काँग्रेस नेता उपाध्यायले दिए धौलागिरी अस्पताललाई स्वास्थ्य सामग्री

आदर्श अनलाईन, बागलुङ ।
बागलुङका सामाजिक व्यक्तित्व एवं नेपाली काँग्रेस युवा नेता जगदिशचन्द्र उपाध्यायले धौलागिरि अस्पताल बागलुङका लागि स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका छन । गुड सेफर्ड ईन्टरनेशनल फाउण्डेशन नेपालको आर्थिक सहयोगमा शर्माको परिवारले करिब दुई लाख रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका छन् ।

काँग्रेस बागलुङका महासमिति सदस्य एवं निवर्तमान उप–सभापति समेत उपाध्यायले आफु र आफ्नो परिवारको पहलमा गुड सेफर्ड इन्टरनेश्नल फाउन्डेसनको सहयोगमा एक लाख ९४ हजार पाँच सय रुपैयाँको स्वास्थ्य सामग्री शुक्रबार धौलागिरि अस्पताल विकास समितिका अध्यक्ष केवि रानामगर र निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. शैलेन्द्र विक पोख्रेललाई हस्तान्तरण गरेका छन ।

उपाध्यायले एक लाख ५० हजारको उच्च गुणस्तरको ३० थान पिपिई सेट, १२ हजार रुपैयाँको दुई बक्स ग्लोब्स, १२ हजार रुपैयाँको एक हजार थान सर्जिकल मास्क, १५ हजार रुपैयाँको केएन—९५ मास्क लगायतका स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षामा प्रयोग हुने सामग्री प्रदान गरेका हुन् । व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गर्दै नेता उपाध्यायले सुरु देखि अन्तिम अवस्थासम्म कोरोना विरुद्ध अग्रभागमा खटिएर लडाइँ लड्ने स्वास्थ्यकर्मीहरु नै भएकाले उनीहरुको सुरक्षाका लागि सामग्री सहयोग गरेको बताए ।

‘विश्वमै महामारीको रुप लिनेगरी अहिले (कोभिड—१९) कोरोना संक्रमण फैलिदो क्रममा छ,’ उनले भने,‘यस्तो अवस्थामा यो रोगसंग सुरुवात देखि अन्तिम एकै जना व्यक्ति रहँदासम्म पनि प्रत्यक्ष लड्ने चिकित्सक र स्वास्थ्यकर्मीहरु हुनुहुन्छ । उहाँहरु सुरक्षित रहे आम नागरिकले उपचार पाउने अवस्था हुन्छ । त्यसैले यो सहयोगका लागि पहल गरेको हुँ ।’

गुड सेफर्ड इन्टरनेश्नल फाउन्डेसन नेपालले चेलीबेटी बेखविखन विरुद्ध तराईका जिल्लामा अभियान सञ्चालन गर्ने गरेको र त्यस संस्थाका भरत थापा आफ्नो चीनजानको साथी भएकाले सहयोगका लागि पहल गरेको उनले बताए । ‘बागलुङमा एउटा प्रोजेक्ट नै लिएर आउने कि भन्ने पनि थियो, त्यसो सम्भव भएन, उहाँहरुले सहयोग गर्नुभएको छ,’ उपाध्यायले भने । स्वास्थ्य सामग्री सहयोग प्राप्त हुने भएपछि अस्पतालसंग समन्वय गरेर नै उच्च गुणस्तरको सामग्री लिएको हो ।

‘नेपालमा कोरोना संक्रमण देखिएको सुरुवातमै बागलुङमा पोजेटिभ केस देखियो,’ उनले भने,‘यहाँ यस्तो खालको केसहरु धेरै देखिन्छ भनेर मैले सहयोगका लागि आफ्नो क्षेत्रबाट पहल गरेको थिएँ ।’ उपाध्यायको जिवन संगिनी शकुन्तला शर्मा पनि महिला अधिकारकर्मी हुन भने नेपाल महिला संघको जिल्ला अध्यक्ष समेत हुन । उनको परिवार नै सामाजिक क्षेत्रमा क्रियाशिल छ । स्वास्थ्य सामग्री बुझ्दै धौलागिरि अस्पताल विकास समितिका अध्यक्ष केवि रानामगरले सबै क्षेत्रको सहयोगबाट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु हौसलाका साथ कोरोना विरुद्ध लडिरहेको बताए । ‘सबैतिरबाट विभीन्न व्यक्ति र संघ संस्थाले हामीलाई विभीन्न सामग्री सहयोग गरेर हौसला बढाईरहनुभएको छ,’ रानाले भने,‘यसले गर्दा यहाँको समुदाय हाम्रो साथमा छ भन्ने विश्वासले स्वास्थ्यकर्मी र चिकीत्सकहरुलाई संक्रमितको उपचार खटिन थप प्रेरणा मिलेको छ ।’

रानाले पछिल्लो समय विश्व स्वास्थ्य संगठनको गाईडलाईन अन्तर्गत कोरोना पोजिटिभ देखिए पनि १० दिनसम्म कुनै लक्षण नदेखिएमा अरुलाई सार्न नसक्ने र त्यही आधारमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नदेखिएका संक्रमतिहरुलाई १४ दिनको आईसोलेसनमा राखेपछि पुनः परिक्षण नगरी नै डिस्चार्ज गर्ने परिपत्र आएको र त्यही अनुसार अस्पतालले संक्रमित डिस्चार्ज गरेको बताए ।

‘अस्पतालले चेक जाँच नगरी घर पठायो भन्ने खालका गुनासाहरु पनि सुनिए, विश्व स्वास्थ्य संगठनले अध्ययन गरेर नै भन्या होला, सरकारको पनि त्यही निर्देशन भएपछि हामीले डिस्चार्ज गरेका हौं,’ उनले भने । धौलागिरि अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माले अप्ठ्यारो पस्थिीतिमा समुदायस्तरबाट स्वास्थ्य सामग्री सहयोग भएका कारण अस्पताललाई सहज भएको बताए ।

‘अप्ठ्यारो अवस्थामा करोडौं रुपैयाँ भन्दा पनि यस खालका सामग्रीहरुको हामीलाई जरुरत थिए,’ उनले भने,‘विभीन्न व्यक्ति र संघ संस्थाबाट प्रसस्त सहयोग भयो । जसका कारण हामीले सरकारसंग मात्रै निर्भर रहनु परेन ।’ उक्त स्वास्थ्य सुरक्षा सामग्री श्रीमती सकुन्तला शर्मा र छोरी सदिक्षा शर्मा सहित उपाध्यायले हस्तान्तरण गरेका थिए । धौलागिरि अस्पताल विकास समितिका अध्यक्ष केवि रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विकास समिति सदस्य शालिकराम शर्माले गरेका थिए ।

यो पनि पढ्नुहोस्

काँग्रेस नेता उपाध्यायले दिए धौलागिरी अस्पताललाई स्वास्थ्य सामग्री

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *