फैलिदो संक्रमण र अफवाह रोक्न पत्रकारिताः महासंघ अध्यक्ष आचार्य

-युट्युव मिडिया होइन, माध्यम मात्र हो : प्रेस काउन्सिल कावा अध्यक्ष श्रेष्ठ

आदर्श अनलाइन, बागलुङ

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले कोरोनाको बढ्दो संक्रमणसँगै अफवाह पनि तिव्र फैलिने जोखिम रहेकाले यो दुवैलाई रोक्न पत्रकारले बिशेष भुमिका खेल्नुपर्ने बताएका छन् ।

कोरोनाको वर्तमान कठिन संकटमा जिल्लाका पत्रकार तथा सञ्चार माध्यमलाई परेको समस्याबारे जानकारी लिन जिल्ला भ्रमणममा रहेका अध्यक्ष आचार्यले पत्रकार महासंघ बागलुङले आफ्नै सभाहलमा आयोजना गरेको कार्यक्रममा पत्रकारको भुमिका अझै जरुरी रहेको धारणा राखे ।

अहिले मानव जीवनमै कठिन संकट आएकाले पत्रकार स्वयम् पनि आँफु सुरक्षित रहेर मात्र अरुलाई सुरक्षित बन्न बनाउन लाग्नुपर्नेमा उनको जोड थियो । ‘यस्तो बेलामा जति संक्रमण फैलन्छ, त्यति धेरै अफवाह फैलिन्छ’, उनले भने, ‘पत्रकारले फैलिदो संक्रमण र अफवाह दुवै रोक्न सशक्त भुमिका खेल्न सक्छ, समाज र देशले अहिले त्यही भुमिका खोजिरहेको छ, हामी त्यसमै केन्द्रित भएर लागौ ।’ कोरोना संकटका कारण मिडिया र मिडियाकर्मी पनि जटिल मोडमा पुग्ने अवस्था प्रति सबै सचेत भएर अघि बढ्नुपर्ने खाँचो औल्याउदै महासंघले केन्द्र सरकारसँग राहत प्याकेज ल्याउन ध्यानाकर्षण गराएको बताए ।


प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले कोरोना संकट पत्रकारितालाई थप सच्याउने महत्वपूर्ण अवसर भएको बताए । ‘अहिले एउटा अनलाइन, युट्युव चलाएर आफै प्रेस कार्ड छापेर पत्रकार बन्ने र भन्ने प्रवृत्ति व्याप्त छ,’ श्रेष्ठले भने,‘अहिले फेसबुक, युट्युव चलाउनेहरुका कारण पत्रकार र पत्रकारिता बदनाम हुने अवस्था आएको छ, तर सबैले बुझ्नुपर्छ युट्युव, फेसबुक माध्यम मात्र हो, मिडिया होइन । यसमा काम गर्ने पत्रकार होइनन् ।’

कोरोना अवधिमै सनसनीपूर्ण अफवाह फैलाउने समाचार सम्प्रेषण गर्ने १५० सञ्चार माध्यमलाई सचेत गराइएको र ८० वटा अनलाईन बन्द गराईएको उनले जानकारी दिए । युट्युब मिडिया नभई मिडियम मात्र भएकाले सञ्चार माध्यमको रुपमा मान्यता नपाएको उल्लेख गर्दै श्रेष्ठले यसको नियमनको लागि छिटै कानुन बन्ने क्रममा रहेको बताए ।

प्रेस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारीले विज्ञापन बजार ठप्प हुँदा पत्रकार र सञ्चार माध्यमलाई कसरी जोगाउने भन्ने सन्दर्भमा अब राज्य, मिडिया सञ्चालक र मिडियाकर्मीले छलफल चलाउन जरुरी रहेको बताए ।

कार्यक्रममा पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले जिल्लाका पत्रकार र पत्रकारितको अवस्था बारेमा जानकारी गराएका थिए । कोरोना संकटका बीच जिल्लामा अग्रभागमा खटिरहेका ५२ जना पत्रकारको वीमा, तीन चरणमा पत्रकार सञ्चार संस्थाका लागि स्वास्थ्य सुरक्षा सामग्री र दैनिक जिविकामा समस्या भोगिरहेका ८ जना पत्रकार सञ्चारकर्मीलाई प्रतिव्यक्ति दुई हजार पाँच सय बराबरको खाद्य सामग्री सहयोग गरिएको अध्यक्ष शिरीषले जानकारी दिए । कार्यक्रमको सञ्चालन पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरलले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *