लकडाउन खुकुलो भयो : अब कसरी जोगिने कोरोना संक्रमणबाट ?

लामो लकडाउन सकसबीच सरकारले तत्काल कर बुझाउन सूचना जारी गरे पछि लकडाउनका बारेमा अनेक आलोचना, टिकाटिप्पणी र चर्चा भयो । पछिल्ला दिनमा त करिब ३ महिनादेखि जारी लकडाउनको बिरोधमा सडकमै व्यवसायीहरु उत्रिन थाले । र सरकार पनि लामो लकडाउन खुकुलो बनाउन बाध्य भयो । बिहिवारदेखि बिभिन्न चरणमा लकडाउन खुकुलो भएस“गै अब के कस्तो जोखिम आउन सक्ला ? र त्यसमा के कस्तो सचेतना र सुरक्षा अपनाउन आवश्यक देखिन्छ ? जागरण दैनिक र आदर्श सञ्चार अनलाइनका लागि सहकर्मी साधना पन्तले बिभिन्न व्यक्ति सँग टेलिफोन मार्फत संवाद गर्नुभएको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अशंः

जोहन बज्राचार्य
उप–प्राध्यापक
धौलागिरी बहुमुखी क्याम्पस, बागलुङ

पहिलो कुरा त सरकारले लकडाउन खुकुलो बनाउनु भन्दा पहिलेनै सर्बसाधारणद्वारा आफै लकडाउनको अबज्ञा भइसकेको छ । त्यसमा प्रहरी प्रशासनले अवरोध नगर्नु नै लकडाउन खुकुलो हुनु हो । यो झन् जोखिमको दृष्टिकोणले समाजमा कोरोना फैलन सक्ने एक मजबुत आधारको रुपमा अगाडि नआउला भन्न सकिदैन । अब हामी सर्बसाधारण स्वंयम्ले जिम्मेवारीबोध गरि यस कोभिड—१९ को प्रकोपको समयमा सुरक्षा उपाय अपनाउन जरुरी देखिन्छ ।

त्यसको लागि सामाजिक दुरी कायम, माक्स र ग्लोब्सको नियमित प्रयोग, हात खुट्टाको सरसफाई आदि सामान्य तथा अति नै आवश्यक कार्यहरुमा पर्दछन् । यो भन्दा पनि अब सरकारले सबै सार्बजनिक सेवा प्रदान गर्ने कार्यालयहरु नियमित सञ्चालनमा ल्याउनु पर्दछ । जसबाट अति आवश्यक सेवाहरु मात्र सुचारु गर्नु पर्दछ । आजको दिनमा सेवा प्रदायक कार्यालय तथा संस्थाहरु साताको सिमित दिन मात्र खुल्दा साबधानी अपनाउन नसकिएको पाइएको छ । हामी सर्बसाधारणले समेत आजको दिनमा हामीलाई अति नै आवश्यक कार्यको कुन हो ? त्यसको पहिचान गरि मात्र घरबाट निस्कनु पर्छ । आजको दिन सम्म हेर्ने हो भने हामी स्वयम् यस अवस्थामा सजग बनेका छैनौ । चाहे जुनसुकै वर्ग, पेशा, आम्दानी स्तर, पदमा रहेका व्यक्ति नै किन नहोस्, हामीबाट नै यो अवस्थाको साबधानीपूर्वक समाधानमा पहल लिने र सहयोग गर्नुपर्छ ।

आज बजारमा हेर्दा लाग्छ कि घरबाट बाहिर निस्केर हिँड्नु वा सवारी साधनमा सवार भई जानु हाम्रो लागि गर्वको विषय बनेको छ । अझ त्यसलाई सामाजिक सञ्जालमा राखी आफ्नो बहादुरीको प्रर्दशन समेत गरेको कता–कता आभाष हुन्छ । त्यो सबैभन्दा ठूलो मुर्खताको परिचय हो । यस्ता कार्यको निरन्तरताले यस महामारीको अवस्थामा जोखिमको मात्र निमन्त्रणा गर्दछ, निराकरणको होइन । यसको नियन्त्रणको लागि मेरो विचारमा निम्न कार्यहरुलाई हामी सबैले अबलम्बन गर्न सक्यौ भने पनि केहि मात्रामा यस अवस्थाबाट हामी सुरक्षित हुन सकौला ।
– यो परिस्थितिलाइ साबधानी पूर्बक सामना गर्नका लागि हरेक व्यक्ति तथा परिवारले आफुलाई आवश्यक पर्ने दैनिक सामाग्रीको सूची तयार पारी स्थानीय सरकारले तोकेको समयमा मात्र बाहिर गई खरिद गर्नु नै उत्तम देखिन्छ ।
– घरमा बस्दा मनोबैज्ञानिक तवरले पनि स्वस्थ रहनको लागि घरमा सबै सदस्यहरुको लागि नौलो तथा शिक्षाप्रद कार्यमा संलग्न गराउनु पर्छ ।
– घर बाहिर निस्कदा सरकारले लागु गरेको कोभिड—१९ को सुरक्षा कार्यलाई अनिवार्य रुपमा पालना गर्नु पर्दछ ।
– अति आवश्यक कार्यको लागि भन्दा अन्य कार्यको लागि आफ्नो स्थानीय निकाय भन्दा बाहिरको यात्रा नगर्नु नै उचित होला । जानै परे पनि स्वास्थ्य जा“च गराएर र आवश्यक कागजात प्राप्त गरेर, सुरक्षा अपनाएर मात्रै यात्रा गर्नु पर्छ ।

राम प्रसाद खनाल
स्वास्थ्य शाखा प्रमुख
बागलुङ नगरपालिका

अहिले यो समयमा लकडाउन खुकुलो बनाउने काम मेरो विचारमा त्यति उचित होइन । हाम्रो देशको खुल्ला सिमानाले अहिले सबै भन्दा धेरै समस्या निम्ताएको छ । लकडाउन खुकुलो बनाएपछि जोखिम धेरै बढ्छ । लकडाउनले गर्दा केही हद सम्म समुदाय सुरक्षित छ । नेपालमा यति धेरै कडाई गर्दा–गर्दै पनि कोरोना धेरै फैलिसकेको छ । अब फेरी लकडाउन खुकुलो गरियो भने कोरोना झन् धेरै फैलिने सम्भावना देखिन्छ ।

मानिसहरुमा चेतनाको कमी भएको महुशुस गरेको छुु मैले । बागलुङका मानिसहरु लकडाउन भन्दा भन्दै पनि बजारमा भीडभाड गरेको देखिन्छ भने अव लकडाउन खुकुलो गराइयो भने त झन समस्या उत्पन्न हुन्छ र कोरोना नियन्त्रण गर्न कठिन हुन्छ । बागलुङ झन् कोरोनाको उच्च जोखिम भएको ठाउँ हो । यहाँका मानिसहरु धेरै बैदेशिक रोजगारका लागि जानुभएको छ र अब धेरै मानिसहरु फर्कने भएका छन् । अब हामीहरुले ति मानिसहरुलाई कसरी व्यवस्थापन गर्ने कुरामा ध्यान जानु पर्दछ । लकडाउन खुकुलो भयो भने मानिसहरु थाहा नहुने गरेर गाउँ–गाउँ जाने र कोरोना फैलिन सक्ने हुन्छ । बाहिरबाट नेपाल आउने मानिसहरुले पनि के कुरा बुझ्न जरुरी छ भने आफुले गर्दा अरुमा समस्या आउन सक्दछ भन्ने कुरा थाहा हुदाँहुदै बाहिरबाट आएर जथाभावी रुपमा डुल्न हुँदैन । जो व्यक्ति बाहिरबाट आएको हुन्छ, स्वयम् ऊ घरमै क्वारिन्टन निर्माण गरि बस्न सकिन्छ ।

कोरोना रोकथामको लागि मानिसहरुले सबै भन्दा त सामाजिक दुरी कायम गर्नुपर्ने देखिन्छ । हामीसँग सिमित मात्रामा स्रोत साधन छन् । हामीहरुले पीसीआर परीक्षणको दायरा बढाउन पनि सकेका छैनौ । त्यसकारणले यस विषयमा सरकारको विशेष ध्यान जानु पर्दछ ।

हामीहरुले आ–आफ्नो ठाउँबाट कोरोना रोकथामका लागि आफु पनि सुरक्षित र अरुलाई पनि सुरक्षित बनाउने बातावरण निमार्ण गर्नुपर्दछ । बजारमा अनावश्यक कुरामा भीडभाड गर्ने काम गर्नु भएन । सामाजिक दुरी कायम गर्नु पर्दछ । सरसफाइमा ध्यान दिनु पर्दछ । स्वस्थ खानेकुरा खाने, तातो पानी पिउने गर्नु पर्दछ । माक्सको प्रयोग गर्ने, सेनिटाइजरको प्रयोग गर्नु पर्दछ ।

रत्न भण्डारी
पूर्व अध्यक्ष
लायन्स क्लब अफ बागलुङ सिटी

लकडाउन खुकुलो बनाउनु पर्ने बाध्यता सरकारलाई भइसकेको छ । लामो समय भयो लकडाउ गरेको । मानिसहरु आत्तिएका छन् । लकडाउन जति थपिन्छ, मानिसहरुलाई त्यति नै समस्या र तनाव थपिने अवस्था बनेको छ । आफ्नै देशमा केहि गर्छु भनेर ऋण धन गरेर व्यापार व्यवसाय शुरु गरेका मानिसहरुलाई समस्या आएको छ । दैनिक काम गरेर गुजारा गर्ने मानिसहरुलाई समस्या भएको छ । सरकारले सहयोग राहात पनि दिएको छ तर सरकारले पनि जति सक्दछ त्यति त हो गर्ने । कोठा भाडामा लिएर व्यापार गर्ने मानिसहरुले महिनै पिच्छे कोठा भाडा तिर्नु परेको छ ।

आम्दानी छैन, बैंकको व्याज तिर्नु परेको छ । त्यसकारणले अब लकडाउन खुकुलो बनाएर मानिसहरुले सामाजिक दुरी कायम गरेर काम गर्न सुरु गर्नु पर्दछ । सधैभरी लकडाउन समस्याको समाधान होइन । अव नागरिकहरुले पनि बुझ्नु पर्ने कुरा छ की कोरोनाबाट बच्नका लागि आफै ध्यान दिनु पर्दछ भनेर । भीडभाडमा नजाने, सरसफाईमा ध्यान दिन, अनावश्यक काममा घर बाहिर ननिस्कने गर्नु पर्दछ ।

लकडाउनले एउटा राम्रा कुरा पनि गरेको छ । हामीहरु सधै काम काम भनेर परिवारलाई समय दिन नसकेका धेरै मनिसहरुले अहिले आफ्नो परिवारसंग संगै बस्ने रमाईलो गर्ने मैका पाएका छन् । धेरै नागरिक शहर बजार बस्दथे तर कोरोनाका कारण गाउँ घरमा मानिसहरु फर्किएका छन् । गाउँ घरका खेतीयोग्य जमिन बाझै हुन्थे तर अहिले खेतबारी हरियाली भएका छन् । गाउँमा कोही कसैको मृत्यु भयो भने घाट सम्म लास पु¥याउने मानिस नभएको दिन थियो तर अहिले गाउँ भरी भराउ भएको छ । लकडाउन खुकुलो हुदाँ साथ सवै मानिसहरुले ध्यान दिनु पर्दछ । बाहिरबाट आएका मानिसहरुलाई व्यवस्थित गर्नु पर्दछ । उनीहरुलाई जथाभावि हिड्डुल गर्न दिनु हुदैन ।

सवै मानिसहरुले बुझनु पर्दछ कि हामीहरुले अरुका लागि भन्दा पनि आफ्ना लागी अहिले सुरक्षित हुनुपर्ने हो भनेर । हामीहरु जहाँ छौ, त्यही बस्नु पर्दछ । हामीहरुले यो अवस्थामा सरकारलाई कसरी सहयोग गर्न सकिन्छ, सके सम्म त्यसरी नै सहयोग गर्नु पर्दछ । हामीहरु जथभावी बाहिर निस्कियौ भने सवैलाई समस्या हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *