लोकेन्द्र निरासी
गजल-१
कोरोनाको कहर पछि भेटौंला साइली
बल्ल मनको तिर्सना मेटौंला साइली ।
लखर लखर नहिँड्नु बस्नु क्वारेन्टिनमा
घाउलागे पिरतीमा मायाले सेकौंला साइली ।
साबुनपानीले हात धुनु प्रयोग गर्नु सेनिटाइजर
नआत्तिनु नअत्ताउनु बाँचे संसार देखौंला साइली ।
मुख छोप्नु माक्सले घरमै बसी स्वस्थ रहनु
मनभरिका मायालाई अँगालोमा समेटौंला साइली ।
खोक्दा अनि हाच्छ्यूँ गर्दा टाढै रहनु मेरी प्रिय
आँधी आए कोरोनाको सबै मिली छेकौंला साइली ।
मानवताले मलम लाउनु अप्ठ्यारोमा परेकालाई
बाँचौं बचाऔं फेरि नयाँ इतिहास लेखौंला साइली ।
सामाजिक दूरी कायम गरी रहनु है सुरक्षित
पारलाए कोरोनाबाट प्रीतिको शिखर टेकौंला साइली ।।
गजल-२
कोरोनाको कहर छ यहाँ
मान्छे तर्सने शहर छ यहाँ ।
आफ्नै परिवारबाट अलग्गिएर
एक्लै बस्ने घर छ यहाँ ।
दिन दुई गुणा रात चौगुणा
संक्रमित हुनेकोे दर छ यहाँ ।
न देख्न सकिने न त भेट्न नै
जतापनि कोरोनाकै जहर छ यहाँ ।
बाँचिन्छ वा मरिन्छ महामारीले
कोरोनाकै सबैमा डर छ यहाँ ।
बाँच्नपनि गाह्रो छ हजुर अब त
निद्रा विनाको प्रहर छ यहाँ ।
भगवान् भरोसा छ जिन्दगी
के सुनाउँ दुःखको खबर छ यहाँ ।।