट्रमा १५ प्रतिशत मानिस कृषिमा आश्रित हुँदा देशलाई आवश्यक पर्ने उत्पादन पुगेर अन्य राष्ट्रमा निर्यात गर्न सफल रहेका छन् तर नेपालमा ६४ प्रतिशत मानिस कृषिमा आवद्ध हुँदा औसतमा ६ महिना खान पुग्ने अवस्था छैन । यो अवस्था सृजना हुनुमा पढेकाले थला,े नपढेकाले हलो छोडनु र उपभोक्ता बादी सस्कार बढ्दै जानु हो । नेपालमा प्रचुर मात्रामा प्राकृतिक सम्पदा भए पनि यहाँको मुख्य पेशा कृषि रहेको छ । यस्तो अवस्थामा बैदेशिक रोजगारको रेमिट्यान्सले देश चलेको छ । बेरोजगार मुख्यसमस्या रहे तापनि सरकारले यसको अध्ययन गरी ठोस योजना निमाणर् गर्न सकेको छैन । आज नेपालमा युवाहरु स्वदेशमा बेरोजगार भइ भौतारिरहेका छन् र विदेशिएका छन् । युवाहरुले कमाएको पैसा नेपाल आएपनि फेरि खरिदको लागि अरबौं पैसा पनि पलायन भएको छ । देश विकास र समृद्धिको लागि युवा प्रधान रहेको हुँदा युवा पलायनको विषयवस्तुलाई गहिरो रुपमा अध्ययन, अनुसन्धान गर्नु आजको आवश्यकता बनेको छ । हिमाली क्षेत्रमा धान नफल्ला तर पशुपालन, स्याउ खेती र पर्यटन विकास जरुर हुन्छ । पहाडमा उब्जनी कम होला तर लटरम्म फलफूल खेती, पशुपालन, घरेलु तथा साना उद्योग चलाउन सकिन्छ र पर्यापयटन सम्भव छ । तराई क्षेत्रमा सुन खानी नपाइएला तर सुन रुपि अन्न फलाउन अवश्य सकिन्छ । पहाडी देश स्विजरल्याण्ड, मरुभूमिको देश इजरायल र प्राकृतिक स्रोत साधनले कमि हिजोको जापानबाट हाम्रो देशले विकास र दिगो विकासलाई आत्मसाथ गर्नुपर्दछ । यसका लागि पाखुरीमा वल, आत्म विश्वास, एकताको भावना र स्रोत साधनको पूणर् प्रयोग गर्ने इच्छाशक्ति हुनुपर्दछ । योग्य जनशक्ति उत्पादनमा राज्य सदैव क्रियाशिल रहनु पर्दछ ।
देशका लागि आवश्यक जनशक्तिको उत्पादनमा विद्यालय शिक्षा देखि उच्च शिक्षाको अह्म भूमिका हुन्छ । सरोकारवालाका सकारात्मक शैक्षिक योजना मार्फत सामाजिक रूपान्तरण प्रव्रिmयाका प्रमुख संवाहक भनेका शिक्षक हुन् । शैक्षिक रूपमा योग्य, दक्ष , सिपयुक्त, कुशल शिक्षक भएमा शिक्षण सिकाइ प्रभावकारी हुन्छ । शैक्षिक संस्था र निकायहरूलाई आवश्यक प्राविधिक सहयोग र सवलीकरण गरी शिक्षामा सबैको पहुँच बढाउने, शिक्षाको विकास र विस्तार गर्ने तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने, शैक्षिक संस्थाहरूको क्षमता विकास गर्ने, विद्यालय शिक्षाको उपलब्धिलाई सुनिश्चित गर्ने उद्देश्यले अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई सशक्त बनाउने , सम्बन्धित शैक्षिक संस्था तथा निकायहरूलाई मार्ग निर्देशन गर्ने र विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्य हासिल गर्नका लागि नियामक निकायको भूमिका थप गहन हुनु पर्नै देखिन्छ । यसको लागि सम्बन्धित सरोकारवालाले शिक्षकलाई उत्प्रेरित गर्ने र राज्यले शिक्षाको वैकल्पिक विधिलाई आत्मसाथ गर्दै अपाङ मैत्री, शारीरिक कमजोर रहेका व्यक्तिलाई पनि यी सबै विषय समेटेर नीति कार्यक्रम बनाएर पूणर् रुपमा कार्यान्वयन गर्न ढिला गर्नु हुदैन । समय, अवस्था र विषयगत संवेदनशीलतालाई आत्मसाथ गरी फिल्डवर्क, नेटवर्क र हार्डवर्क गरी समस्या समाधान गर्न अब परिवार, समुदाय, विद्यालय र सबै तहका सरकार सजग बन्नै पर्ने देखिन्छ ।