सम्पादकीय
हामीले बिद्यालयमा जे जस्ता बिषय पढ्छौ । त्यो त आधारभूत ज्ञानका लागि हो । ति बिषय अध्ययनको सहारामा जुन दिनदेखि समाज पढ्न थाल्छौ, भोग्न थाल्छौ, देख्न थाल्छौ । हामी बल्ल व्यवहारिक बिषय र पाटोमा प्रवेश गर्छौ । बिद्यालय क्याम्पसमा अनिवार्य बिषय बाहेक अरु रुचिकर बिषय रोज्ने पनि अवसर हुन्छ । तर, समाजका कतिपय बिषय नचाहँदा नचाहँदै समयले/आवश्यकताले/परिस्थितिले/परिवन्दले पनि पढ्नुपर्छ, बुझ्नुपर्छ, बुझाउनुपर्छ । हामीकहाँ अहिले अनेक बिषय, बिवाद र काण्डहरु आउँछन् । कहिले सुशासनका, कहिले भ्रष्टाचारका । कहिले आरोपका, कहिले तथ्य र प्रमाणका । कहिले घटनाका जरुरताले, कहिले नियतवश । कहिले उत्तरदायित्वको भावनाले, कहिले पूर्वाग्रहले । बिषयहरु बजारमा आउँछन् । जसको बारेमा व्यापक बहस मात्र होइन, व्यक्ति र संस्था बदनाम बन्दछ ।
सार्वजनिक चासो र सरोकारका कस्ता बिषय बाहिर आउँछन् ? यसमा पनि समिक्षा जरुरत देखिएको छ । चाहे असल कुरा होस् या खराब । स्वतस्फुर्त आउनुपर्छ । सार्वजनिक हुनुपर्छ । लेखिनुपर्छ । देखिनुपर्छ । तर, कुनै विद्धानले असल मान्छेलाई असल मान्छे हो भनेको सुन्न ऊ मनुपर्छ भन्ने उक्ति यहाँ सान्र्दभिक हुन सक्छ । कुनै व्यक्ति या संस्थामा भएका राम्रा कुराहरु बाहिर आउन या चर्चा, प्रशंसा गर्न पनि बाध्यकारी अवस्था सिर्जना हुनुपर्ने देखिन्छ । असल मात्र होइन, खराब बिषय पनि सजिलोसँग, सजिलो तरिकाले बाहिर आउँदैन या ल्याइदैन । कुनै ठाउँमा गलत गरेको, अनियमितता, भ्रष्टाचार गरेको, पदको दुरुपयोग भएको बाहिर आउन पनि त्यो व्यक्तिको आँफ्नो स्वार्थ कतै न कतै बाझिनुपर्छ । या कुनै बिषयमा बैमनस्य, बिरोधाभाष जन्मियो भने मात्र बाहिर आउँछ । अर्थात, हामी नेपालीहरु यति सम्मको इमान्दार कि बेइमान बन्न नपाउँदा सम्मको मात्र इमान्दार देखिन्छौ । जसका कारण खास तथ्यपरक बिषय नै बाहिर ल्याउँदा पनि त्यसले नियत कारक देखिने अवस्था बिद्यमान छ । नियतवश भन्ना साथ बिषय र घटनाले अर्कै मोड लिन थाल्छ । र मुख्य बिषय ट्वीस्ट हुने जोखिम हुन्छ । अहिले सम्म अधिक घटना र बिषय यही खराब प्रवृत्तिजन्य कारणले खराबहरु पनि चोखिने अवस्था छ ।
यदी यो समाजमा भ्रष्टाचारमा शुन्य सहनशिलता चाहेका हांै भने हरेक नागरिकले यस्तो संकल्प व्यवहारिक रुपमा गर्न अपरिहार्य छ की म कुनै भ्रष्टाचार, अनियमितता र खराबी सार्वजनिक गर्न मेरा स्वार्थहरुसँग सम्झौता गर्दैन । देखावटी र बनावटी रुपमा यस्तो संकल्प हरेकजसोले दैनिक गरिरहेका छौ पनि । तर, समाज, सुशासनको दुरावस्था दुरुस्तै देखिन्छ । कतिले हाम्रो समाजको ऐना हेरेर सत्यलाई स्वीकार गर्छौ । कतिले अस्वीकार गरेर व्यक्ति र समाजमा भएका खराबी सफाई नगरि एैना नै फुटाल्न तयार हुन्छौ । अबको खुल्ला समाजमा जो ऐनाको सत्यलाई स्वीकार गरेर सच्चिएर हिड्छ, ऊ गन्तव्य या नजिक पुग्न सक्छ । अस्वीकार गर्नेहरुको जीवन र सपना बिलय हुनुको बिकल्प छैन ।