फेरी लकडाउनको अवस्था नआओस्

सम्पादकीय

देशमा कोरोना भाइरस (कोभिड १९)को संकट बढ्दो छ । तर, देशमा जारी ७९ दिनदेखि जारी लकडाउनका बिषयमा असन्तुष्टि बढ्दो छ । यो असन्तुष्टि र उकुसमुकुसकै बीच नेपाल सरकारले आर्थिक बर्षको अन्त्य हुन लागेको भन्दै नागरिकलाई असार २५ मा कर तिर्न आग्रह गरे पछि सर्वत्र बिरोधको आवाज उठ्यो । जनता र व्यवसायीलाई घर भित्र लकडाउनमा राखेर सरकारले संकटमा कर तिर्न बोलाउने बिषय स्वभाविक निर्णय थिएन । सरकारले यो संकटको घडीमा केहि सामान्य उन्मुख बातावरण तयार गरेर त्यो निर्णयमा पुग्नु पर्ने थियो । तर, यो निर्णय पश्चात सडकमै निस्किएर बिरोध प्रर्दशन समेत शुरु भए पछि सरकार आफ्नो निर्णयबाट त पछि हट्यो नै । जेठ ३२ सम्म लकडाउन गरेको सरकार २८ गतेनै लकडाउन खुकुलो गराउने निर्णयमा पुग्नुप¥यो । जनता र व्यवसायीको तिव्र बिरोध र दबाबका बीच चैत्र ११ देखि जारी बन्दाबन्दी (लकडाउन) खुकुुलो त सरकारले बनायो । तर, यस पश्चातका दिन पनि नेपालका लागि त्यति सहज छैन । किनकी बल्ल कोरोना संक्रमण दर बढ्दो छ, यसले अझ भयावहको अवस्था आउने संशय बढेको छ ।

सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गर्नु केहि दिन अघि विश्व स्वास्थ्य संगठनको सन्देश र नयाँ सर्कुलर उदृत गरेर क्वारेन्टिन मात्र होइन, आइसोलेसनमा समेत १४ दिन भन्दा बढि नराख्ने र घर पठाउन भनियो । कोरोना संक्रमण पुष्टि भएको (पोजेटिभ देखिएको) १४ दिनमा अस्पतालको आइसोलेसनबाट निको भए पनि/नभए पनि (लक्षण नदेखिएको हकमा) डिस्चार्ज गरेर पठाउन थालिएको छ । धौलागिरी अस्पतालबाट समेत बुधवार तमानखोला गाउँपालिकाका दुई र बडिगाड गाउँपालिकाका दुई जना गरि चार जनालाई डिस्चार्ज गरियो । उनीहरुलाई जेठ १४ मा संक्रमण पुष्टि भए पनि त्यसपछिको एक रिपोर्ट नेगेटिभ आएको र आइसोलेसन बसेको १४ दिन भएकाले नयाँ निर्देश अनुसार डिस्चार्ज गरिएको हो । जब कि नेपालको पाचौ तथा जिल्लाको पहिलो संक्रमित बानपा ४ कुँडुलेकी अंशु सापकोटा २८ दिन र नेपालको छैठौ तथा जिल्लाको दोस्रो संक्रमित बानपा ३ कि ६५ बर्षीया मनकुमारी पौडेल १४ दिनमा डिस्चार्ज भएका थिए । उनीहरु संक्रमित भए पछिको लगातार दुई पीसीआर रिपोर्ट नेगेटिभ आए मात्र डिस्चार्ज गरिने मापदण्ड थियो । र यस अनुसार अंशु सापकोटाले त कोरोना जित्न या डिस्चार्ज हुनका लागि २८ दिन लामो समय र यसक्रममा पाँचौ र छैठौ रिपोर्ट नै कुर्नुप¥यो । तर, अहिले आइसोलेसन भर्ना भए पनि १४ दिन सम्म कुनै लक्षण नदेखिए परीक्षण नगरिकन घर पठाइदैछ । यसले अवस्था फेरी भयावह बन्ने र अहिले खुकुलो बन्दै गरेको लकडाउनको फेरी पुरानो नियति फेरी दोहोरिने संशय र चिन्तामा नागरिक छन् ।

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको पछिल्लो मापदण्ड र निर्देशनले कोरोनाको अबको सम्भावित जोखिम र क्षति (जस अपजस)को बल अस्पताल, स्वास्थ्य संस्था, चिकित्सक, स्वास्थ्यकर्मीको हातबाट स्थानीय तह र सम्बन्धित परिवारको कोर्टमा जर्बजस्त गएको छ । अब स्थानीय तह र परिवारले यसरी जानेहरुलाई व्यवस्थित हिसावले होम आइसोलेसनमा राखेर कोरोना बिरुद्ध शानदार गोल गर्छन् या आत्मघाती गोल गरेर सिंगो पालिका र समुदायलाई आक्रान्त बनाउँछन् ? यसको अग्नी परिक्षा शुरु भएको छ । स्थानीय पालिकाहरुले अब समुदाय स्तरमा सम्भावित संक्रमण र संक्रमित भएकालाई होम आइसोलेसनमा राख्ने, तीनको यथोचित निगरानी र काउन्सिलिङ गर्ने, जिल्ला र साविकको आञ्चलिक स्तरमै जतिसक्दो छिटो पीसीआर परीक्षण गर्ने बिषयलाई चुस्त र प्रभावकारी बनाउन अपरिहार्य छ । यो बिषयमा संक्रमित पुष्टि भएर गएका या विदेशबाट आएकाहरुले लापरवाही गर्ने र स्थानीय सरकारहरुले गम्भीरतापूर्वक योजनावद्ध कदम नचाल्ने हो भने कोरोना संक्रमणको भयावह हुन सक्ने र खुकुलो बन्दै गरेको लकडाउनको नियति फेरी भोग्नुपर्ने बिडम्बनापूर्ण अवस्था आउन सक्छ । यसमा हामी सबैले जिम्मेवारीपूर्ण भुमिका निर्वाह गरौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *