लेक लागे निसेल

डम्मर बुढा मगर, बागलुङ
जिल्लाको निसीखोलाका स्थानीय यतिबेला गोठ लगेर निसेल ढोर (लेक) जानेमा व्यस्त छन् । घुम्ती बसाई गर्ने निसीखोला गाउँपालिका वडा नम्बर ५ र ६ का स्थानीय वर्षमा दुई स्थानमा बस्ने गर्दछन् ।

घुम्ती बसाई गर्ने यहाँका अधिकांश स्थानीय बर्षायाम सुरु भए पछि लेक (निसेल ढोर) र हिउँद शुरु भए पछि औल (निसी भल्कोट) झर्ने गर्दछन् ।

निसीभल्कोट क्षेत्रमा यस समय पशु चौपाया सहित खर्च पर्च बोकेर लेक जानेहरुको बाटो–बाटोमा भीडभाड देखिन्छ । यहाँका एक परिवारले कम्तिमा पनि १२/१५ वटा गाई, भैसी र भेडा बाख्रा पालेका छन् ।

This image has an empty alt attribute; its file name is 1-694x418.png
पशुचौपाया लिएर लेक (निसेल ढोर) जाँदै निसी भल्कोटका स्थानीय

उनीहरु जेठ दोस्रो सातादेखिनै लेक जाने तरखर गर्छन् । असार २० सम्म लेक पुगि सकेर आफ्ना दैनिकी सुरु गर्ने गर्दछन् । निसेल ढोरमा बर्षातको समयमा आलु खन्ने, स्याउ कुटाउने, पशुचौपाया चराउने र अन्य उत्पादनमा लाग्छन् भने हिउँद लाग्दा बित्तिकै औल झर्ने गर्दछन् ।

हरेक वर्षको जेठ असार महिनामा लेक चढ्ने र असोज कार्तिकमा औल झर्ने उनीहरुको परम्परा जस्तै बनेको छ । उनीहरु ढोरमा मुख्यतः आलु खेती र स्याउ खेतिमै सक्रिय हुन्छन् भने त्यससँगै सिमी, फापर,ज्वातो उत्पादनमा समेत उनीहरु लाग्ने गर्दछन् ।

बर्खाभरी ढोरमा उत्पादन गरेका उत्पादित बस्तुहरुलाई हिउँद लाग्ने बित्तिकै भरिया लगाएर निसी,भल्कोटमा झार्ने गर्छन् । बर्खाभरी ढोरमा उत्पादन गर्ने आलु, स्याउ र अन्य उत्पादित वस्तुहरुले वर्षभरी खान पु¥याउँछन् । उनीहरु करिब दुई दिन लगाएर ढोर पुग्छन् । निसी भल्कोटबाट निसेल ढोर पुग्न करिब ८/९ घण्टा पैदल यात्रा गर्नु पर्छ भने खर्चपर्च बोकेर जाँदा उनीहरुलाई दुई दिन लाग्ने स्थानीय भागविर बुढा मगर बताउँनुहुन्छ ।


‘रित्तै जाँदा ७/८ घण्टामै पुग्न सकिन्छ, तर हामी कहिले पनि रित्तै जाने गरेका छैनौँ,भारी र पशुचौपाया लिएर जाने गर्छौँ,’उहाँले भन्नुभयो ‘भारी बोकेर जाँदा गाह्रो हुन्छ, अझ गाइबस्तु लिएर जाँदा त झन् धेरै समय लाग्छ ।’ भारी बोकेर जाँदा जंगलको बीचमा बास बस्नु पर्ने बाध्यता रहेको उहाँको भनाई छ । बुढा मगरले बर्खाको समयमा जंगलमा यात्रा गर्दाअत्यन्तै कष्ट हुने भन्दै पछिल्लो युवा पुस्तामा लेक जाने प्रचलन कम हुँदै गएको बताउँनुहुन्छ ।

अर्का स्थानीय मंगले घर्ती मगरले पुर्खा देखिनै बर्षातको समयमा लेक जानेर हिउँद झर्ने गर्दै आएको बताउँनुहुन्छ । धेरै पशुचौपाय हुँदा औलमा उनीहरुलाई बाह्रै महिना पाल्न नसक्ने हुँदा लेक तिरै जानु पर्ने उहाँको भनाई छ ।

‘बाह्रै महिना गाई, भैसी र भेडाँबाख्रा यहाँ पाल्न सकिन्न,’ घर्ती मगरले भन्नुभयो,‘लेक लाग्यो भने जता छोडे पनि हुन्छ,चौपायालाई बुकी (ढोरको अग्लो डाँडा)छोड्यो, आँफू आफ्नो काममा लाग्यो ।’ उहाँले बाह्रै महिना एकै ठाउँमा बस्दा बारीमा मल पु¥याउन पनि गाह्रो हुने बताउँनुहुन्छ ।

भल्कोटदेखि निसेल ढोरमा मोटर बाटोले जोडे पछि आफूहरुलाई धेरै सहज हुने उहाँको भनाई छ । घर्ती मगरले भने जस्तै भल्कोटबाट निसेलढोर मोटर बाटोले जोड्ने हो भने धेरै सम्भावनाका ढोकाहरु खुल्ने थिए । यहाँका स्थानीयलाई लेक जान र औल झर्न सहज हुनुको साथै ढोरमा उत्पादन हुने आलु, स्याउ, सिमी लगायतका उत्पादनलाई बजार सम्म पु¥याउन र निसी भल्कोटबाट ढोर सम्म यात्रा लगायत अन्य काम गर्न धेरै सहज हुने अनुमान गरिन्छ ।

ढोरपाटन नगरपालिकाको वडा नम्बर ९ ढोरपाटन हुँदै मोटरबाटोले जोडिए पनि त्यो सडकले निसी भल्कोटबासीलाई अपायक र धेरै फेरो पर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *