अहिले कोरोना संकटको चौतर्फी भयावह छ । यसको फ्रन्टलाइनमा चिकित्सक स्वास्थ्यकर्मी छन् र देखिन्छन् । तर, हामीले उनीहरुसँगै त्यहाँ जोखिम मोल्ने अरु धेरै पात्रहरुको कर्म र संवेदनशिलताबारे सायदै सोचिरहेका छौ । यसकै एक क्षेत्र या कर्ममा समर्पित हुन् धौलागिरी अस्पतालमा सरसफाईको जिम्मा लिएका कर्मचारी । उनीहरु कोरोना संकटको तिव्र जोखिमका बीच आइसोलेसनदेखि अस्पतालको समग्र सरसफाइमा अहिले पनि खटिरहेका छन् । एक साता सरसफाईमा खटिएर होम क्वारेन्टिन बस्ने केहि प्रतिनिधि पात्रको कोरोना संकट, त्यस क्रमको सरसफाई सकस र अनुभव जागरणकर्मी सिर्जना पन्तले बुझ्ने प्रयास गर्नुभएको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अशंः
बुद्धिमाया थापा (अमृता)
बडिगाड गाउँपालिका–३
हाल बानपा–४ उपल्लाचौर बागलुङ
धौलागिरी अस्पतालमा काम गर्न थालेको ३ वर्ष हुन लाग्यो । यो बिचमा विभिन्न खालका रोगी र बिरामीलाई देखे । तर उनिहरुलाई देखेर आफुलाई पनि सर्छ कि भन्ने डर कहिल्यै लागेको थिएन । धौलागिरी अस्पताल बागलुङमा राखिएका शुरुवाति ताकाका दुई जना संक्रमित निको भएर घर नर्फकदा सम्म धेरै डर लागेको थियो । आजभोली त डर केहि कम भएको छ । सुरुमा पीपीई लगाउदा निकै गाह्रो हुन्थ्यो । स्वास फेर्न पनि गाह्रो हुने । माक्स र चश्मा लगाए पछि त उकुस मुकुस हुन्थ्यो । डाक्टर र सिस्टरहरुले सम्झाउनु भयो । तपाई डराएर हो, नडराउनुस् यो लगाए पछि केही हुँदैन भन्नुभयो ।
आजभोली विस्तारै बानी परेको छ । संक्रमित बसेको कोठा सफा गर्न जाँदा के गर्ने, के नगर्ने, कहाँ कसरी बस्ने भनेर पनि उहाँहरुले सिकाउनुभयो । डाक्टर र सिस्टरले मात्र होइन, कोरोनाका संक्रमितलाई छिटो निको बनाउन आत्मबल बढाउनका लागि हामी सरसफाई कर्मचारीहरुले पनि उनिहरुलाई भेट्दा हौसला प्रदान हुने कुरा गर्ने गर्छाै । के खान मन लागेको छ ? के गर्न मन लागेको छ ?
तपाईलाई छिट्टै सञ्चो हुन्छ, आत्तिनु हुँदैन भन्छौ । हुन त सरसफाई गर्ने काम हो । तर पनि हामीहरु कोरोनाका संक्रमितसँग प्रत्यक्ष भेटघाट गरिरहेका हुन्छौ । आफ्नो मात्र कुरा हुँदा पीपीई लगाए पछि सुररिक्षत छु भन्ने लाग्छ । तर, परिवारको कुरा उठ्यो भने मन झस® हुन्छ । मेरा दुई १४ र १७ वर्षका अपाङ्गता भएका छोरा छन् । मलाई कोरोना लाग्यो भने त ठिक हुन्छु होला । मेरा छोरालाई लाग्यो भने के गर्ने भन्ने चिन्ता अहिले पनि लाग्छ । अहिले कोठामा छु । निरन्तर १ हप्ता सम्म ड्युटी गरे पछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने अस्पतालले नियम बनाएको छ ।
म पनि १ हप्ताको ड्युटी सकेर बसेकी हुँ । तर, मैले नपकाए छोराहरु भोकै हुन्छन् । उनिहरुलाई पकाउने, खुवाउने, उनिहरुको समेत सरसफाईको काम म आफैले गर्नुपर्ने भएकाले मलाई क्वारेन्टिनमा बस्न सम्भव छैन । वृद्धवृद्धा, अपाङ्गता भएका र बालबालिकालाई छिटो कोरोना संक्रमण हुन्छ भन्ने धेरै सुने । कहिले कहिले त निद्रामा पनि झस® हुन्छु । अस्पतालले स्वास्थ्यकर्मीको लागि मात्र होइन, हामी कार्यालय सहयोगीको लागि पनि सुरक्षाको राम्रो व्यवस्था गरेकाले मलाई र मेरा सहकर्मीलाई कोरोना लाग्दैन होला र नलागोस् भनेर भगवानसँग प्राथना गर्छु ।
टिकाराम आचार्य
देशमा दिन प्रति दिन कोरोना संक्रमितको संख्या बढ्दो छ । सुरुवातको दिनमा एकदमै डर लाग्थ्यो । तर, आजभोली विस्तारै बानी परेको छ । बढ्दो संक्रमितको संख्या हेर्दा जोखिम थप बढेको महुशुस हुन्छ । त्यसैले थप सचेत र सुरक्षित हुन जरुरी छ । धौलागिरी अस्पतालमा काम गर्न थालेको ११ वर्ष बित्यो । यो अवधिमा जस्तोसुकै परिस्थितिमा पनि काम गरियो भने अहिले त देश र जनतालाई हामीहरुको आवश्यकता छ ।
संक्रमित राखेको आइसोलेसन वार्डको सरसफाई गरिएन भने जोखिम थप बढ्छ । त्यसैले हामीहरु आफ्नो जिम्मेवारीमा खटिएका छौ । नेपालमा कोरोना संक्रमित भेटिएनन् भन्दा भन्दै एक्कासी संक्रमितको संख्या दिन दुई गुणा रात चौगुनााको दरले बढिरहेको छ । यस्तो समयमा तालिम र प्रशिक्षण लिने दिने कुरै भएन । अस्पतालका डाक्टरहरुले सिकाउनु भए अनुसार गर्दै आएका छौ । आइसोलेसन वार्डको सरसफाई र अन्य व्यवस्थापनका लागि जादाँ पीपीइ लगाएर जान्छु । संक्रमितसँग कुरा पनि गरेको छु ।
उनिहरुलाई आत्मबल बलियो बनाउनुपर्छ, जति खुशी भयो त्यति छिटो कोरोना निको हुन्छ भन्ने गरेको छु । अहिले सम्म संक्रमण भए पनि लक्षण देखिएका धेरै विरामीहरु हुनुहुन्न । त्यसैले पनि आफु सुरक्षित छु जस्तो लाग्छ । संक्रमितलाई आइसोलेसनमा राख्नु भन्दा पहिले निकाले पछि र बीच बीचमा वार्डलाई किटाणु रहित बनाउनको लागि हामीहरुले काम गर्दै आएका छौ । अस्पतालमा रहुञ्जेल वास्ता हुँदैन । तर, घर जाँदा भने भित्र भित्र डरको आभाष हुन्छ । श्रीमती, छोरा, बुहारी र स–साना नातिनातिनी छन् ।
कतै मैले गर्दा उनिहरुलाई जोखिम त हुँदैन भन्ने लाग्छ । बागलुङमा पहिलो पटक संक्रमित भेटिएको दिन देखि परिवारका सदस्यसंग संगै बसेर खाना खाएको छैन । एउटै कोठामा बसेको छैन । आफ्नै घरको एउटा कोठालाई क्वारेन्टिनको रुपमा प्रयोग गरेको छु । अस्पतालबाट ड्युटी सकेर घरै गएपनि सुररिक्षत बस्छु । काम गर्दा गर्दै बुढो भइयो । यो उमेरमा पनि देश र जनताको लागि अग्रभागमा रहेर काम गर्ने अवसर प्राप्त भएको छ । त्यसैले गुनासो छैन ।
राम्रो छ