सम्पादकीय
बागलुङ बजारमा सुरक्षाका लागि २०६९ सालमा दुई दर्जन सिसी क्यामरा जडान गरियो । बागलुङ उद्योग वाणिज्य संघले महोत्सवका अतिरिक्त बागलुङ नगरपालिकासँगको साझेदारीमा २९ लाख रुपैयाँको लागतमा सिसी क्यामरा जडान गरे पछि बजारको व्यवसाकिय सुरक्षा मजबुत बनेको थियो । तर, अहिले बजार क्षेत्रमा राखिएका २६ वटा सिसी क्यामरा मध्ये २२ वटा बिग्रिएका छन् । जम्मा ४ वटा मात्र चालु अवस्थामा छन् । जबकी बागलुङ बजारमा हुने चोरी, अन्य आपराधिक गतिविधि नियन्त्रणमा मजबुत हुने गरि सिसी क्यामरा राख्ने हो भने ४९ वटा सिसी क्यामरा आवश्यक हुने प्रविधि बिज्ञहरु बताउँछन् । सिसी क्यामरा कहिलेदेखि बिग्रिएको हो ? मर्मत किन भइरहेको छैन ? यसको मुख्य अभियन्ता बागलुङ उद्योग बाणिज्य सघंले किन मौनता साँधिरहेको छ ? मुख्य जिम्मेवारी बहन गर्नुपर्ने बागलुङ नगरपालिका किन यति उदासिन छ ? अरु नागरिक समाज, सरोकारवाला पनि सिसी क्यामरा नहुँदाको बजार सुरक्षा चूनौतिलाई किन कम आँकलन गरिरहेका छन् ? यो गम्भिर सवाल हो ।
अर्को तर्फ बजारबासी नागरिक पनि यसबारेमा आवाज किन उठाउदैनन् ? सामाजिक सञ्जाल, चोक, चिया पसल र गल्लीहरुमा सामान्य बिषयमा आरोप प्रत्यारोप गर्न माहिरहरु पनि यति संवेदनशिल बिषयमा किन मुकदर्शक बनिरहेका छन् ? के हामी सबै चोरी, अपराध र अप्रिय घटना भए पछि मात्र जाग्ने, सचेत हुने हो ? बागलुङ बजारलाई के हामीले कुनै गम्भिर घटना, चोरी अपराध पर्खिरहेको शहर बनाइरहेका छौ ? जहाँ घटना भए पछि सिसी क्यामराको सहाराको चरम अभाव खड्कियोस् । र हामी सबै पश्चातापको आगोमा जल्नु परोस् ? बजारबासी सम्वद्ध सरोकारवालाले के यही दुखद दिनको प्रतिक्षा गरिरहेका हौ त ? कति महिनादेखि मर्मत खोजिरहेका बिग्रिएका बजारका २२ सिसी क्यामराको दुर्दशाले यही संकेत गर्छ । क्यामरा मर्मतका लागि बागलुङ नगरपालिकाले गत आबमा बिनियोजन गरेको दुई लाख बजेट फ्रिज भएको घटनाले अझ बढी प्रष्ट पार्छ । मध्यरातमा चोरीका घटना भइरहे पनि बलियो प्रमाण र अनुसन्धानको मुख्य आधार बनाउन सकिने सिसी क्यामराको मर्मत अभावको गम्भिर असर र जटिलताबारे बारबार प्रहरीले गरिरहेको अनुनय बिनयले पनि हामी एउटा भवितव्यको दिन पर्खिरहेका छौ । जुन भए मात्र बल्ल बजार सुरक्षाका लागि आवश्यक बिग्रिएका सिसी क्यामरा मर्मतका लागि तयार हुनेछौ । सरकारी निकायको मात्र भर पर्दैनौ भनेर व्यवसायी, नगरवासी घरधनी हामी पनि हातेमालो गर्छौ भन्न तयार हुनेछन् ।
हो, एउटै कुरा यो मात्र पनि होइन कि बजारको सुरक्षाको सबै अस्त्र सिसी क्यामरा मात्रै हो । त्यस्तो होइन । तर, अहिलेको प्रविधिको तिव्रतर विकास, चोरी गर्ने आपराधिक मनोवृत्ति भएकाहरु पनि स्मार्ट शैलीमा बदलिन थालेकाले त्यस्ता पात्र र प्रवृत्ति रोक्न तत्कालका लागि यो सबै भन्दा बलियो माध्यम र प्रमाणको मानक हुन सक्छ । आजै कुनै अप्रिय घटना, चोरी र अपराध भए त्यसमा सम्लग्नको पहिचान गर्न प्रहरीलाई निकै सकस भइरहेको छ । सिसी क्यामरा मर्मतमा उद्योग बाणिज्य सघं र नगरपालिका बिचको तिक्तता र बैमनस्यता पनि कारक बनिरहेको कुरा छिपेको छैन । बजारको यो अपरिहार्य आवश्यकता माथि सिमित स्वार्थ र प्रतिशोध दुवै पक्षको तर्फबाट बाधक बन्नु बनाइनु कदापी हुँदैन ।
Hello, just wanted to mention, I enjoyed this post. It was practical.
Keep on posting!