बागलुङमा संक्रमण तिव्र, परीक्षण र तयारी सुस्त

डम्मर बुढा मगर, बागलुङ

गण्डकी प्रदेशमै सबै भन्दा धेरै संक्रमित देखिने जिल्लामा बागलुङ पनि अघि देखिएको छ ।

आइतवार सम्म गण्डकी प्रदेशमा सबै भन्दा धेरै स्याङ्जामा ३८ जनामा कोरोना संक्रमण देखिएको छ । दोस्रोमा बागलुङ जिल्लाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस बाहेक नवलपरासी पूर्वमा १७ र गोरखामा ११ जनामा संक्रमण देखिएको छ । प्रदेशका अन्य जिल्लाहरु एक अकंमै संक्रमण दर सिमित छ ।

बागलुङमा संक्रमण दर बढ्दै जान थालेपछि उनीहरुको सुरक्षित उपचार व्यवस्थापनमा जिल्ला कमाण्ड पोष्टलाई सकस परेको छ । कमाण्ड पोष्टले संक्रमित राख्नका लागि समयमै यथेष्ट तयारी नगर्दा अहिले व्यवस्थापनमा पटक पटक समस्या देखिदै आएको छ ।

अब धौलागिरी क्याम्पसमा वैकल्पिक आइसोलेसन
आइतबार मात्रै बागलुङमा १० जना कोरोना संक्रमित थपिए पछि उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा सरोकारवाला नै घण्टौ सम्म अलमलमा देखिए ।

संक्रमित बढ्दै गएपछि धौलागिरी अस्पतालमा केहि दिन अगाडी मात्र १२ बेड थप गरेर २४ बेडको आइसोलेसन तयार गरिएको थियो । अस्पतालको आइसोलेसनमा १७ संक्रमित र क्वारेन्टिनमा राखिएका अरु दुई युवामामा स्वास्थ्य समस्या देखिएपछि १९ जना उपचाररत छन् । अब अस्पतालमा जम्मा ५ बेड मात्र खाली छ ।

आइतबार बडिगाड गाउँपालिकामा एकै पटक १० संक्रमित थपिए पछि बैकल्पिक स्थानको खोजी गर्नुपर्ने बाध्यता आइलाग्यो । अन्ततः बडिगाडका ९ जना संक्रमितलाई धौलागिरी बहुमुखी क्याम्पसमा व्यवस्थापन गरिएको जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । अस्पतालले मात्र नथेग्ने भए पछि धौलागिरी बहुमुखी क्याम्पसमा २४ बेडको प्रि–आइसोलेसन निर्माण गरिएको छ । यस बाहेक जिल्लाका गलकोट, बुर्तिबाङ लगायतका स्थानमा ८६ बेडको प्रि आइसोलेसन बेड बनाउने कमाण्ड पोस्टले निर्णय गरे पनि स्थलगत रुपमा कोरोना संक्रमित पुष्टि भइहाले राख्ने प्रयाप्त तयारी अझै देखिएको छैन ।

संक्रमित जति सबै भारतका आगन्तुक
संक्रमित देखिएका सबै भारतबाट आएका हुन् । अहिले भारतमा कोरोना भाइरस (कोभिड १९)ले महामारीको रुप लिएको छ । विश्वमै सबै भन्दा बढि ज्यान जाने मुलुकको पाँचौ स्थानमा भारत देखिएको छ । जहाँ ७ हजार बढिले ज्यान गुमाइसकेका छन् । नेपालमा लकडाउनकै बीच भारतले नेपालबाट रोजगारी, पेशा, व्यवसायको शिलशिलामा गएका नेपालीहरुलाई घर जान सक्ने भन्दै रेल चलाए पछि भारतीय सीमा हुँदै नेपाली नागरिक सवारी र पैदल यात्रा मार्फत देश भित्रिए । बागलुङ जिल्ला भित्रिएकोमा अधिकांश सीमा आसपास र तराईका बिभिन्न जिल्लामा क्वारेन्टिन बस्दै आएका छन् । अहिले उनीहरु मध्ये ठुलो संख्यामा कोरोना संक्रमण देखिएको छ । जिल्लामा शुरुमा संक्रमण देखिएका बेल्जियमबाट फर्किएका बागलुङ नगरपालिकाका दुई जना बाहेक अरु २७ जना संक्रमित भारतबाटै आएका छन् ।

धौलागिरी अस्पतालमा अन्य सेवा पनि

धौलागिरी अस्पतालमा कोरोना संक्रमितहरुलाई राखिए पनि अन्य बिरामीको उपचार पनि जारी छ ।

कोरोना संक्रमितको संख्या उल्लेख्य भएर प्रसुति वार्डलाई समेत व्यवस्थापन गरी आइसोलेसन विस्तार गरिए पनि अत्यावश्यकीय सेवा दिइरहेको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो । उहाँले दैनिक विभिन्न रोगका बिरामीहरु आइराखेको भन्दै दैनिक १ सय ५० बढी अन्य रोगका बिरामीलाई सेवा दिइरहेको बताउनुभयो । अस्पतालबाट नियमित प्रदान हुने इमरजेन्सी, प्रसुति, अप्रेशन, डायलाइसीस, एक्से–रे, आकस्मिक लगायतका सेवा प्रदान गरिएको छ । अब आउने संक्रमितलाई अस्पतालमा नराख्ने भन्दै उनीहरुको स्वास्थ्यमा केही समस्या आए मात्रै ल्याइने उहाँको भनाई छ ।

१६ सय ४३ क्वारेन्टिनमा

बागलुङका विभिन्न स्थानीय तहमा भारतबाट आएका १६ सय ४३ जना क्वारेन्टिनमा छन् । अझै भारतबाट आउने क्रम जारी छ । भारतबाट आउनेमा सबै भन्दा बढी निसीखोला गाउँपालिकाका छन् । यस गाउँपालिकामा ४ सय ३० जना भारतबाट आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

गुरौका अनुसार, भारतबाट आएकोमा बडिगाड गाउँपालिकामा ३४०, ढोरपाटन नगरपालिकामा ३१०, जैमिनी नगरपालिकामा ५५ जना, बरेङ गाउँपालिकामा ८५ जना, गलकोट नगरपालिकामा १०८, काठेखोला गाउँपालिकामा १०८, ताराखोला गाउँपालिकामा ६२ जना, तमानखोला गाउँपालिकामा ११ जना र बागलुङ नगरपालिकामा १०१ जना क्वारेन्टिनमा छन् । स्वास्थ्य कार्यालय बागलुङले दिएको जानकारी अनुसार जिल्लामा हालसम्म ४ सय ५८ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पोखरा पठाइएको छ । यसमध्ये अधिकांशको रिपोर्ट आउन बाँकी रहेको छ । अघिल्लो साता सम्म स्वाब पठाएको दुई दिनमै रिपोर्ट आउने गरे पनि केहि दिन यता पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा तिव्र चापका कारण रिपोर्ट आउन ढिलाई भइरहेको गुरौले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *