पाखाथरमा पम्पिङबाट पानी

आदर्श अनलाइन
बागलुङ

सरदमुकाम छेउ भएर पनि पिउने पानीको सकस । बर्षौदेखिको खानेपानीको समस्याले आजित थिए पाखाथरवासी । धेरै पार्टीले धेरै पटक अनेक आश्वासन दिएर भोट मागे र कैयन पटक दिए पनि । तर, खानेपानीको दैनिकको सास्तीबारे कसैले गम्भिरतापूर्वक कदम चालेनन् ।

पछिल्लो बर्ष बागलुङ नगरपालिकाले एक घर, एक धारा निर्माण अभियान थालेपछि स्थानीयको मुर्छित बन्न थालेको सपना पुनः ब्यँुतियो । बागलुङ नगरपालिका वडा नम्बर ४ तल्लो पाखाथरमा राइला पम्पिङ खानेपानी योजना सञ्चालन गरि अहिले खानेपानी पु¥याइएको छ । लिफ्ट प्रविधिबाट निर्माण गरिएको खानेपानी योजनाको शनिवार बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले उद्घाटन गर्नुभयो । ‘सदरमुकाम, पुरानो नगर भए पनि खानेपानी, सहज सडक सुविधा लगायतका आधारभूत आवश्यकता पनि पुरा नभएको बिडम्बनापूर्ण अवस्थामा हामी थियौ,’ प्रमुख पौडेलले भन्नुभयो, ‘अब नगरका सबै वडामा एक घर, एक धारा र बाह्रैमास सवारी चल्ने सडकलाई प्राथमिकतामा राखेर अघि बढेका छौ । बाँकी कार्यकाल सम्ममा नगरलाई समुन्नत नगरको रुपमा विकास गर्नेछौ ।’

खानेपानी योजनाबाट स्थानीय ४४ घरधुरीका बासिन्दा प्रत्यक्ष लाभान्वित छन् । योजना सम्पन्न भएपछि बषौदेखिको समस्याबाट छुटकारा पाएको स्थानीय हरिनारायण उपाध्यायले बताउनुभयो । आयोजना निर्माणका लागि स्थानीयले प्रति परिवार ४५ दिन सम्म श्रमदान गरेका थिए । स्थानीयले प्रति घर २५ हजार नगद सहित टोल विकास समिति, संस्थागत सदस्यताबाट संकलित रकम र चार लाख बरावरको श्रमदान गरि १० लाख ९ हजार लगानी गरेका छन् भने नगरपालिकाले २० लाख ७३ हजार सहयोग गरेको पाखाथर पम्पिङ खानेपानी आयोजना निर्माण समितिका अध्यक्ष बासुदेव उपाध्यायले बताउनुभयो । उहाँका अनुसार आयोजनामा कुल ३१ लाख ८१ हजार खर्च भएकाले एक लाख भन्दा बढी घाटामा छ । उक्त रकम पुर्तिका लागि नगरपालिकासँग माग गरेको र पालिकाले नदिए स्थानीयले पुनः नगद रकम उठाएर व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको अध्यक्ष उपाध्यायले बताउनुभयो ।

आयोजना निर्माणमा बस्तीदेखि ३ सय मिटर तलको मुललाई संकलन बनाएर लिफ्ट प्रबिधि मार्फत डाँडामा पानी लगिएको छ । उक्त स्थानमा ५० हजार लिटरको अर्को टंयाकी बनाए पछि गाउँभरि पानी बितरण गरिएको छ । अब २४ सै घण्टा स्थानीयले स्वच्छ पानी प्रयोग गर्ने पाउनेछन् ।

खानेपानी आयोजना उद्घाटन कार्यक्रममा बागलुङ नगरपालिका ४ का वडा अध्यक्ष ध्रुव्रबहादुर केसी, समाजसेवी कुमारबिक्रम क्षेत्री, बागलुङ नगरपालिकाका ईञ्जिनियर गौरव शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, उपभोक्ता समितिका हरिनारायण उपाध्याय लगायतले बोल्नुभएको थियो ।

सो अवसरमा खानेपानी योजनाको लागि जग्गा, खानेपानीको मुहान प्रदान गर्ने गंगादेबी सापकोटा लगायतका सहयोगीलाइ सम्मान गरिएको थियो । कार्यक्रम खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बासुदेव उपाध्यायको अध्यक्षता, समितिका देबी शर्माको स्वागत र उपभोक्ता समितिका सदस्य सुशिला केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *