मृत्यु पछिको कोरोना रिपोर्ट कहिले सम्म ?

सम्पादकीय

कोरोना संक्रमणको भयावह देशमा दैनिक बढ्दो छ । अरु देशहरुमा क्रमशः रोकथाम र नियन्त्रणका बाबजुद नियमित दैनिकीमा फर्कने जर्बजस्त प्रयास शुरु भइरहदा हामीकहाँ भने बल्ल कोरोना संक्रमितको संख्या र जोखिम उस्तै दरमा बढिरहेको छ । शुरुमा विश्व भुगोलकै मानचित्रमा ग्रिन जोनको रुपमा सुरक्षित ठानिएको नेपाल छिमेकी भारतबाट नेपाली नागरिकहरु देश भित्रिने क्रम बढेसँगै संक्रमण दर र जोखिम उल्लेख्य बढेको छ । पछिल्लो समय दैनिक तीन अकंमा संक्रमित संख्या बढेको छ । यो क्रम तत्काल रोकिने संकेत र सम्भावना पनि देखिन्न । किनभने भारतबाट दैनिक सयौंको संख्यामा रोजगार, पेशा व्यवसायको शिलशिलामा पुगेकाहरु फर्किने क्रम जारी छ । यसका साथै नेपाल सरकारले अन्य देशमा गएकाहरुलाई पनि देश भित्राउने तयारी गरेको छ । यसले संक्रमित र जोखिम अझ बढाउने निश्चित छ ।

कोरोना संक्रमणकै कारण अहिले देशमा ज्यान गुमाउनेको संख्या ८ पुग्यो । यो दुखद घटनाका बीच अर्को दुःख लाग्दो बिषय के छ भने मृत्यु भएका अधिकांशको कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट मृत्यु पश्चात आइरहेको छ । यसले एक त कोरोना संक्रमण भएको थाहा नै नपाई मृत्युवरण गर्नुपर्ने अवस्थालाई उजागर गरेको छ भने अर्को तर्फ हाम्रो कोरोना संक्रमणको सचेतता, पूर्ववत परीक्षण, रिपोर्टको वर्तमान कार्य कति चुस्त, व्यवस्थित र कामयावी छ भन्ने गम्भीर प्रश्न र सवाल खडा गरेको छ । यति ठुलो भयावह र महामारीमा १, २ घटना मृत्यु पश्चात रिपोर्ट आउने पनि हुन सक्छन् र हुन्छन् । तर, ९० प्रतिशत घटना र रिपोर्ट मृत्यु पश्चात मात्र आउनाले गम्भीर बिषय र सवाल खडा गरेको छ नै । यसले आइसोलेसनमा बसेका कोरोना संक्रमितदेखि क्वारेन्टिनमा बसेकाहरुलाई पनि झस्काएको छ । अहिले सम्म नेपालमा ठुलो भयावह र दुखद मृत्यु सामना गर्नुपर्ने संख्या ठुलो छैन । तर, विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १ सय २१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत, संयुक्त राज्य अमेरिका, कुवेत, सउदी अरब, बहराइनमा मृत्यु हुनेको संख्या अधिक छ ।

कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राखेर सरकारले लकडाउन त लम्बाइरहेको छ नै । अब लकडाउन लम्ब्याउने कुराले मात्र कोरोना जोखिम रोकिनेवाला छैन । हाम्रो बाह्य देशहरुबाट आउने क्रममा गरिने बिशेष चेकजाँच, निगरानी, सुरक्षित यात्रा, क्वारेन्टिन बसाई बिशेष सुरक्षा सचेतता, कोरोना रोकथाममा महत्वपूर्ण सवाल हुन् । यसका साथै बाहिरबाट आएका, क्वारेन्टिन बसेका र पुष्टि भएका संक्रमितहरुको सम्पर्कमा पुगेकाहरुको परीक्षण दायरा अझै फराकिलो र तिव्र बनाउनु पर्ने देखिएको छ । र कोरोना संक्रमणको जोखिम, संवेदनशिलता र अहिले सम्मका घटनाहरुलाई बिश्लेषण गरेर तिव्र परीक्षणसँग सँगै रिपोर्ट पनि सोही किसिमले आउने व्यवस्था गरिनुपर्छ । कहिले सम्म नेपालीले मृत्यु पछि मात्र कोरोना संक्रमण भएको रिपोर्ट बुझ्ने दुर्दशा बेहोर्नु पर्ने ? सरकार र सम्बन्धित सरोकारवालाले गम्भीरतापूर्वक सोच्नुपर्ने देखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *