सम्पादकीय
दान दिने चलन हराउँदो छ । अन्न दान, मुठ्ठी दान, गाइदान, श्रमदान, रक्तदान भन्दा आजकालका मानिसहरु बिच्किए जस्ता लाग्छन् । अधिकांशमा दानको भावना स्खलित छ । कतिपय दान पुन्यमा आधारित छ भने कतिपय दान सामाजिक उत्तरदायित्व, अपनत्व र जिम्मेवारसँग सम्बन्धित छ । यो नेपाली समाज परोपकारी समाज थियो भन्ने गज्जबको उदाहरण इतिहास बन्ने खतरामा छ । अरु दानहरुको कुरा छोडेर श्रमदानको कुरा गरौं । आजको समयमा जनश्रमदानको अभ्यास करिब करिब हराइसकेको छ । शहरमा अलि पहिले देखि हराए पनि गाउँघरमा धेरै पछि सम्म रहेको श्रमदान सँस्कृति अहिले अभ्यासमा दुर्लभ छ । सरकारी नियम अनुसार, हरेक योजना, आयोजना र कार्यक्रमहरुमा श्रमदान र स्थानीयको अपनत्वका लागि अनिवार्य शर्त छ । तर, त्यो कागजको पानामा सिमित हुँदैछ । स्थलगत रुपमा श्रमदान गरेको कम देखिन्छ । सरकारी कागजमा श्रमदान नगरेको कुनै योजना र पाना बाँकी भेटिन्न । हाम्रो विगतको स्थानीयको अपनत्व र जिम्मेवारको बोध गराउने श्रमदानको सँस्कृति कति बिचलनको अवस्था छ ? यस्ता तथ्यहरुले प्रष्ट्याउँछ ।
के साँच्चिकै अब जनश्रमदानको सँस्कृतिमा नागरिकले अपनत्व र जिम्मेवारीबोध गर्न छोडेका हुन् त ? धेरै सोचनीय र सचेत हुने, गम्भिर समिक्षा र छलफल गर्नुपर्ने अवस्थामा आइपुगे पनि निराश भईहाल्नु पर्ने अवस्था भने छैन । किनकी, यही समुदायमा कतिपय स्थानीय र उपभोक्ता समितिले धेरैका लागि उदाहरणीय हुने गरि श्रमदान गरेका छन् । बागलुङ सरदमुकाम छेउ भएर पनि पिउने पानीको सकस बर्षौदेखि बेहोरिरहेका बागलुङ नगरपालिका वडा नम्बर ४ तल्लो पाखाथरका स्थानीयले अहिले पम्पिङ आयोजना मार्फत सबै घरमा स्वच्छ खानेपानी पु¥याए । यो आयोजनाका लागि स्थानीयले प्रति घर नगद २५ हजार जम्मा गरे । नगद मात्रै होइन, बर्षौदेखिको समस्या अन्त्यका लागि कागजमा श्रमदान होइन, प्रति परिवार ४५ दिन सम्म प्रत्यक्ष जनश्रमदान गरे । यसका लागि उनीहरुले बेला बेला टोल विकास समिति, संस्थागत सदस्यताबाट संकलन गर्ने गरेको रकम पनि आयोजनामै हाले । र बागलुङ नगरपालिकाको २० लाख ७३ हजार सहयोग सहित ३१ लाखको आयोजना निर्माण गर्दा नगद सहित १० लाख ९ हजार बराबरको श्रमदान र लगानी गरे । स्थानीयका अनुसार, आयोजनामा कुल ३१ लाख ८१ हजार खर्च भएकाले एक लाख भन्दा बढी रकम घाटामा छ । यो रकम पनि उठाएर तिर्ने संकल्प अझै छ ।
यो कुनै चामत्कारिक काम होइन र छैन पनि । तर, यति भन्नुपर्ने या यसका बारेमा चर्चा गर्नुपर्ने अवस्था किन आयो भने हामीकहाँ श्रमदानको भावना, सँस्कृृति र सोच हराउँदो क्रममा छ । आँफ्नै घर अघिको आँगन, सडक पेटी, ढल सरसफाई गर्न पनि हामीले राज्यलाई कुर्न थाल्यौ । अरु कसैले कुनै दिवस सन्दर्भ पारेर सरसफाई, सचेतनामूलक कार्यक्रम गर्दा हामी घरका छत र बार्दलीबाट हेरेर मजाक लिन थाल्यौ । श्रमदान या गाउँ, टोलका योजनामा नागरिकको अपनत्व, भुमिकाका खोजिदा हामी बिभिन्न बाहनामा पन्छियौ । दोषारपण गर्न भने निकै सजिलो हुन्छ । र त हामी समाज प्रतिको दायित्वलाई कठिन सम्झेर त्यही दोषारोपण गर्ने सजिलो काम गर्न थाल्यौ । अतः अब हामीसँग दुई वटा बिकल्प छ । हाम्रो समाजमा पुर्खजदेखि चलि आएको जनश्रमदानको सँस्कृति जो श्रमदान गर्नेसँग मात्र सम्बन्धित छैन, योजनाहरुको दीगोपनाको मनोविज्ञान समेत यसमा जोडिएको छ । यसलाई छोडेर कागजी विकास र मिलान तिर लाग्ने ? या यसलाई फेरी श्रम सँस्कृतिको उभार पैदा हुने गरि अघि बढाउने ? तपाई हाम्रै हातमा छ ।