प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपाल पिन गण्डकी प्रदेश समितिको बिशेष समन्वयमा प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपाल पिन बागलुङ जिल्ला समितिले बागलुङ नगरपालिकालाई आगामी आर्थिक बर्ष २०७७/७८को बार्षिक नीति तथा कार्यक्रममा समाबेश गर्न सकिने बुँदाहरु सहितको सुझाव प्रतिवेदन पेश गरेको छ । पिन जिल्ला समितिका अध्यक्ष बिमल आचार्य, मनोज शर्मा एवं बागलुङ जिल्लामा रहेका ईन्जिनियरहरुको बिशेष पहल एवं पिन गण्डकी प्रदेश समितिको विशेष समन्वयमा यो सुझाव प्रतिवेदन पेश गरिएको हो ।
प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपाल गण्डकी प्रदेश समितिले यही मिति २०७७ साल जेठ ९ गते गण्डकी प्रदेश सरकार समक्ष समेत आगामी आर्थिक बर्ष २०७७/७८ को बार्षिक नीति तथा कार्यक्रममा समावेश गर्न सकिने संभावित नीति र कार्यक्रमहरुको बारेमा लिखित प्रतिवेदन समेत पेश गरेको थियो । समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सफल बनाउन स्थानीय सरकार जनतासँग प्रत्यक्ष सम्बन्ध रहने महत्वपूर्ण अभिभावक भएको सन्दर्भमा स्थानीय सरकारका नीति तथा कार्यक्रमहरुलाई प्रभावकारी ढंगबाट अगाडि बढाउँदा बिकास निर्माणका काम अगाडि बढ्न सक्ने भएकोले पिन गण्डकी प्रदेश समितिले गण्डकी प्रदेशमा संभव भएसम्मका स्थानीय सरकारहरुलाई आगामी बर्षको नीति तथा कार्यक्रममा रचनात्मक सुझाव पेश गर्न पहल गरिएको प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपाल पिन गण्डकी प्रदेश ईञ्चार्ज खिमानन्द कँडेलले बताए ।
उक्त सुझाव पत्र बागलुङ नगरपालिकाका नगर प्रमुख श्री जनक राज पौडेल एवं ईमेल मार्फत नगरपालिकालाई हस्तान्तरण गरिएको छ । प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपाल पिन बागलुङ जिल्ला समितिले विभिन्न क्षेत्रको दीगो बिकासको लागि पेश गरेका नीतिगत बुँदाहरु यस प्रकार रहेका छन् ।
कोभिड १९ विरुद्धको अभियान
(१) बिरामीहरुलाई अस्पतालसम्म ओहोरदोहोर गर्न निशुल्क रुपमा एकीकृत एम्बुलेन्स सुविधा उपलब्ध गराउने ।
(२) दीर्घरोगीको लागि आवश्यक औषधि चिकित्सकको सिफारिसमा स्थानीय स्वास्थ्य चौकी मार्फत निशुल्क उपलब्ध गराउने व्यवस्था गर्ने ।
(३) धेरैजसो मानिसमा देखिने रोगहरुको नियमित जाँच –जस्तै सुगर, प्रेसर लगायत) गर्ने ब्यबस्था प्रत्यक स्वास्थ्य चौकीमा गर्ने ब्यवस्था मिलाउने ।
(४) मानिसको चाप धेरै हुने स्थानहरु –जस्तै : (अस्पताल, प्रहरी चौकी, स्वास्थ्य चौकी, वडा कार्यालय, बजार क्षेत्र) मा Foot Operated Hand Wash System को व्यवस्था गर्ने ।
(५) सुरक्षित मास्क, स्यानिटाईजर जस्ता व्यक्तिगत स्वास्थ्य सुरक्षासँग सम्बन्धित सामग्रीहरु सम्बन्धित वडामा रहेको स्वास्थ्य कार्यालयबाट जनताको घर घरमा पुर्याउने व्यवस्था मिलाउने ।
सडक, यातायात तथा पूर्वाधार बिकास
(१) नगर क्षेत्रभित्रका बासिन्दाहरुको सहज यातायातको लागि नगर बससेवा संचालन गर्ने ।
(२) नगर यातायात गुरुयोजना तयार गरी सो को आधारमा नगर क्षेत्रमा भएका सडक (सम्भाबित अन्य यातायातका पूर्वाधारहरु समेत), भविष्यमा बनाउनु पर्ने सडकको मापदण्ड निर्धारण गरी गुरुयोजनाको प्राथमिकता अनुसार निर्माण तथा स्तरोन्नती गर्दै जाने ।
(३) योजनाबद्ध स्थानीय विकासको सुरुवात गरिनु पर्दछ । मेरो नगरपालिका यति बर्ष पछी यस्तो बन्छ, यस्तो सुविधा प्राप्त हुन्छ भन्ने जानकारी सबैले प्राप्त गर्नु पर्दछ।यसैको आधारमा पूर्वाधार निर्माणलाई प्राथमिकता प्रदान गरिनु पर्दछ ।
(४) मर्मतसम्भार पहिले भन्ने सिद्धान्तका आधारमा सडक लगायतका अन्य पूर्वाधार मर्मत गर्न स्थानीयको सहभागीतामा मर्मत समूह (Road Maintenance Group: RMG) गठन गरी सो मार्फत गर्ने गराउने गर्नु पर्दछ । यसले गर्दा धेरै जनाले रोजगारी प्राप्त गर्न सक्छन् । यस पद्धतिलाई लघु उद्यमको रुपमा विकास समेत गर्न सकिन्छ ।
(५) निर्माण कार्यको गुणस्तरता सुनिश्चितता गर्न गुणस्तर चेकजाँच गर्ने प्रयोगशाला अनिवार्य स्थापना गर्ने ।
(६) हरेक वडाहरुमा न्यूनतम एउटा गाउँलाई नमूना गाउँ घोषणा गरी बागलुङ नगरपालिकालाई नमूना गाउँ सहितको नगरपालिका घोषणा गरी व्यवस्थित आवास निर्माण, खानेपानी, विद्युत, सडक लगायतका पूर्वाधारहरुको बिकास गर्ने ।
कृषि, सहकारी तथा गरिबी निवारण
(१) बाँझिएको जमिनलाई कृषि उत्पादनमा जोड्न कृषकहरुलाई न्यूनतम अनुदान सहयोग सहित प्रोत्साहन गर्ने नीति अबलम्बन गर्ने ।
(२) खेतीयोग्य जमिनको बर्गीकरण गरी कुँडुलेको फाँट, खहरे क्षेत्र, लगायतका ब्यापक खाद्यान्न, फलफूल तथा तरकारी उत्पादन हुने क्षेत्रहरुलार्ई घर घडेरीको लागि खण्डीकरण गर्न नपाईने नीति निर्माण गरी संरक्षण गर्ने ।
(३) ग्रामीण क्षेत्रका बस्तीहरुको योजनाबद्ध बिकासको लागि “एक घर एक करेसाबारी र एक घर एक फुलबारी” निर्माण गर्ने गरी भवन निर्माण संहिता लागू गर्ने ।
(४) हरेक वडाहरुमा कृषि चिस्यान एवं कृषि उपज भण्डारण केन्द्रको स्थापना गर्ने ।
(५) ब्यवसायिक कृषि एवं लघु उद्योग संचालन गर्न सक्ने स्थानीय यूवाहरुलाई निश्चित प्रतिशत ब्याज नगरपालिकाले अनुदानमा उपलब्ध गराई बढीमा ५ प्रतिशत ब्याजमा ब्यबसायिक क्रृण उपलब्ध गराउने कार्यक्रम संचालन गर्ने ।
(६) स्थानीय उत्पादनहरुलाई बजार (बागलुङ बजार, बेनी, गल्कोट, बुर्तिबाङ, पोखरा, काठमांडौ वा अन्य) बजारहरुमा पुर्याउनको लागि कृषि एम्बुलेन्स सेवाको शुरुवात गर्ने ।
(७) काठेखोलाको दायाँ बायाँको क्षेत्रमा ब्यापक रुपमा सुन्तला तथा कागती खेतीको बिस्तार गर्ने ।
(८) बजार क्षेत्रका घरहरुमा कौशी खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम लागू गर्ने ।
(९) कृषकले उत्पादन गरेको कृषिजन्य उपजको बजारिकरणको व्यवस्था सम्बन्धित स्थानीय तहले गर्ने ।
(१०) कृषकलाई पर्न सक्ने प्राविधिक समस्या समाधानका लागि प्रत्येक स्थानीय तहमा विज्ञ सहितको प्राविधिक टिमको व्यवस्थापन गर्ने ।
(११) त्यस क्षेत्रका कृषकलाई आवश्यक पर्ने बीउ बिजन स्थानीय सरकारले उपलब्ध गराउने ।
(१२) कृषकले उत्पादन गरेको कृषिजन्य उपजको मात्राको आधारमा कृषकलाई राहतका प्याकेज उपलब्ध गराउने ।
(१३) कृषिक्षेत्रसंग सम्बन्धित विकसित नवीनतम प्रविधिको बारेका कृषकलाई स्थानीय तहले आवश्यकताको आधारमा निरन्तर अनुशिक्षण दिने व्यवस्था गर्ने ।
(१४) स्थानीय तहले कृषकका सफलताका कथाहरु समेटिएको श्रव्यदृष्य कार्यक्रम संचालन गर्ने ।
(१५) जग्गाको स्वामित्व, हावापानी, भूबनोट आदिका कारण पनि बार्है महिना निरपेक्ष कृषि पेशामा मात्र संलग्न हुन हाम्रो जस्तो परिवेशमा सम्भब नहुन सक्दछ तसर्थ कृषि र पूर्वाधार निर्माण मार्फत हुने रोजगारीलाई सापेक्षिक रुपमा जोड्दै भरपर्दो रोजगारीको माध्यम बनाउनु पर्दछ ।
(१६) लघुवित्त संस्थाहरुले अत्यन्त न्यून ब्याजदरमा प्राप्त गर्ने क्रृण एकोहोरो अंकको ब्याजदरमा नबढ्ने गरी ग्रामीण क्षेत्रमा परिचालन गर्नुपर्ने व्यवस्था मिलाउने ।
संस्कृति, पर्यटन तथा वातावरण संरक्षण
(१) नगरपालिकाको एकीकृत पर्यटन गुरुयोजना निर्माण गर्ने ।
(२) नगरपालिकाका विभिन्न वडाहरुमा “एक वडा एक ब्यबस्थित पार्क” निर्माणको अभियान संचालन गर्ने ।
(३) धौलागिरी क्षेत्रकै ब्यापक संभावना बोकेको संसारकोटसम्म पर्यटनमैत्री पूर्वाधारहरु (पदमार्गको निर्माण, संसारकोटको धुरीमा पार्कको निर्माण र खानेपानीको ब्यवस्था मिलाउने) ।
(४) पूर्वी बागलुङ उपत्यका अन्र्तगत बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा प्रशस्त राष्ट्रिय स्तरमा पहिचान बनाएका पर्यटकीय गन्तव्यहरु रहेकोले यस्ता पर्यटकीय गन्तव्यहरुलाई जोड्ने गरी कालिका मन्दिर, पञ्चकोट, धम्जा, घोडाबाँधे, गाजादह, भकुण्डे, भैरवस्थान मन्दिर, बलेवा एअरपोर्ट हुँदै पुनः बागलुङ बजार जोड्ने पर्यटकीय सडक निर्माणको लागि प्रदेश र केन्द्र सरकारसँग निरन्तर पहल गर्ने ।
(५) नेपालकै हुलाकी सडकको पहिचान बोकेको बागलुङ, बिहुँ, गल्कोट, बुर्तिबाङ, रुकुम पैदलमार्गलाई जोगाईराख्न बागलुङ नगरपालिका क्षेत्रभित्र पर्ने पैदल मार्गलाई संरक्षण समुदायसँगको सहकार्यमा बिशेष कार्यक्रम संचालन गर्ने ।
(६) बागलुङको मुलपानीे क्षेत्रमा पौराणिक समयमा नै उल्लेख भएको वैदिक साहित्यको केन्द्र रहेकोले मुलपानी खहरे क्षेत्रमा राष्ट्रिय स्तरको साहित्यिक केन्द्रको रुपमा बिकास गर्ने ।
(७) तिरुपति बालाजीधाम शालिग्राम संग्रहालय कुँडुलेमा संस्कृत क्याम्पस स्थापना गर्ने ।
(८) हराभरा स्थानीय तहको सिद्धान्तको आधारमा प्राकृतिक सम्पदाको संरक्षणमा विशेष ध्यान पुर्याउनु पर्दछ । माथि उल्लेखित नक्साको आधारमा त्यस्तो स्रोत र क्षेत्रको पनि अधिकार क्षेत्र तोक्नु पर्दछ ।
(९) नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यहरु कालिका भगवती मन्दिर, विश्वकै लामो झोलुंगे पुल, शालिग्राम संग्रहालय, पञ्चकोट, भैरवस्थान मन्दिर, भकुण्डे जस्ता पर्यटकीय क्षेत्रहरुको ब्यापक रुपमा प्रचार प्रसार गर्ने ।
(१०) स्थानीय कला र संस्कृति प्रवद्र्धन एवं खेलकुद पूर्वाधारहरुको निर्माण गर्न बिशेष कार्यक्रम संचालन गर्ने ।
(११) ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नको लागि संभव भएका गाउँहरुमा होम स्टे अभियान अगाडि बढाई ग्रामीण पर्यटन पूर्वाधारहरुको निर्माण गर्ने ।
सूचना तथा प्रविधि क्षेत्र
(१) Digitize बागलुङ नगरपालिकाको अबधारणा ल्याउने र पहिलो चरणमा सम्पूर्ण नागरिकलाई अनलाईन मार्फत न्युनतम आधारभुत सेवा प्रदान गर्ने ।
(२) भ्रष्टाचार अन्त्यका लागि सम्पूर्ण कारोबार पूर्ण रुपमा digital बनाउने ।
(३) स्थानीय सरकारले आफ्ना जनतामा स्थानीय तहभित्र भैरहेका बिकासका कामहरु, सम्बन्धित क्षेत्रमा काम प्राप्त गरेका ठेकेदार कम्पनीहरुको बारेमा समयमा नै प्रष्ट सूचना प्रवाह गराउन रेडिया/टेलिभिजन कार्यक्रम संचालन गर्ने ।
(४) केवल ईन्टरनेट तथा बिद्युतका तारहरुलाई भूमिगत (Underground) गर्ने नीति अबलम्बन गर्ने ।
(५) स्थानीय तहमा रहेका तथ्याङ्क, विवरणहरुलाई डिजिटलाईज गर्नु पर्दछ । QR Scanner सहितको परिचय पत्र प्रदान गर्न सकेको खण्डमा समेत स्थानीय तहबाट प्रवाह हुने सेवा सुविधालाई प्रभाबकारी बनाउन, स्थानीयको पहिचान सहजै गर्न सकिन्छ ।
(५) ड्रोन सर्भे मार्फत स्थानीयतहको डिजिटलाईज नक्साङ्कन गरी भूमी बर्गिकरण गर्न सकिन्छ । नक्साको माध्यमबाट जग्गाको बर्गीकरण गरी सोही अनुसार विकास गर्न सकिन्छ ।
प्राकृतिक साधन स्रोतको उपयोग एवं सरंक्षण
(१) कालीगण्डकी नदी क्षेत्रमा अव्यवस्थित तरिकाले भईरहेको ढुंगा, गिटी र बालुवा उत्खनन्लार्ई नियन्त्रण गर्दै बैज्ञानिक रुपमा एवं पारदर्शी ढंगबाट ढुंगा, गिटी, बालुवा उत्खनन् गर्ने नीति अबलम्बन गर्ने ।
(२) कालीगण्डकी नदी किनाराको अग्ला भीरहरुमा ढुंगा तथा गिटी खानीहरुको प्राकृतिक उत्खनन् गर्ने व्यापक संभावना रहेकोले न्यूनतम मुल्यमा निर्माण सामग्री उपलब्ध हुने गरी सामुदायिक खानी संचालन गर्ने ।
(३) नगरपालिका अन्र्तगत नदी तथा खोला किनारा, सार्वजनिक संस्थान, गुठी, सामुदायिक बन, सार्वजनिक बन क्षेत्रलाई उत्पादनमूलक कृषिमा उपयोग गर्ने नीति अबलम्बन गर्ने ।
(४) नगरपालिका क्षेत्र भित्र तामाखानी, फलामखानी एवं अन्य खानीहरुहरुको संभाव्यता अध्ययन गर्ने ।
यूवा स्वरोजगार एवं रोजगारी अभिबृद्धि
(१) स्थानीय सीप, पूँजी र प्रविधिलाई प्रोत्साहन गर्न प्रदेश तथा स्थानीय तहको सहकार्यमा उद्यमशीलता प्रवर्दन केन्द्र स्थापना गरी उद्यमशीलतामा जोड दिने ।
(२) आ.ब.०७७/७८ लाई कृषि रोजगार बर्षको रुपमा घोषणा गरि विशेषगरी विदेशबाट फर्किएका युवा र सीमा क्षेत्रका कृषकलाई विशेष सुविधा सहितको राहतका प्याकेज उपलब्ध गराउने ।
(३) खाली रहेको सार्वजनिक जग्गाको पहिचान र एकिन गरि २०।३० बर्षको लागि बैदेशिक रोजगारीबाट फर्केका युवा तथा उद्यम गर्न चाहने व्यक्तिलाई लिजमा दिई कृषिमा संलग्न हुन प्रोत्साहित गर्ने । यसका लागि सार्वजनिक जग्गा र सडक अधिकार क्षेत्रभित्रको जग्गाको उपभोग मार्फत विपन्न बर्गलाई आयमुलक कार्यमा लगाउन सकिन्छ ।
(४) स्थानीयले सामूहिक रुपमा उत्पादन गर्ने कृषि उत्पादनको मात्राको आधारमा विकास र सेवा सूविधाका प्याकेज घोषणा गरेको खण्डमा सामूहिक कृषि पेशामा लाग्न प्रोत्साहित हुने ।
(५) स्थानीय क्षेत्रमा स्थायी बसोबास भई देश तथा विदेशमा रही विज्ञता, अनुभब, सिप हासील गरेका व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई आफ्नो दक्षता अनुसारको स्वयँम सेवा सहयोगको लागि अनुरोध गरिनु पर्दछ । अझ यस कार्यलाई प्रभावकारी बनाउन स्वय सेवा बर्ष घोषणा गर्न सकिन्छ ।
(६) स्थानीय युवाहरुले उत्पादन गरेको वस्तु तथा सेवा अनिवार्य रुपमा स्थानीय सरकारले उपयोग गर्ने र बजार विस्तारका लागि सहजीकरण गरिदिने ।
(७) लगानीकर्ताहरुलाई आकर्षित गर्न लगानीकर्ताहरुलाई करछुट, निशुल्क रुपमा संभाव्यता अध्ययन एवं उद्योग स्थापना हुने स्थानसम्म खानेपानी, सडक, विद्युत लगायतका सुविधा स्थानीय सरकारले उपलब्ध गराउने ग्यारेण्टी गर्ने ।
समग्र गण्डकी प्रदेशको बिकासको सन्दर्भमा प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपालले निरन्तर विभिन्न कार्यक्रम गर्दै आएको र हाल बन्दाबन्दीको समयमा पनि ईन्जिनियरहरुको क्षमता अभिबृद्धि गर्ने विभिन्न तालिम तथा वेभिनार समेत सञ्चालन गरिरहेको पिन गण्डकी प्रदेश सचिव सुरेश तिमिल्सिनाले बताए ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका कामहरुलाईृ प्रभावकारी ढंगबाट अगाडि बढाउने सन्दर्भमा नीति निर्माण देखि योजना पहिचान, स्थलगत अध्ययन, डिजाईन, निर्माण एवं अनुगमनका विविध क्षेत्रहरु सकरात्मक भूमिका खेल्ने योजनाका साथ संगठनले काम गरिरहेको पिन गण्डकी प्रदेशका अध्यक्ष बिकास वाल्लेको भनाई छ ।
रचनात्मक, जनमुखी र समावेशी नीति तथा कार्यक्रम मार्फत अगाडि बढ्दा नेपाल सरकारले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपाली अभियान सफल हुने विश्वास लिएको साथै संभव भएसम्म गण्डकी प्रदेशका धेरै भन्दा धेरै स्थानीय सरकार समक्ष रचनात्मक नीति तथा कार्यक्रमहरुको लागि सुझाव पेश गर्ने संगठनले तयारी गरेको समेत पिन गण्डकी प्रदेश समितिका ईञ्चार्ज खिमानन्द कँडेलले बताए ।
आशा गरौं बागलुङ नगरपालिका नेतृत्व, बागलुङ नगरपालिकामा रहेका विभिन्न राजनीतिक दलहरु एवं सामाजिक अगुवाहरुले बागलुङ नगरपालिकाको योजनाबद्ध विकासको लागि बिभिन्न कोणबाट ब्यापक छलफल र बहस गरी आगामी आर्थिक बर्ष २०७७÷७८ को बार्षिक नीति तथा कार्यक्रम अगाडि ल्याउनेछ ।