ढोरपाटन नगरपालिकाले किट खरिद गरी कोरोना परिक्षण सुरु गर्‍यो

सुमन सुनार, बुर्तिबाङ
ढोरपाटन नगरपालिकाले आफै भिटिएम किट खरिद गरी क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको कोरोना परीक्षणका लागि स्वाव संकलन कार्य शुरु गरेको छ ।

भिटिएम किटको अभावमा क्वारेन्टाईनमा रहेका नागरिकहरुको कोरोना परीक्षणमा समस्या भएपछि नगरपालिकाले आफ्नै लगानीमा किट खरिद गरी स्वाव संकलन सुरु गरेको जनाइएको छ ।

प्रति किट भ्याट सहित ४ सय ८० रुपैयाँ पर्ने ५ सय ओटा भिटिएम किट खरीद गरी सोमबारदेखि स्वाब संकलन सुरु गरिएको नगर प्रमुख देव कुमार नेपालीले जानकारी दिनुभयो ।

जस अन्तर्गत सोमबार वडा नम्बर ९ मा क्वारेन्टाईनमा रहेका ३७ जना, वडा नम्बर ८ मा ३२ जनाको स्वाव संकलन गरिएको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका ल्याव अशिष्टेन्ट किशान शाहीले बताउनुभयो ।

यस्तै आज वडा नम्बर ७ मा १७ जनाको स्वाव संकलन गरिएको उहाँले बताउनुभयो । स्वाव संकलन गरिएका उनीहरुको कोरोना परीक्षणका लागि आजै पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको ल्याव अशिष्टेन्ट शाहीको भनाई छ । १४ दिनभन्दा बढी क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।

ढोरपाटन नगरपालिकामा भारतकाबाट आएका ३ सय ३२ जना नागरिकहरु क्वारेन्टाइनमा रहेका छन् । वडा नम्बर १ मा ५२ जना, वडा नं. २ मा १८ जना, वडा नं. ३ मा ३४ जना, वडा नं. ४ मा ६ जना, वडा नं. ५ मा ५३ जना, वडा नं. ६ मा २७ जना, वडा नं. ७ मा १८ जना, वडा नं. ८ मा ८७ जना, वडा नं. ९ मा ३७ जना क्वारेन्टाईनमा रहेको सम्बन्धीत वडाका वडा अध्यक्षहरुले जनाएका छन् ।

क्वारेन्टाईनमा रहेका मध्य ६६ जनाको यस अघिनै स्वाव संकलन गरी कोरोना परीक्षणका लागि पोखरा पठाइएको र ५० जनाको कोरोना रिपोर्ट आएको छ । जस अन्तर्गत ४९ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ भने १ जनामा कोरोना पोजेटिभ देखिएको नगरपालिकाका स्वास्थ्य संयोजक घनश्याम चालिसेले जानकारी दिनुभयो ।

कोरोना पोजेटिभ देखिएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङको आईसोलेशन कक्षमा राखिएको छ । १६ जनाको रिपोर्ट आउन बाँकी रहेको चालिसेको भनाई छ । स्वास्थ्य संयोजक चालिसेका अनुसार, आरडिटी र पिसिआर दुवैमा कोरोना रिपोर्ट नेगेटिभ आएका १८ जनालाई घर पठाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *