सरकार, धौलागिरीमै स्वाब परीक्षण (पीसीआर)को व्यवस्था गर

सम्पादकीय

कोरोना संक्रमणको भयावह चिनको हुवावे प्रान्तबाट अमेरिका हुँदै नेपालमा पनि आइपुगेको छ । अरु अधिक देशमा कोरोना महामारीको रुपमा फैलिदाँ पनि करिब दुई महिना सम्म सुरक्षित महुशुस गरेको नेपालमा पछिल्लो साता कोरोनाले भयावह रुप लिन थालेको छ । दैनिक २/३ सयको संख्यामा कोरोना संक्रमित देखिन थालेका छन् । देशमा ३ हजार ७ सय ६४ संक्रमित पुगिसके । १५ जनाको मृत्यु भयो । ४ सय ८८ जना कोरोना जितेर घर फर्किएका छन् । सबै भन्दा चुस्त व्यवस्थापन र सुरक्षित भनिएको गण्डकी प्रदेशमा मात्रै १ सय बढि संक्रमित पुष्टि भइसके । सोमवार एक जनाको ज्यान समेत गएको छ । बागलुङ जिल्लामा पनि कोरोना संक्रमणको दर प्रदेशमै बढि छ । दैनिक अप्रत्यासित बढ्ने क्रम जारी छ । आइतवार सम्म यस जिल्लामा २९ पुगिसकेको छ । अबका दिनमा पनि यो संख्या अझ बढ्ने सम्भावना प्रबल छ । यसले आम नागरिकमा भयको अवस्था सिर्जना गरेको छ ।

गण्डकी प्रदेश नेपालका ७ प्रदेश मध्येमा समग्र प्रगति र हालको कोरोना संकटमा पनि नेतृत्व र व्यवस्थापकीय हिसावले अघि मानिन्छ । तर, केहि दिन यताको संक्रमण दर जुन हिसावले बढ्दैछ, त्यसले गण्डकी प्रदेश सरकारको वर्तमान तयारी, कदम र व्यवस्थापन मात्र अब प्रयाप्त छैन भन्ने देखाएको छ । अहिले गण्डकी प्रदेशका हिमाली जिल्ला बाहेकका अरु सबैजसो जिल्लामा कोरोना संक्रमण देखिएको छ । भलै संख्याका हिसावले कुनैमा केहि बढि र कुनैमा कम होला । जसका कारणबाट अहिले प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा स्वाबको चाङ छ । कयौ दिनअघि पठाएका स्वाब संकलनको रिपोर्ट अझै आएको छैन । यसले भारत सहित बिभिन्न स्थानबाट आएर क्वारेन्टिनमा बसेकाहरुलाई पनि सकस, तनाव र भयग्रस्त अवस्था सिर्जना भएको छ भने अर्को तर्फ क्वारेन्टिनमा दैनिक नयाँ नयाँ आएका नेपालीहरुबाट थप संक्रमणको जोखिम पनि बढेको छ । किनकी हाम्रा विद्यालय, क्याम्पस र सामुदायिक भवनहरुमा निर्माण गरिएका क्वारेन्टिन व्यवस्थित छैनन् । स्वास्थ्य सुरक्षा, संवेदनशिलताका हिसावले निर्माण गरिएकै छैनन् । हाम्रा अधिकांश क्वारेन्टिनहरु अहिलेको संकटमा गर्जो टार्ने काम चलाउ खालका छन् ।

यसर्थ पीसीआर परीक्षणको दायरा बढाउनु पर्ने घडीमा छौ । भाग्यवस, अहिले गण्डकी प्रदेश र संक्रमण दर उच्च रहेको बागलुङ जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छैन । अहिले सम्म जे जति संक्रमित पुष्टि भएका छन्, ती सबै भारतबाट आएका छन् । यसो हुनुमा अहिले सम्म सरकार, सम्वन्धित सरोकारवाला र आम नागरिकको सचेत कदमनै हो । अबका दिनमा पनि भयावह रोक्न सरकारले परीक्षणको दायरालाई तिव्र बनाउनु पर्ने जरुरी देखिएको छ । किनकी बागलुङ जिल्लामा मात्रै अहिले भारतबाट १६ सय ४३ जना १० स्थानीय तहका बिभिन्न क्वारेन्टिनमा छन् । उनीहरुको परीक्षणमा ढिलाई हुने कुराले क्वारेन्टिन संक्रमण फैलाउने खतरानक स्थल र अवसर बन्ने जोखिम तिव्र छ । तसर्थ गण्डकी प्रदेश सरकारले अहिले दैनिक ३ सय देखि ५ सय मात्रको पीसीआर परीक्षण हुने अवस्थामा सुधार गर्दै थप अर्को मेसिन खरिद गर्ने जनाएको छ । त्यो मेसिन संक्रमण दर र थप सम्भावित जोखिम तथा भौगोलिक हिसावले पनि उपप्रादेशिक अस्पतालको रुपमा प्रस्ताव गरिएको धौलागिरी अस्पतालमा राख्ने व्यवस्था गर्नुपर्छ । यदी तत्काल यो सम्भव नभए धौलागिरीका चार जिल्ला, यो पनि सम्भव नभए बागलुङ जिल्लाका १० स्थानीय तहले पहल र सहकार्य गरेर खरिद व्यवस्था गर्न जरुरी छ । यसका लागि अस्पताल र स्वास्थ्य कार्यालयसँग जनशक्ति पनि छ । यो अप्रयाप्त भएमा बिशेष अवधिका लागि राख्ने विकल्पबारे पनि सोच्न सकिन्छ । अब यो विकल्पमा ढिलाई गरे लकडाउन जारी हुँदा होस् या खुलाउदा पछिको भयावह र त्यसबाट निम्तिने विपत चाही अझ महंगो सावित हुन सक्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *