गलकोट मल्ममा कोभिड १९ विपत व्यवस्थापन कोष स्थापना

थम्मन थापा बागलुङ
गलकोट नगरपालिका वडा नम्बर ७ मल्ममा कोभिड १९ तथा विपत व्यवस्थापन कोष स्थापना गरिएको छ ।

अहिले विश्व व्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ र विभिन्न समयमा वडामा आइपर्ने प्राकृतिक सँगै अन्य विपत्ति लाई मध्यनजर गर्दै राहत कोष संकलन अभियान शुभारम्भ गरिएको गलकोट नगरपालिका ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो । राहत कोषमा अहिले झण्डै २ लाख रुपैयाँ संकलन भइसकेको छ ।

वडामा आयोजित सर्वदलीय सर्वपक्षीय बैठकले कोभिड १९ तथा विपत व्यवस्थापन कोष नामाकरण गरी कोषलाई दीर्घकालीन रुपमा अगाडि बढाउने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका वडा कमिटी अध्यक्ष ललित मरासिनीले बताउनुभयो ।

कोषलाई व्यवस्थित र पारदर्शी रूपमा अगाडि बढाउन वडा अध्यक्ष टिका बहादुर थापा संयोजक रहेको २९ सदस्यीय कोभिड १९ तथा विपत व्यवस्थापन समिति गठन गरेको नेपाली कांग्रेसका वडा सभापति चिरञ्जीवी मरासिनीले जानकारी दिनुभयो ।

वडा भित्र कोरोना भाइरसको संक्रमण भएमा या अन्य विपत आइपरेमा कोष मार्फत अत्यावश्यक अवस्थामा खर्च गर्न ९ सदस्यीय सचिवालय समिति समेत चयन गरिएको छ । गाउँ टोल देखि देशभर आर्थिक संकलन अभियानलाई अगाडि बढाउन वडा सदस्य लक्ष्मी सार्की संयोजक रहेको २७ सदस्यीय आर्थिक संकलन समिति पनि चयन भएको छ ।

त्यस्तै विदेशमा रहेका वडाका नागरिकहरुलाई पनि अभियानमा सहभागिता गराउन विदेश विभाग गठन गर्ने निर्णय गरिएको छ त्यसको लागि सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखालाई जिम्मा प्रदान गरिएको वडा सदस्य लोक बहादुर थापाले जानकारी दिनुभयो ।

कोभिड १९ तथा विपत कोष सम्बन्धि कार्य विधि निर्माण गर्न प्रध्यापक डाक्टर दिन बहादुर थापा, डाक्टर गंगाराम गौतम र बुद्धिजीवी होम बहादुर थापालाई जिम्मा दिइएको वडा सदस्य मिना दर्जीले बताउनु भयो । अहिले उक्त कोभिड १९ तथा विपत व्यवस्थापन कोषमा सहयोग गर्ने सहयोगी मनहरुको संख्या दिनहुँ बढ्दै गइरहेको छ ।

अभियानलाई गाउँदेखि सहर अनि देश विदेशसम्म जोड्नको लागि सामाजिक सञ्जाल मार्फत कार्य सम्पादन पनि हुँदै आएको छ । अभियानको देश विदेशमा रहेका वार्डबासी नागरिकहरुले प्रशंसा समेत गरेका छन् । कोष स्थापना भए पछि वडामा आई पर्ने प्राकृतिक विपत तथा कोभिड १९ को लागि खर्च व्यवस्थापन गर्न सहज हुने बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *