रिपोर्टमा ढिलाई : स्थानीय तहलाई क्वारेन्टिन खर्च धान्नै सकस

जिल्लाको बडिगाड क्वारेन्टिनमा पीसीआर रिपोर्टको पर्खाइमा रहेकाहरु ।

डम्मर बुढा मगर/साधना पन्त

रोजगार तथा विभिन्न पेशा व्यवसायमको शिलशिलामा नेपाल बाहिर गएका नागरिकहरु यतिबेला कोरोना महामारीको कारण जिल्ला फर्किएका छन् । उनीहरुलाई स्थानीय पालिकाले निर्माण गरेको क्वारेन्टिनमा राखिएको छ ।

विदेशबाट आउनेको संख्या दैनिक बढ्दो छ । पालिकाले निर्माण गरेका क्वारेन्टिन भरिभराउ छन् । कतिपय स्थानीय तहले टहरो समेत निर्माण गरेर आगन्तुक व्यक्तिहरुलाई क्वारेन्टिन बनाएर राखेका छन् ।

बागलुङका अधिकांश पालिकाहरुले क्वारेन्टिनमा बसेका नागरिकको खाना, यातायात लगायतको व्यवस्थापन गरिरहेका छन् । उनीहरुको खाना लगायत अन्य व्यवस्थापन गर्दा दिनहुँ खर्च बढिरहेको छ । स्वाब परीक्षणका लागि पोखरा पठाइए पनि समयमा रिपोर्ट नआउँदा संक्रमित नभएका नागरिकहरु पनि लामो समय क्वारेन्टिनमै बस्नु परेको छ ।

ढोरपाटन नगरपालिका
ढोरपाटन नगरपालिकामा विदेशबाट आएर २ सय ८२ जना क्वारेन्टिनमा रहेका छन् । उनीहरुको खाना खर्चका लागि नगरपालिकाले प्रति व्यक्ति दैनिक ५ सय १० रुपैयाँ छुट्याएको प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले जानकारी दिनुभयो । नगरपालिकाले २० क्वारेन्टिनमा ३÷३ जना स्वयम्सेवक खटाएको छ । उनीहरुको लागि दैनिक १५ सयका दरले पारिश्रमिक दिने उहाँको भनाई छ । नगरपालिकाले क्वारेन्टिनमा रहेकाहरुको खाना खर्च र अन्य व्यवस्थापनको लागि १ करोड १ लाख रुपैयाँ खर्च गरको पोखरेलको भनाई छ ।

गलकोट नगरपालिका
गलकोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा हाल १ सय ७४ नागरिक छन् । उनीहरु सबै केही दिन अगाडी भारतबाट आएका हुन् । उनीहरु सबैको खाने बस्ने लगायतको व्यवस्थापन नगरपालिकाले गरेको नरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

नगरपालिकाले हालसम्म क्वारेन्टिनमा बसेकाहरुको व्यवस्थापनका लागि ६५ लाख बढी खर्च गरेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । क्वारेन्टिनमा रहेकाहरुका खानाको लागि दैनिक करिब ५० हजार खर्च हुने उहाँले बताउनुभयो ।

बागलुङ नगरपालिका
बागलुङ नगरपालिकाको क्वारेन्टिनमा १ सय ३ जना नागरिक छन् । क्वारेन्टिनमा मानिसहरु बस्न लागेदेखि हाल सम्म पनि नगरपालिकामा दैनिक कति खर्च लाग्छ ? र कति खर्च भएको भन्ने विवरण तयार नपारेको क्वारेन्टिन व्यवस्थापन संयोजक दिनेश जिसीले जानकारी दिनुभयो । उहाँले अहिलेसम्म क्वारेन्टिनमा बस्ने मानिसहरुलाई भनेर प्रदेश सरकारबाट रकम नआएको भन्दै दैनिक रुपमा नगरपालिकाले पसलबाट सामग्रीहरु ल्याउने गरेको तर अहिलेसम्म खर्च कति भयो भन्ने बारेमा बिल पनि नलिएको र हिसाब पनि नभएको बताउनुभयो ।

अहिले नगरका सबै वडाले बाहिरबाट आएका मासिनहरुलाई आफै लगेर क्वारेन्टिनमा राखेको उहाँको भनाई छ । क्वारेन्टिनमा बस्ने मानिसहरुको खानाको लागि लाग्ने खर्च नगरपालिकाले नै व्यवस्थापन गरेको जिसीले बताउनुभयो ।

जैमिनी नगरपालिका
जैमिनी नगरपालिकामा विदेशबाट आएर १ सय ७५ जना क्वारेन्टिनमा छन् । जस मध्ये १ सय जनाको स्वाब परीक्षण गर्न पोखरा पठाइएको स्वास्थ्य शाखा प्रमुख गोविन्दप्रसाद शर्माले जानकारी दिनुभयो ।

एक सय स्वाब परीक्षण गर्न पठाइएकोमा १० जनाको रिपोर्ट आएको र ९० जनाको आउन बाँकी रहेको उहाँको भनाई छ । नगरपालिकाले क्वारेन्टिनमा बसेकालाई प्रति व्यक्ति २ सय २५ छुट्याएको शर्माले जानकारी दिनुभयो । उनीहरुको व्यवस्थापनका लागि करिब ३३ लाख रुपैयाँ खर्च भइसको उहाँको भनाई छ ।

निसीखोला गाउँपालिका
निसीखोला गाउँपालिकामा अहिले ३ सय ४१ जना क्वारेन्टिनमा रहेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिनुभयो । उहाँले १४ दिनसम्म एक जनालाई २ हजार ५ सय रुपैयाँका दरले छुट्याएको बताउनुभयो । विदेशबाट आउनेको संख्या बढि रहेको उहाँको भनाई छ । क्वारेन्टिनको बसाइपछि धेरै घर पनि फर्किसकेको अध्यक्ष पौडेलको भनाई छ । पालिकाले वडा–वडामा क्वारेन्टिन व्यवस्थापन गरेको छ ।

भारतबाट आउने मानिसहरुलाई बोर्डरबाट पालिका आउने खर्च समेत बेहोरेको जानकारी दिनुभयो । पालिकामा बनाएका क्वारेन्टिनमा राखेका मानिसहरुलाई खाना पकाउने मानिसहरु पनि पालिकाले व्यवस्थापन गरेको पौडेले बताउनुभयो ।

तमानखोला गाउँपालिका
तमानखोला गाउँपालिकालमा हालसम्म विदेशबाट आउनेको संख्या बढी छ । हाल पालिकाले निर्माण गरेको क्वारेन्टिनमा २३ जना रहेको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो ।

गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा रहेका नागरिकले कुनै स्थानमा आफै पकाउने खाने गरेको र कुनै क्वारेन्टिनमा बाहिर पकाएर खुवाउने व्यवस्था गरेको अध्यक्ष बुढाको भनाई छ । क्वारेन्टिनमा रहेकाहरुको व्यवस्थापनको लागि गाउँपालिकाले हाल सम्म करिब ३० खर्च गरेको उहाँको भनाई छ ।

ताराखोला गाउँपालिका
ताराखोला गाउँपालिकामा हाल १०१ जना क्वारेन्टिनमा छन् । उनीहरुलाई गाउँपालिकाले निर्माण गरेको ११ वटा क्वारेन्टिनमा राखिएको गाउँपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक दिपक खड्काले जानकारी दिनुभयो ।

क्वारेन्टिनमा रहेका ७३ जनाको स्वाब संकलन गरेर पोखरा पठाइएको खड्काको भनाई छ । बाँकी रहेकाहरुको पनि स्वाब संकलन भइरहेको उहाँको भनाई छ । हालसम्म क्वारेन्टिनमा बसेका ४० जना घर फर्किसकेका छन् भने एक जनामा कोराना पोजेटिभ देखिएपछि बागलुङ ल्याइएको छ ।
स्वाब संकलन गरेर पठाइएको मध्ये ३३ जनाको रिपोर्ट आउन बाँकी छ । क्वारेन्टिनमा रहेकाहरुको दैनिक खाना र अन्य व्यवस्थापनमा ३० हजार बढी खर्च हुने खड्काको भनाई छ । हालसम्म १० लाख खर्च भइसकेको उहाँले जानकारी दिनुभयो ।

काठेखोला गाउँपालिका
काठेखोला गाउँपालिकामा अहिलमा हाल १ सय २७ जना क्वारेन्टिनमा रहेको पालिकाका स्वाथ्य प्रमुख रामचन्द्र लामाले जानकारी दिनुभयो ।

शुरुमा राखेका मासिहरुलाई दैनिक ५ सयको दरले खानको व्यवस्था गर्ने गरेको तर जेठ २२ गतेदेखि पालिकाले एक व्यक्तिलाई ४ सयको दरले व्यवस्थापन गर्ने निणय गरेको बताउनुभयो ।
उहाँले दैनिक रुपमा मानिसहरु बढ्दै गएको र पालिकालाई खर्च थेग्न गाह्रो भएकाले खर्च कम गरेको बताउनुभयो । शुरुको समयमा सबै क्वारेन्टिन व्यवस्थापन पालिकालेनै गरेको तर अब भने मानिस धेरै भएकाले खाने, स्वास्थ्य सामग्री र क्वारेन्टिन पालिकाले व्यवस्थापन गर्ने र क्वारेन्टिनमा बिस्तारा आफै घरबाट व्यवस्थापन गर्न लगाएको लामाले बताउनुभयो ।

बरेङ गाउँपालिका
बरेङ गाउँपालिकालमा हालसम्म विदेशबाट आएर १ सय ३० जना क्वारेन्टिनमा बसेका छन् । उनीहरु सबैको खाने बस्नेको व्यवस्था गाउँपालिकाले गरेको छ । उनीहरुको खान बस्नको व्यवस्थापनका लागि दैनिक २६ हजार २ सय ६० रुपैयाँ खर्च भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।

हालसम्म पालिकाले उनीहरुको व्यवस्थापनको लागि २१ लाख बढी खर्च गरिसकेको उहाँले जानकारी दिनुभयो । क्वारेन्टिनमा रहेका १ सय १० जना स्वाब संकलन भइसकेको छ ।
जसमध्ये ७१ जना घर फर्किसकेका छन्, जस मध्ये ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा छन् । गाउँपालिकाले विदेशबाट आएका सबै नागरिकहरुलाई भाडा समेत दिएको थियो ।

बडिगाड गाउँपालिका
बडिगाड गाउँपालिकामा अहिले २ सय ६५ जना नागरिहरु क्वारेन्टिनमा बसेका छन् । पालिकामा दैनिक रुपमा विदेशबाट आउनेको संख्या बढेसँगै खर्च समेत बढिरहेको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिनुभयो । दैनिक रुपमा ७५ हजार क्वारेन्टिनमा बस्नेका लागि खर्च भएको उहाँले बताउनुभयो ।

उहाँले पालिकामा कोरोना राहात कोषमा शिक्षकहरुको १० दिनको पारिश्रमिक कटाएर ३० लाख रकम आएको र अन्य संघ संस्था, समुहबाट सहयोग गरेर कोषमा ७९ लाख रुपैयाँ संकलन गरेको र त्यो रकम सवै खर्च भइसकेको बताउनु भयो । पालिकाले क्वारेन्टिनमा बसेका मनिसहरुलाई दैनिक १ वटा अण्डा, चना, खाना, खाजाको समय तालिका बनाएर दिएको र अहिले आमा समुहले कहिलेकाही क्वारेन्टिनमा बसेका मानिसहरुलाई खाजाको व्यवस्था मिलाइ दिएको पाइजाले बताउनुभयो ।

अब कहिले सम्म थेग्लान् स्थानीय तहले ?
निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले विदेशबाट आउनेको संख्या दिन प्रतिदिन बढिररहेकाले उनीहरुको व्यवस्थापनमा गाउँपालिकाले सक्दो प्रयास गरिरहे पनि ठुलो सकसमा रहेको गुनासो गर्नुभयो । अध्यक्ष पौडेलले विदेशबाट आउनेको संख्या जिल्लाका अरु पालिकामा भन्दा बढी भएकाले दैनिक खर्च बढि भए पनि प्रदेश र केन्द्र सरकारले सहयोग नगरेको बताउनुभाये । उहाँले स्वाब परीक्षणको लागि पठाइए पनि समयमै रिपोर्ट नआउँदा खर्च दैनिक बढ्दो क्रममा रहेको बताउनुभयो । समयमै रिपोर्ट आएको भए धेरै खर्च नहुने र विदेशबाट आउनेहरुलाई व्यवस्थापन गर्न सहज हुने उहाँको भनाई छ ।

बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले अहिलेसम्म जसोतसो विभिन्न योजनाको रकम काटेर व्यवस्थापन गर्दै आए पनि यही क्रम लम्बिने हो भने अब व्यवस्थापनमा गाह्रो पर्ने बताउनुभयो । अध्यक्ष पाइजाले परीक्षणको लागि पठाएका स्वाबको रिपार्ट नआउँदा ठुलो आर्थिक भार थपिदै गएको बताउनुभयो । विदेशबाट आउनेको संख्या बढ्दै जाने र स्वाबको रिपोर्टमा ढिलाई हुँदा आर्थिक व्यय भार र संक्रमणको जोखिम बढ्ने र जटिल परिस्थिति आउन सक्नेमा उहाँको चिन्ता थियो । पाइजाले रिपोर्ट समयमै नआउँदा संक्रमण भएकाबाट नभएकासम्म पुग्ने खतरा बढेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *