नेता, निष्ठा र नियति

सम्पादकीय
निष्ठा, निस्कपट, निश्कलंक । अझ बुझिने भाषामा सोझो, निर्दोष, इमान्दार । निष्ठा भनेको सही कुरा गर्नु मात्र होइन । यो त एउटा व्यवहार हो । जीवनशैली हो । सिंगो चरित्र हो । तर, बिगतका अधिक मान्छेहरुमा, मान्छेका मन मष्तिक र व्यवहारहरुमा भेटिने त्यो निष्ठा पछिल्ला दिनमा हराउदै गएको छ । शुरुवातमा देखिने निष्ठा पद, प्रतिष्ठा र अवसरको आसिनमा पुगेपछि स्वार्थ र सौदाबाजीमा गएर बिलय हुने गरेको छ । अप्ठ्यारो कुइनेटाको घुम्तीमा गएर सम्झौतामा टुंगिएको छ । अभावहरुको परिपुर्तिमा निष्ठा माथि धावा बोलिएको छ । जीवनको आदर्श ठानिएका निष्ठाहरु अहिले बोल कबोल क्रय बिक्रयमा भएको चर्चा छ । र त अहिले निष्ठा दुर्लभ हुन थालेको प्रतित हुन्छ ।

निष्ठावान मानिस किन यति दुर्लभ ? खोज्न नसकेको कि भेटाउन । देख्न नसकेको कि निष्ठा भएको प्रमाणित गर्न । सामान्य मानिसहरु ठुला पद, प्रतिष्ठा बोकेका मानिसहरुमा अझ बढी त्यो निष्ठाको खोजी गर्छन्, परिक्षण गर्छन् र निष्ठामा बिचलन पैदा हुन थालेको आभाष भयो भने संकेत पनि गर्छन्, गुनासो पनि गर्न सक्छन् । यतिले पनि पुगेन भने कुनै खास व्यक्ति र समूहलाई सचेत बनाउन सुझाउन सक्छन् । त्यतिले पनि पुगेन भने निष्ठाको समाप्ती भएको दिन, महिना र बर्षको सेरोफेरोमा कि अख्तियार, कि जेल तिरको यात्रा शुरु हुन्छ । आइतवार बागलुङमा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले बुझ्नेलाई काफी इशारा हुने गरि भने–‘सांसद, नेता, कर्मचारी, जनप्रतिनिधि सबैले निष्ठाबाट नचुक्ने संकल्प गरौं ।’ अब पनि निष्ठाबाट बहकिएर या बिचलित भएर बाटो बिराउँछ या अन्तै मोडिन्छ भने अख्तियार कमजोर हुन सक्छ । या अख्तियारबाट पावर र पहुँचका कारण बच्न सकिएला । तर, जनताले सडक, चोक, गल्ली गल्लीमा समातेर कारवाही गर्ने दिन नआउने भन्ने छैन ।

त्यसैले अब आश्वासनको खेति होइन, निष्ठाको खेति गरौ । आश्वासनको खेतिले एक मौसम, एक चुनाव, एक स्वार्थ, एक समुहलाई क्षणिक खुशी दिलाउन सकिएला या बिजयी बनाउन सकिएला । तर, त्यसले समाज र राष्ट्रलाई पु¥याउने असरलाई सामान्य आँकलन नगरौं । सबैमा निष्ठाको प्रतिवद्धताको कमीका कारण हामीले राजनीतिक व्यवस्था परिवर्तन पछि जहाँ पुग्ने सोचेका थियौ, जे गर्छौ भनेका थियौ । त्यो अपेक्षाकृत रुपमा गर्न सकेनौ, त्यहाँ पुग्न सकेनौ भन्ने स्विकारोक्ति सर्वत्र छ । नसक्नु या नगर्नुमा जनताले नेतालाई, नेताले कर्मचारीलाई दोषारोपण गर्न त सक्छौ, तर त्यो समस्याको दीगो समाधान होइन । हर व्यक्ति र सार्वजनिक पद धारण गरेका व्यक्तिका लागि अझ बढी अपरिहार्य निष्ठाको गुणलाई कसैले पनि सौदाबाजीको बिषय कदापी बनाउनु हुँदैन । हाम्रा सांसद, जनप्रतिनिधि, कर्मचारी, मानिस नजिकबाट हेर्दा अझ दागरहित, अझ बढी प्रियकर देखिनुपर्छ । जनताको चाहना र कामना यति नै छ । निष्ठाको ऐना जनताका अगाडी राखेर हेर्दा कसैको अनुहार कुरुप र दुर्गन्धित कदापी नदेखियोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *