दुहबी–कटहरी विद्युत प्रसारण लाइनको अवरोधबारे मुख्यमन्त्रीको चासो

१८ भदौ, विराटनगर । दुहबी–कटहरी ३३ केभी विद्युत प्रसारण लाइन निर्माणमा भएको अवरोध हटाउन प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले चासो दिएका छन् ।

दुहबी–कटहरी १६ किलोमिटर प्रसारण लाइनमा ग्रामथान गाउँपालिकाको गिधनियामा अवरोध छ । स्थानीयले प्रसारणलाइन निर्माण गर्न नदिएपछि मुख्यमन्त्री राईले समस्या सामधान गर्न पहल थालेका हुन् ।

प्रसारणलाइन अवरोधका कारण न्यून भोल्टेज र लोडसेटिङको समस्या बढेपछि मुख्यमन्त्री राईले बुधवार सरोकारवालाहरुसँग छलफल गरेका थिए । मुख्यमन्त्री राईले मोरङ क्षेत्र नम्वर ४ का संघीय सांसद अमनलाल मोदीसहित ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायी लगायतसँग छलफल गरेका हुन् ।

छलफलमा प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्री राईले पहलकदमी लिने बताएका छन् । ‘समस्या समाधान गर्न म पहलकदमी लिन्छु,’ मुख्यमन्त्री राईले भने, ‘सबै मिलेर समाधानको प्रयास गरौँ ।’

विकास निर्माणमा सबैले सहयोग गर्नुपर्ने मुख्यमन्त्री राईको भनाइ छ । मुख्यमन्त्री राईले प्रसारण लाइनको समस्या अन्त्यका लागि तत्काल छलफल अघि बढाउने बताए । ‘यहाँको समस्या अब अन्त्य हुन्छ,’ मुख्यमन्त्री राईले भने, ‘विद्युत झ्याप्प झ्याप्प आउने जाने हुनुहुँदैन ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *