कोरोनाको दोस्रो भेरियन्टको भयावह सुरु भएको दुई महिना हुन लाग्यो । यसको रोकथाम नियन्त्रणका लागि गरिएको लकडाउन निषेधाज्ञा पनि लामो भैसक्यो । अब सरकारले लक डाउन होइन, लुज डाउन गर्ने तयारी गरेको छ । अहिले सम्मको कोरोना रोकथाम, उपचार र नियन्त्रणमा भइरहेको पहल भूमिका कस्तो लागेको छ ? अब बजार, पसल, बिद्यालय, सार्वजनिक सवारी लगायत के कसरी सञ्चालन गर्नुपर्ला ? सुरक्षा सचेतता के कसरी अपनाउन सकिएला ? आदर्शकर्मी साधना पन्तले आम नागरिकको प्रतिनिधिमूलक धारणा बुझ्ने प्रयास गर्नुभएको छ । प्रस्तुत छु कुराकानीको सम्पादित अंशः
राजेन्द्र शर्मा
द्धन्द्ध र शान्ति विषयका अध्ययता
नेपाली जनताले कोरोना माहामारी सुनेको, भोगेको पनि १५ महिना भन्दा बढी भयो । यस बिचमा तथ्याङ्क मात्रै हेर्ने हो भने लाखौ जना संक्रमित भएका छ्न । हजारौको मृत्यु भएको छ । यद्यपि, हजारौ नागरिकले कोरोना जितेका पनि छन् । अहिले खोपको सन्दर्भमा लक्षित उमेर समूहलाई दिन ढिला भैसकेको छ । खोप लगाउन सरकारी तवरबाट ढिला हुनु र सरकारले खोप लगाई दिन्नौ भन्नु एउटै हो ।
ज्येष्ठ नागरिकलाई पहिलो मात्राको खोप लगाएको समय धेरै भएको मात्रै छैन । अब दोस्रो चरणको खोप लगाउने समय पनि गुज्रिसकेको छ । त्यति मात्र होइन, कुन खोप लगाउने ? कि नलगाउने ? कुनै सूचना अपडेट नभएको अवस्था छ । जनताको स्वाथ्यमा यति सम्मको बेवास्ता र लापरबाहीलाई सामान्य रुपमा लिनु हुदैन । अर्को तर्फ स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार, खोपको दुरुपयोग, तालुकदार मन्त्रालयमा मन्त्री फेरवदल र राजनीतिक खिचडी । कोरोना महामारीको मौकामा कालोबजारी, राजनीतिक लिलाले हाम्रो जस्तो फितलो संरचना भएका देशहरुले कुनै स्वास्थ्य माहामारी कुर्नु नपर्ने अवस्था बिद्यमान छ ।
जहाँ सम्म दोस्रो लहर र अब आउने विभिन्न भेरियन्टको चर्चा छ । यस्ता लहरको रोकथाम, पूर्व तयारी, नियन्त्रण, उपचार र अन्य विपदको व्यवस्थापनमा हिजोको कमजोरीबाट पाठ सिक्नु अपरिहार्य छ । सोही अनुरुपका नीति, रणनीति तर्जुमा हुनु त्यतिकै आवश्यक छ । तर, नीतिलाई राजनीतिले प्रभाव पार्ने हुँदा, देशले ठूलै दुर्घटना बेहोर्ने अनुमान लगाउन सकिन्छ ।
राष्ट्रपतिको खोप कुटनीति, मन्त्रिपरिषदको फेरबदल, नयाँ स्वास्थ्य मन्त्री, सि.सि.एम.सी मा बालानन्द शर्माको आगमनले भोलिका दिनमा कोरोना नियन्त्रयमा केही सकारात्मक नतिजाको आश गर्नु अन्यथा हुने छैन ।
दोस्रो लहरले यो भाइरसका बारेमा राष्टिय तह देखि गाउँघर सम्म रहेका तथ्यहिन तर्कमा नराम्रो सँग पाठ सिकाएको मात्र छैन, यस बिचमा हामीले आफ्ना प्रियजनहरुलाई गुमाउन पुग्यौ । अर्को तर्फ, संक्रमण गाउँ तह सम्म पुग्यो । केही स्थानीय तहहरुले माहामारी व्यवस्थापनमा गरेका राम्रा र तारिफ योग्य कामको प्रसंशा गर्न छुटाउनु हुँदैन । अग्रमोर्चामा खटिने सम्पूर्णजनहरुमा विशेष धन्यवाद ।
यससंग सम्बन्धित, अबको रोकथाम मोडालिटिको सन्दर्भमा मेरा केही विचारहरुको चर्चा गरेको छु ।
– दोस्रो लहरको भाइरस संक्रमण, र यसको चेन ब्रेकको करिब करिब अन्तिम चरणमा पुगेका छौ । अबका केही हप्तामा अवस्था सहज हुने आँकलन गर्न सकिन्छ । सोही अनुरुपका बन्दाबन्दीको ढाँचामा लचकता अपनाउन अनिवार्य छ ।
– श्रमजिवी वर्ग, असाहाय, एकल महिला, द्वन्द्व पीडित, बालबालिका, ज्येष्ठ नागरिक (दीर्घ रोगी), दैनिक ज्याला मजदुरी गर्ने र सरकारको बाटो हेरेर बसेका वर्गहरुलाई केन्द्रमा राखेर, महामारी व्यवस्थापनमा अब विशेष परिस्थिति हेरेर कढाइ र खुकुलो बनाउँदै जानु पर्दछ ।
– परीक्षण र खोपको मात्रा बढाउदै अर्को भेरियन्टको व्यवस्थापनमा राज्यले आफ्नो स्रोत साधनको सही परिचालन गर्नु पर्दछ । पूर्ण रुपमा खोप नलगाउँदा सम्म, राज्यले नियमित प्रशासनिक कार्य बाहेक अरु विकास निर्माणका कार्यहरुलाइ प्रथामिकता दिनुहुदैन ।
– स्कूल, क्याम्पस आदि शैक्षिक सस्थाहरु कम्तिमा असार महिनासम्म वैकल्पिक विधिद्धारा पठन पाठन नियमित रुपमा संञ्चालन गर्न उत्तम हुन्छ ।
– स्थानीय तहहरु आफ्ना नीति योजना बनाउने समयमा भएको हुँदा महामारी र विपद व्यवस्थापनलाई प्राथमिकता दिएर युवा उद्यमशिलता र उत्पादनमूलक कार्यक्रममा जोड दिनुपर्दछ ।
– अन्त्यमा, सम्पूर्ण नागरिकहरुले स्वास्थ्य मापदण्ड अनुरुप सुरक्षित भएर परिस्थितिलाई सहज बनाउन रचनात्मक भूमिका निर्वाह गर्नु हाम्रो दायित्व र कर्तव्य पनि हो । यस्तो विषम समयमा भएका लोक हसाउने, अमानविय कार्यहरुको शान्तिपूर्ण रुपमा विरोध गर्नु हाम्रो संवैधानिक अधिकार हो ।
कमल पन्त
सहायक प्रिन्सिपल
अमर आदर्श आवासीय माध्यमिक विद्यालय बागलुङ
कोरोना महामारीले गर्दा अहिले हामीहरु लकडाउनमा छौ । लकडाउन पनि लामो भइसकेको छ । अब सरकारले लकडाउन हटाएर लुजडाउन गर्ने भनेको सुन्नमा आएको छ । त्यसलाई पनि प्रभावकारी बनाउनु पर्ने देखिन्छ । नेपाल सरकारले कोरोनाको दोस्रो भेरियन्टलाई नियन्त्रण गर्नका लागि अपनाएका उपायहरु धेरै प्रभावकारी भएको मैले महुशुस गरेको छु । दोस्रो भेरियन्टको कोरोनाले गर्दा दैनिक रुपमा सयौ संक्रमित र दर्जनौको मृत्यु भइरहेको छ । यसलाई नियन्त्रण गर्नका लागि लकडाउन अति आवश्यक थियो । नेपाल सरकारले कोरोना रोकथाम र उपचारमा गरेको कामहरु निकै प्रभावकारी रहेका छन् ।
लामो समय सम्म लकडाउन भएर पछिल्ला केही दिनमा बैंक तथा वित्तीय संस्थालाई हप्ताको दुई दिन खोल्ने निर्णयले बजारमा भिडभाड भएको हामी सबैले महुशुस गरेका छौ । त्यसकारण यसलाई पनि व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।
पछिल्लो समयमा संक्रमणको दर कम भएको तथ्याङ्कले बताएको छ । संक्रमण दर घटाउनका लागि सरकारले मात्र पहल गरेर हुँदैन । हामी स्वंयम नागरिकहरुले पनि सचेतता अपनाउनु पर्ने जरुरी देखिन्छ । पछिल्लो समय सबै भन्दा कोरोनाले प्रभावित क्षेत्र विद्यालय मानिएको छ । त्यसकारण नीजि विद्यालयले अनलाइन मार्फत पठन पाठन गराएर परीक्षा पनि सकिसकेका छौ ।
अनलाइन शिक्षा नेपालको सन्दर्भमा त्यति प्रभावकारी नरहेको हामीहरुले मान्दछौ । बिजुली, नेटको समस्या र साना विद्यार्थी भा बहिनीहरु भएर पनि समस्या अएको हामीले महुशुस गरेका छौ । त्यसकारण अबको विकल्प सधै लकडाउन मात्र नहोस् । हरेक क्षेत्रमा लकडाउनले असर गरेको छ । अब सरकार र नागरिक सवै मिलेर लकडाउनको विकल्प खोज्नुपर्ने देखिन्छ । अहिलेको सन्दर्भमा विद्यालयले असार ३ गतेदेखि नियमित पठन पाठन सञ्चालन गर्ने कुरा भएको छ । तर, अब फेरी तेस्रो भेरियन्ट छिमेकी देश भारतमा आएको सुन्नमा आएको छ । त्यसले धेरै प्रभाव बालबालिकामा हुने भनेको छ । अब नेपाल सरकारले अनिवार्य रुपमा कोरोना भ्याक्सिनको व्यवस्था गर्न आवश्यक छ । सम्पूर्ण बालबालिका, शिक्षकलाई प्राथमिकतामा राखेर कोरोना भ्याक्सिनको व्यवस्था गर्नु पर्ने अहिलेको आवश्यकता हो । लकडाउन हटेर लुजडाउन भएता पनि व्यवसाय संचालन गर्दा, विद्यालय संचालन गर्दा निकै सजगता अपनाउनु पर्ने देखिन्छ । अहिलेको कोरोना निकै छिटो फैलिएको पाइएकाले माक्स, सेनिटाइजर, सामाजिक दुरी कायम अनिवार्य गर्नुपर्ने हुन्छ । मानिसहरु लापरबाही गरेर भिडभाड गरेको धेरै पाइन्छ । त्यसकारण स्वंयम् मानिसहरु सजग भएर लुजडाउनको मापदण्ड पालना गुर्नपर्दछ । र सरकारले पनि सवै नागरिकलाई कोरोना भ्याक्सिनको व्यवस्थापन गरोस् ।
राजेश केसी
शिक्षक
आदर्श विद्यामन्दिर माध्यामिक विद्यालय,बागलुङ
अब लकडाउन होइन, क्रमशः लुजडाउननै अबको विकल्प हो । सरकारको कोरोना रोकथाम, उपचार र नियन्त्रणमा खासै राम्रो भूमिका देखिएको छैन । कोरोना महामारीको दोस्रो लहर सुरु भएको पनि लामो समय भइसक्यो । धेरै पटक नेपाली जनताले लकडाउन खेप्नु परेको छ । तर, सरकारले अहिले सम्म भ्याक्सिन दिन नसक्नु, धेरै मानिसहरु उपचार नपाएरै मर्ने अवस्था आउनु, भोकभोकै बस्नुपर्ने बाध्यता, प्रभावित व्यावसाय संरक्षण गर्न नसक्नु, मूल्य वृद्धि, कालोबजारी आदि नियन्त्रण गर्न नसक्नुलेनै सरकारको भूमिका फितलो देखिन्छ ।
अहिलेको अवस्थामा सबै मानिसहरुले स्वास्थ्य मापदण्डा पालना गरेर भिडभाड कम गर्ने र पुनः मानिसहरुलाई आफ्नो नियमित दैनिकीमा फर्काउन तर्फ लाग्नु पर्दछ । मानिसहरुले व्यापार व्यवसाय गर्दा निकै सजगतापुर्वक माक्स, सेनिटाइजर, सामाजिक, भौतिक दुरी कायम गर्ने, सभा सम्मेलनमा अझै केही समय रोक लगाउने, बजारमा चोक चोकमा साबुन पानी, सेनिटाइजरको व्यवस्थापन गर्ने, बाहिर गएर आउँदा हात धुने बानी बसाल्न पर्ने देखिन्छ । अहिलेको सन्दर्भमा नेपाल सरकारले सम्पूर्ण नागरिकलाई भ्याक्सिनको व्यवस्था गर्नुपर्ने देखिन्छ । सबैलाई सक्दैन भने पनि पैसा भएका मानिसहरुले आफै किनेर भ्याक्सिन लगाउन मिल्ने र पैसा नभएका मासिहरुको पहिचान गरेर भ्याक्सिन लगाउने व्यवस्था सरकारले गर्नुपर्ने अहिलेको आवश्यकता हो ।