बरेङ गाउँपालिका : अलपत्रको उद्धार, सामाजिक दुरी सहित काम

डम्मर बुढा मगर, बागलुङ
विश्वभर महारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण थुप्रै नेपाली नागरिकहरु विदेशमा अलपत्र परेका छन् ।

उनीहरुको उद्धारका लागि सरकारले निणर्य गरे पनि भारत बाहेक तेस्रो मुलकबाट नागरिक ल्याउने काम हुन सकेको छैन । विभिन्न रोजगारीको सिलसिला तथा पढाईको लागि विदेश पुगेका नागरिकहरुले सरकारलाई उद्धारको लागि चित्कार गरिरहेका छन् ।

बागलुङमा पनि सबै गाउँपालिका तथा नगरपालिकाले आफ्ना नागरिकको उद्धार सहित अन्य कार्यलाई तिव्रका साथ व्यवस्थित गर्न थालेको छ ।

बरेङ गाउँपालिकाले भारतबाट आएका नागरिकहरुको भाडा समेत फिर्ता गरेर आफै व्यवस्थापन गरेको छ । भारतबाट उद्धार गरेर क्वारेन्टिनमा राखेका सबै नागरिकलाई गाउँपालिकाले प्रत्येक वडाका नागरिकलाई वडा सचिव मार्फत भाडा दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो । थापाले अझै पनि भारतबाट आउने क्रम जारी रहेको भन्दै उनीहरु सबैलाई वडा मार्फत १३ सयका दरले भाडा दिने बताउनुभयो ।

‘उनीहरु भारतमा अलपत्र परेका थिए, उद्धार गर्नु हाम्रो दायित्व हो, साह्रै दुख र सकसका बीच उनीहरु गाउँ आइपुगेका छन्,’ उहाँले भन्नुभयो ‘उनीहरु सबैलाई गाउँपालिकाले राहत स्वरुप भाडा दिने निणर्य गरेका छौँ ।’

थापाले हाल ५९ जना गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा रहेको भन्दै अझै थपिने बताउनुभयो । उनीहरुलाई व्यवस्थित रुपमा क्वारेन्टाइन्मा राखेको बताउनुभयो ।

टोल-टोलमा क्वारेन्टिन
गाउँपालिकाले विदेशबाट आएका तथा कोराना संक्रमितको सम्पर्कमा आएका नागरिकलाई राख्नको लागि प्रत्येक वडाका टोल-टोलमा क्वारेन्टिन निर्माण गरेको छ ।

गाउँपालिकामा विदेशबाट आउनेको संख्या बढी हुने भएपछि टोल-टोलमा क्वारेन्टाइन निर्माण गरेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले हाल पाँच वटा वडामा १२ वटा क्वारेन्टिन निर्माण भएको भन्दै आवश्यक अनुसार यसको संख्या बढाउने बताउनुभयो ।

‘हालसम्म ५९ जना क्वारेन्टाइनमा बस्नुभएको छ, अझै हामीले विदेशबाट आउने नागरिकलाई सीमा नाकाबाट उद्धार गरिरहेका छौँ,’ अध्यक्ष शर्माले भन्नुभयो ‘अझै केही नागरिकहरु सम्पर्कमा हुनुहुन्छ, केहीलाई अझै ल्याउन सकिराखेका छैनौँ, ल्याउने प्रयासमा छौँ, उनीहरुलाई आफ्नै वडाको क्वारेन्टिनमा राख्नेछौँ ।’

क्वारेन्टाइन निगरानी समिति
गाउँपालिकाले विदेशबाट आई क्वारेन्टिनमा रहेका नागरिकको निगरानी राख्नको लागि वडा वडामा निगरानी समिति गठन गरेको छ ।

५ वटा वडामा निर्माण भएका १२ वटा क्वारेन्टाइनमा बस्ने विदेशबाट आएका नागरिकहरुको समस्या र उनीहरुको गतिबिधिलाई बुझ्न र पालिकामा रिपोर्टिङ गर्नको लागि निगरानी समिति निर्माण गरेको अध्यक्ष शर्माले बताउनुभयो ।

‘क्वारेन्टाइनमा बसेका नागरिक भाग्ने गरेको समाचार पनि आइरहेका छन्, यसले गर्दा हामीले उनीहरुको समस्या बुझ्न र गतिबिधिलाई निगरानी गर्नको लागि निगरानी समिति बनाएका छौँ,’ अध्यक्ष शर्माले भन्नुभयो ‘समितिले उनीहरुको समस्या र के कस्ता गतिबिधि गर्छन् त्यो सबै पालिकामा जानकारी दिनेछ, यसले गर्दा हामीलाई उनीहरुको समस्या बुझ्न र समाधान गर्न सहज हुनेछ ।’

उहाँले उनीहरुको स्वास्थ्य अवस्था बुझ्न र खान लगायतको व्यवस्थापनको लागि निगरानी समितिले भूमिका खेल्ने बताउनुभयो ।

पहिला काम, अनि माम कार्यक्रम मार्फत राहत
लकडाउनका बिहान बेलुका हात मुख जोड्न समस्या भएका गरिब तथा विपन्न परिवालाई पालिकाले दोस्रो चरणको राहत वितरण गर्ने भएको छ ।

यस पटकको राहत वितरणमा गाउँपालिकाले नयाँ नीति लिएको छ । ‘पहिला काम, अनि माम’ कार्यक्रम मार्फत गरिबलाई राहत दिने प्रमुख प्रशासकीय अधिकृत थापाको भनाई छ ।

गाउँपालिकाले गरिबहरुलाई विभिन्न योजनामा काम दिने र उनीहरुले गरेको कामको पारिश्रमिकसँगै थप राहत उपलब्ध गराउने उहाँको भनाई छ । उहाँले उनीहरुलाई सामाजिक दूरी कायम गरि काम दिने बताउनुभयो । यस कार्यक्रम मार्फत राहत वितरण गर्दा वास्तविक नागरिकले राहत पाउने थापाले बताउनुभयो ।

‘गरिबहरुको लागि हामीले विभिन्न योजनामा काम दिन्छौँ र उनीहरुलाई पारिश्रमिकसँगै थप राहत पनि उपलब्ध गराउँछौँ,’ उहाँले भन्नुभयो ‘यस्तो गर्दा गरिबहरु काम गर्न आउने गर्छन्, वास्तविक गरिब छुट्टिन्छन् र पाउनु पर्ने गरिबले राहत पाउँछन् ।’

उहाँले पहिलो चरणमा २ सय ४६ परिवारलाई राहत दिएको र अबको दोस्रो चरणमा २ सय परिवारलाई दिने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *