हाम्रा छोरीहरु (मेरो सोच)

बिनिसा कडेंल

हाम्रो समाज, छोराको समाज । पुरुष जातिको समाज । लिङ्ग भेदको समाज । छुवाछुतको समाज अनि अत्यन्तै कुरुप समाज । यहाँ छोरीको कुनै इज्जत गरिदैन । जति नै पढे लेखेका मानिस, जति नै उच्च स्तरका मानिस, जस्तो मानिस भए पनि यस समाजमा छोरीलाई कतै न कतै दबाइएकै छ । हाम्रो जतिसुकै शिक्षित परिवार, बुझेको, जानेको परिवारमा पनि छोरी बिग्रिने मापदण्ड असाध्यै सजिलो छ ।

यसका लागि छोरीहरुले लागु पदार्थ, चोरी डकैती, झै–झगडा र मारकाट जस्ता गैर कानुनी काम गर्नु पर्दैन । साथीभाई सँग हिड्डुल गर्ने, रमाइलो गर्ने, कुनै केटासँग कुरा गरे मात्र पनि उनिहरु बिग्रिन्छन् । छोरी विग्रनको लागि समाजले ताकिदिएको र हामिले मान्दै आएको सुत्र हो यो । घरमा छोेराले आफ्ना केटी साथी लिएर आउँन हुने तर कुनै छोरी केटासँग बोल्नै हुँदैन । के छोरीको लागि समाजले बनाएको यो नियम र हामिले मान्दै र भन्दै आएको कुरा जायज हो त ? के हामीले यस्तो सोचलाई बदल्न सक्दैनौं त ?

छोरीको विवाह छिटै नगरिदिने हो भने, छोरी भागी विवाह गर्छे, अन्यजात सँग जान्छे, यसले हाम्रो इज्जत घट्छ भन्ने अभिभावक पनि यहाँ प्रशस्तै भेटिन्छन् । तर उनीहरुले यो कुरा कहिलै सोच्दैनन् कि आखिर आफ्नी छोरीको विचार के छ त ? उसको खुशी के मा छ ? जब सम्म अभिभावकले आफ्नो छोरा छोरीलाई राम्रोसँग नियाल्न, बुझ्न सक्दैनन्, तब सम्म उनीहरु कहिल्यै आफ्ना सन्तानको भलो गर्न सक्दैनन् । हो १ अभिभावकको सोच र छोरा छोरीको सोचमा धेरै फरक हुन्छ, किनभने जमाना बदलिएको छ, तेही अनुरुप ढंग, रङ सबै बदलिन्छ । अनि मान्छेको सोचमा पनि केहि फरकपन आएको हुन्छ । यो समान्य कुरा अभिभावकले बुझ्न पर्ने हो । तर अहिलेको जमानामा पनि छोरी १८ वर्ष पुग्ना साथ, त्यहि आमाले विवाह गराउँने भन्छिन्, जुन आमाले सानैमा विवाह गरेर कयौ दुख भोग्नु भोगिन, कष्ट भोगिन ।

अब भन्नुस, ती आमाको सौतेलो जस्तो, नराम्रो व्यवहारलाई ती साना छोरीहरुले हासेर कसरी मान्न सकुन ? जस्तो सुकै शिक्षित आमा भए पनि उनीहरुलाई आफ्नो छोरीको खुसी भन्दा आफ्नो इज्जतको बढि चासो हुन्छ । छोरीको जीबन कसरी, के गर्दा सप्रिन्छ र के गर्दा बिग्रिन्छ, त्यो अभिभावकले बुझ्नु पर्ने कुरा हो, होइन र ? आफुले राम्रो परिवारको केटा खोजेर दिदैमा के छोरीको भविश्य बन्छ, उसको जिन्दगी उसले सोचेको जस्तो हुन्छ या तपाई सोच्नु भएको जस्तो उसको घर बन्छ ? के त्यो छोरीले सुखले खाना पाउछे । जब अभिभावकले छोरीको इच्छा बिपरित विवाह गरी दिन्छन्, तब उनीहरुले त्यहि छोरीको सुख खोसिरहेका हुन्छन् ।

के साँच्चै नै, शारिरिक सुख र भौतिक सुखमा मात्र जीवनको खुसी लुकेको छ त ? के साँच्चैनै धनले सम्पन्न परिवारमा छोरी विवाह गरेर दिदा, छोरी मनले पनि धनी बन्छे त ? अबत हामिहरुले सोच्नै पर्छ, कतै एउटी छोरीको आँसुले जिन्दगी भरी रुन नपरोस । कतै त्यहि छोरीको आँसुले नर्कमा वास नहोस् । कतै त्यहि छोरीको दुख देखेर, पश्चताप मात्र नपरोस । भौतिक सुख भन्दा, आत्मा सुखको छुट्टै आनन्द हुन्छ । यत्ती बुझौ, सोच बदलौं ।

यो पनि पढ्नुहोस्

हाम्रा छोरीहरु (मेरो सोच)

  1. अत्यन्तै राम्रो लेखन नानु अझै उत्कृष्ट लेख हरू लेख्दै जानु उज्ज्वल भविष्यको शुभकामना

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *