तस्विरः रेमिट्यान्सका दुःख सुनाउदै जिल्लाको बिहुँ करलिमका बुढा बुवाआमाहरु ।
सम्पादकीय
समय फेरियो, परिवेश फेरिएको छ । देशमा व्यवस्था बदलिएको छ । व्यवस्थासँगै अब अबस्था बदल्ने उद्घोष छ । स्मार्ट सिटी र स्मार्ट भिलेजका नाराहरु घन्किएका छन् । गाउँ–गाउँ, बस्ती–बस्तीमा मोटरबाटो पु¥याउने होड छ । गाउँ–गाउँमा सिहंदरबार, घर–घरमा रोजगारको चुनावी नारा नेताले नबिर्सिए केही होला भन्ने झिनो आशा पनि छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरले दुर्गम गाउँहरुलाई सुगम बनाएका छन् । जसले शहरको सुविधा र अवसर गाँउमै पु¥याएको छ । तर गाउँ, गाउँ जस्तो छैन । गाउँले गाउँले जस्ता छैनन् । देशमा आएको ठुलो बदलावसँगै गाउँलेका रहर र सपनामा पनि उस्तै बदलाव आएको छ । तरुण तन्नेरी १० पास गरे गाउँ छाड्न खुट्टा उचालिसकेका हुन्छन् । १२ पास गरे परदेशिने हतारो देखिन्छ । यस्तो लाग्छ, यि सबै परिदृश्य आँखै अघि देख्दा ति पुराना गाउँहरु, अहिले गाउँ होइनन् ।
बागलुङ सरदुमकामसँगै जोडिएको काठेखोला गाउँपालिकाको बिहुँ करलिम यस्तै प्रतिनिधि गाउँ हो । जहाँ रेमिट्यान्स र फेरिएको जीवनशैलीले कति भयानक दुःख र कहर लिएर आउँछ भन्ने छर्लङ्ग देखिन्छ । अहिलेको युवा पुस्तामा सर्वत्र सुख, सयलको जिन्दगी रेमिट्यान्सले दिलाउने भ्रम छ । करिब साठी घरधुरी भएको करलिमका तिन सय जना जापानमा छन् । यो गाउँ पुग्दा तन्नेरी मान्छे भेटाउनै मुश्किल पर्छ । जुन टोल र घरमा जानुस्, कपाल सेताम्य फुलेका बुढा बाआमा मात्र भेटिन्छन् । कति लौरी टेक्दै खेतबारी र गोठमा काम गर्दै गरेका त कति रोगी शरिर लिएर घरको पेटी र आगँनमा हेरचाह गर्ने, स्याहार सुसार गर्ने छोराछोरीको हातको न्यानो स्पर्श पर्खिरहेका न्छन् । बुढेसकालमा आमा बा भनेर बोलाएर के भयो ? पानी पिउनु हुन्छ भनेर एक बचन सोध्ने सन्तानको अभावमा अनायासै आँखाबाट आँसु बर्षिन्छन् । जतिबेला छोरा बुहारी सबै परिवार परदेशी भुमिमा काममा व्यस्त हुन्छन् । सबै कुरा पैसा ठान्ने जमाना आयो । तर पैसा मात्र सबथोक होइन रहेछ भन्ने यी गाउँका बुढा आमाबालाई गहिरो महुशुस छ । अहिले एक घरमा कम्तीमा महिनाको ३ लाख रेमिट्यान्स आउँछ । अधिकाशंको चितवन, पोखरा र बागलुङ बजारमा घर छ । उनीहरु एकै स्वरमा भन्छन्–‘पैसा त आयो, तर खुशी र सन्तुष्टि आएन, पैसाले हामीलाई हेर्दैन, हेर्नका लागि बाआमा भनेर बोलाउनका लागि सन्ताननै चाहिन्छ ।’ गाउँमा रहेका बृद्ध बुवाआमाको स्याहार सुसारमा जे जति अभाव खड्किए पनि शहर झर्ने र परदेश जानेमा सहमत छैनन् । गाउँ र त्यो उर्बर माटो प्रतिको अगाध स्नेह उनीहरुको यथावत छ ।
पुराना मानिस उमेरले बुढ्यौली लागे पनि आँफु जन्मे हुर्केका थातथलो छोड्न कदापी तयार छैनन् । बरु उनीहरु सन्तान भविष्यका लागि आँफ्ना बुढेसकालका पीर व्यथा लुकाउन चाहन्छन् । यो समस्या बुढेसकाल लागेका बाआमाहरुको मात्र समस्या होइन, यो ति तमाम गाउँहरुको हो । जसको प्राकृतिक छटा, त्यो चिसो हावा पानीमा स्वच्छन्द जिन्दगी बाँच्ने सौभाग्य छोडेर रेमिट्यान्स रहरमा बिलासिताको शहर दुनियाँको शौख बन्दैछ । जसका कारण दैनिक गाउँ रित्तिने जोखिम छ । अब के गाउँहरु गाउँ नरहेर बृद्ध आश्रम जस्तो त बन्दै छैनन् ? के यो रोक्न सकिने उपाय मात्र होइन, तमाम युवाहरुमा त्यो बिवेक, उत्तरदायित्व र जिम्मेवारी केही हुँदैन ? अब गाउँका बृद्ध बुवाआमा यो प्रश्नको जवाफको प्रतिक्षामा छन् ।
देश बनाउने उदघाेषकहरुकाे रिमाेट विदेशीको हातमा भएछि यस्तो त सामान्य हाे । प्राकृतिक स्राेत साधनले हराचरा नेपाललाई कसरी हुन्छ उनेरु हात पार्न चाहान्छन । पैसा भनेछि मरिहत्ते गर्ने हाम्रा दरिद्र नेता गणलाई राष्ट्र राष्ट्रियता र यहाकाे माैलिकता, प्राकृतिक स्रोत साधनकाे मेई वास्तै छैन ।