जहाँ जसले जसलाई जे–जे मन लाग्यो त्यहीँ लेख्ने ? त्यही गर्ने ? त्यही बोल्ने ? नैतिकता, सामाजिक उत्तरदायित्व भन्ने विस्तारै हराउँदै गएको छ । यस्तै तरिकाले अगाडि बढ्ने हो भने भोली हामी कहाँ पुग्छौं ? हाम्रो समाज कहाँ पुग्छ ? यो कुरा सम्झदा मात्रै पनि साँच्चै भयानक डर लाएर आउँछ ।
–राजेशचन्द्र राजभण्डारी
‘यो माया हराएको शहर हो प्रिया’ भन्ने गीत बागलुङ गलकोटका प्रिय भाई राम थापा ‘अविरल’ले केही बर्ष अघि लेखेका हुन् । जसलाई अहिलेका चल्तीका सर्जक संगीतकार बसन्त थापाले संगित र नेपालका चर्चित गजल गायक राज सिग्देलले आफ्नो सुमधुर स्वर दिएपछि यसले निकै बजार लियो । साँच्चै अहिले हाम्रो गाउँ शहरमा यतिबेला माया हराउँदै गइरहेको छ । यतिबेला नेपालीहरूमा मानवीय संवेदना पनि हराउँदै गइरहेको छ भनेर सायद ब्याख्या गर्न पर्दैन होला जस्तो लाग्छ ।
हामी यतिबेला २१ औ शताब्दीका नागरिक भएको भनेर गर्व गरिरहेका छौ । नेपाल बिकास उन्मुख देश भए पनि यहाँ सुचना र संचारले भने ठूलो फड्को मारिसकेको छ । अहिले नेपाली जनताको हात–हातमा एक से एक मोवाइ आएको छ । मोवाइले आएसंगै इन्टरनेट लगायतका प्रविधि पनि नभित्रिने कुरै भएन । २०६२÷०६३ को दोस्रो जनआन्दोलन पछि देशबाट पुरानो सामन्ती राजतन्त्रको अन्त्य गरेपछि नेपाली जनताको छोराछोरी राष्ट्रपति हुने अवसर पाएका छन् । यसलाई सकारात्मक रूपमा हेर्न जरुरी छ । देशमा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता संबिधानले दिएको छ । बोल्ने, लेख्ने, संगठन खोल्ने स्वतन्त्रता पाउनु जनआन्दोलनको महत्वपूर्ण उपलब्धि हो । जसले जे–जे मन लाग्यो, त्यहीँ त्यहीँ गर्न पाउनु त्यो स्वतन्त्रता हैन, त्यो अराजकता हो, स्वच्छन्दता हो । यतिबेला नेपालमा स्वतन्त्रताको नाममा मनपरि गर्ने, मनपरि लेख्ने काम दिन दुई गुना रात चौगुना बढेर गएको छ । यसलाई स्वतन्त्रता हैन स्वच्छन्दता हो भनेर बुझ्न जरुरी छ । अहिले स्वतन्त्रताको नाममा मनपरि ढंगले आँफुलाई मनपर्ने मान्छेलाई तथानाम गाली गलौज गरेर लेख्ने त सामान्य कुरा भइसके । यो देशको प्रधानमन्त्री, पुर्वप्रधानमन्त्री, नेता, सांसदलाई मरेको भन्दै फोटो राखेर हार्दिक श्रद्धाञ्जली लेख्दै गरेको कुरा दुनियाँ सबैलाई थाहा भएको कुरा हो ।
साच्चै यो संसारमा मान्छेको जन्म लिए पछि उसको मृत्यु अन्तिम सत्य हो । त्यो कसैले रोकेर रोकिदैन । चाहे गरिब होस्, चाहे संसारकै सबैभन्दा शक्तिशाली, सबैभन्दा धनी नै किन नहोस् ? मृत्युलाई किन्ने हैसियत यो संसारमा कसैसँग छैन भन्ने थाहा हुँदा–हँुदै पनि मान्छेहरू अजम्बरी भएको महशुस गरिरहेका छन् । अहिले सामाजिक संजाल हेर्ने हो भने मान्छे सबैभन्दा बढी अहंकारी कहिले पनि आँफु यो संसारमा मर्न नपर्ने जस्तो व्यवहार देखाइ रहेका छन् । मान्छे जन्मनु, मर्ने एउटा प्रक्रिया हो तर हामीले जतिसुकै घमण्ड गरेपनि मान्छे मर्दा खुशी व्यक्त गर्न सक्दैनौं । अहिले सामाजिक सञ्जालको दृश्य,लेखाई हेर्ने हो भने मान्छे हिंस्रक जनावर भइसके । साँच्चै जनावर हिंसात्मक भए पनि आफ्नो जात माथि आक्रमण गर्दैनन् । तर, आजकलका मान्छेहरू ज्यँुदो मान्छेलाई हार्दिक श्रद्धाञ्जली मात्रै कहाँ हो र ? निम्न स्तरको गालीगलौज गरेर, त्यो हेरेर मजा लिइरहने प्रवृत्ति ह्वात्तै बढेको छ ।
अहिले देशमा ‘साइबर क्राइम’ सम्बन्धि कानुन अनुसार यस्तो गलत तरिकाले अपराध गर्ने मान्छेलाई कानुनी कार्वाही गर्ने प्रयास भए पनि खासै प्रगति भने भएको देखिदैन । अहिले सरकारले मिडिया काउन्सिल बिधेयक संसदमा दर्ता गरेर छललफल पश्चात अब कार्यन्वयनमा लैजाने तयारीमा छ । जसले अहिले सामाजिक रूपमा अपराध गर्छ, यस्तो गलत काम गर्ने मान्छेलाई कार्वाही गर्नका लागि हुनुपर्छ भन्ने माग नेपाली संचार जगतको हो । स्वतन्त्रताको नाममा तथानाम जे जस्तो मन लाग्यो, त्यस्तो गर्ने र छुट पाइरहने यही देशमा हो स्वतन्त्रता । अहिले चाहिने भन्दा बढी स्वतन्त्रता भएको हुनाले पनि देश यो अबस्थामा पुगेको हो कि ? साच्चै भन्ने हो भने अहिले चलिरहेको सामाजिक सञ्जाल सबैभन्दा खतरनाक हतियार बनेको छ । जसलाई जे–जे मन लाग्छ त्यसलाई खुइलाउने गरेर लेखिदिने जसलाई अहिले सम्म सरकारले रोक्न सकेको छैन । बिदेशी मुलुकमा पनि गणतन्त्र छ । प्रेस स्वतन्त्रता छ तर मनपरि गर्ने छुट कसैलाई पनि छैन । तथानाम लेख्ने छुट कसैलाई पनि दिइदैन । नेपाल मात्रै एउटा यस्तो देश हो । जहाँ जसले जसलाई जे–जे मन लाग्यो त्यहीँ लेख्ने ? त्यही गर्ने ? त्यही बोल्ने ? नैतिकता, सामाजिक उत्तरदायित्व भन्ने विस्तारै हराउँदै गएको छ । यस्तै तरिकाले अगाडि बढ्ने हो भने भोली हामी कहाँ पुग्छौं ? हाम्रो समाज कहाँ पुग्छ ? यो कुरा सम्झदा मात्रै पनि साँच्चै भयानक डर लाएर आउँछ ।
साच्चै एउटा कुरा मलाई यहाँ भन्न मन लाग्यो । मान्छे यो पृथ्वीमा आएपछि एकदिन अबश्य मर्नु पर्छ । हरेक दिन ५\७ जना मान्छे मरेको लास बागलुङको पवित्र कालीगण्डकी नदिमा लैजाने गरेको दृश्य धेरैले देखेका छन् । रामनाम सत्य हो, स्वर्ग जाने बाटो हो भन्दै सयौं मान्छेहरू मृतकको मलामी बनेर गइरहेका हुन्छन् । हो, कालीगण्डकी नदिमा जाने बेलामा हामी पनि यसरी मरेर जानुपर्छ भन्ने कुराकानी गरेको सुनिन्छ । जब माथि घर, शहर आयो फेरि मान्छेले त्यो सत्य कुरा बिर्सन्छन् । यसरी नै जीवन चलिरहेको छ । एकलाई पर्दा अर्को भन्ने सिद्धान्त अहिलेसम्म हाम्रो गाउँ घरमा कायमै छ । ज्यँुदाको जन्ती मर्दाको मलामी भन्ने हो यहीँ सामाजिक भावनालाई हामीले अब शहरी क्षेत्रमा पनि सिकाउन जरुरी छ । अहिले मानवियता हराउँदै जान थाल्नुको पछाडि धेरै कारण छन् । त्यसलाई हामीले खोज्न जरुरी छ । अहिले भएको अराजकता अमानियताको ठाउँमा मानवीयता र सामाजिक भावनाको बिकास गराउने शिक्षा र सँस्कारको जरुरी छ । सरकारले जथाभावी लेख्ने मान्छेलाई ठाउँको ठाउँ कार्वाही गर्न जरुरी छ । अहिले जसरी मनपरि ढंगले सामाजिक सञ्जाल चलाउने काम भएको छ । यसलाई पनि यथेष्ट निगरानी र कानुनको दायरामा ल्याएर मात्रै चलाउन पाउने विधि बनाउन जरुरी छ । साँच्चै कतिपय देशमा यसलाई प्रतिबन्ध लगाएको उदाहरण पनि छन् ।
-राजभण्डारी आदर्श सञ्चारद्धारा प्रकाशित धौलागिरी जागरण दैनिकका नियमित स्तम्भकार हुन् ।