सुशासनमा अझै सुदृढ गर्नुपर्ने छः नगर प्रमुख पौडेल

बागलुङ नगरपालिका जिल्लाका १० स्थानीय तह मध्ये पुरानो, भवी, भौतिक पुर्वाधार र संरचनाका हिसावले पनि अगुवा स्थानीय तह हो । साविकको धौलागिरी अञ्चल सदरमुकाम, केन्द्रका हिसावले पनि यस नगरपालिकाले गर्ने हर गतिविधि समग्र जिल्लाको चासोको बिषय बन्छ । तर, नगरपालिका बेला बेला व्यक्ति र प्रवृत्तिका अनेक समस्या र बिवादले चर्चामा आउँछ । अहिले आन्तरिक विषयमा उपप्रमुख सुरेन्द्र खड्काले एक साताको अल्टिमेटम सहित नगर प्रमुख जनकराज पौडेललाई चिठी लेखे पछि थप चर्चा र बिवाद छ । के नगर प्रमुख, उपप्रमुख बोलचाल टुटेकै हो ? जसका कारण पत्रको सहारा लिनुप¥यो ? खासमा समस्या के हो ? आदर्श सञ्चार अनलाइनकर्मी सिर्जना पन्तले यि सवाल सहित धेरै बिषयमा जवाफ खोज्ने प्रयास गर्नुभएको छ । यस बिषयमा नगर प्रमुख जनकराज पौडेलसँग गरिएको कुराकानीको सम्पादित अशंः

निर्वाचित भएर आएको पनि दुई बर्ष बढी भयोे क्यारे । जनप्रतिनिधिका हिसावले अहिले सम्मको अनुभव कस्तो रह्यो ?
थप जिम्मेवारीबोध भएको छ । नागरिकको हितका लागि काम गर्दा जिम्मेवार भएर काम गर्नुपर्छ । सामान्य सोचे र भनेको जस्तो छैन । नगरवासीहरुले जनप्रतिनिधि आँफुप्रति समर्पित भएर काम गरेको देख्न हेर्न चाहानु हुन्छ । हामी पनि त्यही अनुसार अगाडी बढिरेका छौं । नगरवासीको चाहाना अनुसार ठुला योजनाहरुको (केन्द्र र प्रादेशिक सरकार) संगको कार्यन्वयन गर्नमा लाग्यौ । धेरै कामका सुरुवात भएका छन् । पुलको काम सुरु भएको छ । बसपार्कको काम अगाडी बढेको छ । खानेपानीका ठुला–ठुला आयोजना अगाडी बढिरहेका छन् । एक घर, एक धारा अभियानका कार्य चलिरहेका छन् । चिया खेतीको कार्यक्रम सुरु भएको छ । पर्यटनको क्षेत्रमा काम भएको छ । विस्तारै विदेशी पर्यटक पनि आउने क्रम सुरु भएको छ । सिटी हलको लागि जग्गा व्यवस्थापनको काम भइरहेको छ, अबको एक÷दुई महिनामै हाट बजार सञ्चालनमा ल्याउने तयारीमा छो । अहिले बाह्रै महिना ग्रामिण सडकमा पनि सवारी साधन चलिरहेका छन् । कतै कालोपत्रे भएको छ, कतै हुँदैछन् । नगर बस सेवा पनि सञ्चालनमा आएका छन् तर बलेवा र राँयडाँडा क्षेत्रमा भने बर्खायाममा अलिकति समस्या आएको छ । आगामी वर्षदेखि त्यस क्षेत्रमा वर्खामा पनि सावारी साधन चल्ने गरि व्यवस्थापन मिलाउँदै छौं । स्टुडियम, कृषि क्याम्पस सञ्चालनमा ल्याउँदै छौं । कवर्ड हल, ढल निर्माणको काम भइरहेको छ । यो वर्ष सडक चौडा गर्ने काम भएको छ । रोजगार प्रर्वद्धनको निम्ती शिक्षा क्षेत्रमा सुधार गर्ने योजना छन्, दिवा कक्षा सुरु गर्दैछौ । प्रविधिमैत्री शिक्षाको लागि दिवा शिक्षाको कार्यक्रम ल्याएपछि सामुदायीक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आउने आशा छ । दुई दर्जन जति शिक्षक विद्यार्थीको अनुपात नमिलेको ठाउँमा व्यवस्थापन गर्ने तयारी छ । कर प्रशासनलाई पनि सुदृढ गरिरहेका छौं । सुरुको वर्षमा १ करोड ३७ लाख उठ्यो । दोस्रो वर्ष २ करोड ५३ लाख पैसा उठ्यो र तेस्रो वर्षमा ३ करोड ७६ लाख रुपैया पैसा उठ्यो । आगामी दिनमा यो रकममा अझै वृद्धि हुन्छ भन्ने हाम्रो अनुमान छ । बजारका चोक चौडा फराकिलो बनाईरहेका छौं । यो वर्ष आम जनतालाई अनुभुति हुने गरि सरसफाईको क्षेत्र, खानेपानी, शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्छाै । यो वर्ष हामि रोजगारी र ठुला काममा लाग्यौ भने अब जनताले सिधै महुशुस गर्ने गरि उहाँहरुले महशुस गरेका अप्ठ्यारा फुकाउने गरि साना मसिना कामहरु समेत गर्ने गरि अगाडी बढ्छौं ।
अहिले जनमानसमा त उपलब्धि शुन्य भए जस्तो निराशा हावी देखिन्छ । निर्वाचित भएदेखि हाल सम्म तपाईहरुले यो काम ग¥यौ भन्ने महत्व, उपलब्धि र सन्तोषका आधारमा मुख्य पाँच उपलब्धि के के होलान् ?
एउटा सबैभन्दा ठुलो उपलब्धि झोलुंगे पुल हो । बागलुङबासीको ठुलो सपनाको रुपमा रहेको बांगेचौर अदुवाबारी झोलुंगे पुलको निर्माण कार्य अघि बढाउन सफल भयौ । अर्काे बसपार्कको कुरा भयो । यतिका वर्ष सम्म अल्झेर रहेको बसपार्कको समस्या समधान हुँदैछ । बसपार्क निर्माणको काम धमाधम भइरहेको छ । तेस्रो खानेपानीको समस्या समधानको विषय छ । बागलुङ नगरपालिका भित्रै खानेपानीको ठुलो समस्या थियो । अहिले करिब १ हजार ५ सय घरधुरी एक घर, एक धारा अभियानमा जोडिएका छन् । नगरपालिकाको लहरेपिपल, कुँडुले, सिगाना, बलेवा, तित्याङ, भकुण्डे, पाखाथर लगायतका क्षेत्रमा खानेपानीको समस्या समधानको योजना सहित काम ग¥यौं । चौथो माझी बस्ती हो । जसको काम हामीले सकिसकेका छौ । र, पाँचौ भनेको शिक्षा क्षेत्रमा रहेको समस्या समधानको विषय छ । आधारभुत पाँच वटा सुधार भनेको यो समयको बिचमा झोलुंगे पुल, बसपार्क, खानेपानी, माझी वस्ती र शिक्षाको सुधार हो ।
यो त पुरानो नगरपालिका । पुर्वाधार, संरचना र अनुभवका हिसावले पनि गतिशिल हुनुपर्ने । अलि शिथिल जस्तो देखिएको गुनासो छ नि ?
के छ ? हामी जतिको काममा अगाडी बढेको अरु कुन नगरपालिका छ ? तुलना गर्न सक्नुहुन्छ ? कुनै छ तपाईको नजरमा । तपाईहरुले प्रश्न गर्दा पनि त बिश्लेषण गरेर सोध्नु प¥यो नि । हामीले जति काम कुनै छिमेकी नगरपालिकाहरुले गरेका छन् ? जस्तो वडाको केन्द्र सम्म सडक कालोपत्रेको योजना थियो, त्यसमा हामी सबैभन्दा अगाडी छौं । दुई वर्ष भित्र नगर बस सञ्चालन गर्छाै भनेका थियौं, त्यो एक खालले सम्बोधन गरिरहेका छौं । अगाडी पाँच वटा मुख्य कुराहरु भने, धेरै चुनौतीहरु थिए । ति सबैलाई पार गर्दै अगाडी बढेका छौं । एउटा सुशासनमा अझै हामीले सुदृढ गर्नुपर्ने आवश्यकता छ । १२ करोडको तिन वटा खानेपानीको आयोजना काम गरेर झण्डै दुई हजार घरधुरी लाभान्वित हुँदैछन् । पुर्वाधारको क्षेत्रमा धेरै फड्को मारेका छौं, तपाईले के कुरामा शिथिल देख्नु भयो त ?
धेरै पर जानै पर्दैन, तत्कालको चर्चित विषय छ, नगरपलिकाले प्रत्येक महिना बस्नुपर्ने बैठक तपाईले नराखेर उपप्रमुख ज्यूले एक हप्ताको अल्टिमेटम नै दिनुभएको छ नि ? तपाईलाई यस्ता बिषय समस्या, शिथिलता ल्याए जस्तो लाग्दैन ?
बैठक त आवश्यकताको आधारमा बसिन्छ । हामी बैठककै तयारी गरिरहेका छौ । बैठककै निम्ती बैठक गर्नु भन्दा पनि कामको निम्ती बैठक हो । त्यही भएर अरुले गर्ने कुराहरु ठिकै छन्, अफिसको काम, अहिले अडिट आइरहेको छ । हाम्रो आन्तरिक अडिट र कामहरु हुन्छन् । यो विचमा कार्यालय प्रमुख पनि बुवा वितेको हुनाले छुट्टिमा बस्नु भयो । धेरै कारणहरु छन् । यसको अर्थ केही काम नै भएका छैनन् भन्ने होईन । कामको लागि जडसुत्र त होइन नि बैठक ? बैठककै कारणले भनेर नगरपालिकाका कुनै कामहरु रोकिएका छैनन् । बर्षाले दैनिक बाटोहरुमा अवरोध आएको छ । त्यो कामको समाधान पनि गरिरहेकै छौ । त्यसो भएको हुनाले बढि काम भएर चर्चामा आएर पुर्वाग्रह राखेर काम नभईदियोस् भनेर हामीलाई रोक्नका लागि गलत ढंगले परिभाषित गर्न खोजिदैछ । तर, काम नभएका कहि पनि देख्नु हँुदैन ।
राजनीतिमा दुई गुट भन्ने ज्याँदा सुनिन्छ । नगरपालिकाको समस्यामा चाहि कर्मचारीको दुई गुट भन्ने चर्चा हुने गर्छ । यो अहिले पनि कायमै छ कि मिलाउनु भयो ?
समस्या छैन । तर कार्यदक्षता, क्षमता र अहिलेको प्रविधिमैत्री बातावरण अलिकती कम छ । हामीले दिन खोजेको र जनताले चाहे अनुसारको सेवा दिन सकिरहेका छैनौं । जनशक्तिकै क्षमता र सिपको अभाव छ । हिजो नगरपालिकाको स्रोत कम थियो । त्यसैले जनशक्ति पनि त्यँही अनुसारको व्यवस्थापन ग¥यौ । त्यो मितव्ययीताको दृष्टिकोणले ठिकै थियो । अहिले एडभान्स प्रविधि आएको छ । मान्छेले छिटो छरितो काम खोजीरहेका छन् । जनशक्तिको दक्षतामा एउटा समस्या छ । अर्को समस्या भनेको पुरानो प्रविधि र काम गर्ने पुरानै परिपाटीका कारण आँफुलाई शासक ठान्ने र नयाँ काम सिक्न नखोज्ने पनि भेटिन्छ कहिकतै । तर, हामीलाई कर्मचारीबाट असहयोग र बाधा भने छैन । लामो समय सम्म काम गरेका कर्मचारीहरुलाई अल्छी लाग्नु, नयाँ प्रविधिसँग घुलमेल हुन नसक्नु, नखोज्नु समस्या हो । कर्मचारी समायोजन भएर आउँदा निकै ठुलो समस्या थियो । त्यो विस्तारै सल्टियो । फरक–फरक ठाउँबाट ल्याएका बस्तुभाउ पनि त एउटै गोठमा मिलेर बस्न केही समय लाग्छ भने हामी पनि धेरै ठाउँबाट आएका केही समय पक्कै लाग्यो तर अहिले सबै एउटै परिवारको सदस्य जसरी मिलेर काम गरिरहेका छौं ।
नगरवासीले बुझ्ने गरि भनिदिनुस् न नगरपालिका भित्रको खास समस्या के हो ? व्यक्ति हो कि प्रवृत्ति ? प्रवृत्ति हो भने कस्ता–कस्ता प्रवृत्ति तपाईहरुको बाधक देखिए ?
व्यक्तिमा नजाऔं । पुरानो शैली, चिन्तन र प्रवृत्ति एउटा समस्या हो । अर्काे कुरा, कार्यक्षमता र दक्षता हो । जनताले एडभान्स सेवा सुविधा, छिटो छरितो र प्रविधिमैत्री सेवा सुविधा चाहिरहेका छन् । तर, हाम्रो प्रवृत्ति पुरानै छ । हुन त सांस्कृतिक रुपान्तरण छिटो हुने विषय पनि होइन । त्यसैले यो देशव्यापी समस्या हो । हाम्रोमा मात्र होइन । प्रदेश, केन्द्र र हरेक स्थानीय तहमा यो समस्या छ । यो दक्ष जनशक्तिले विस्तारै विस्थापित गर्दै अगाडी बढ्ने विषय हो । केही समय पक्कै लाग्छ ।
अब तपाई माथि लागेको आरोपको कुरा । तपाईको कार्यशैलिमाथी प्रश्न उठाउँदै उपमेयर सापले पत्रै लेख्नुभएछ । नगर प्रमुखलाई उपप्रमुखले पत्र लेख्ने घटना त दुर्लभ होला । किन तपाईहरु बिच दोहोरो संवाद, बोलचाल पनि बन्द भएको हो ?
त्यस्तो होइन, हामी नियमित छलफल र संवादमै छौं । हामी कहाँ कुरा काट्ने, सानो कुरालाई पनि ठुलो बनाउने प्रवृत्ति नै छ । त्यो खालको केही होइन, हामी निरन्तर छलफलमा छौ । यस्तो सम्बन्ध टुटेको भन्ने केही होइन । हामी हिजो पनि संगै थियौ, छलफलमै थियौ, अस्ती पनि छलफलमै थियौ । हाम्रो विचमा सुमधुर सम्बन्ध छ ।
नगरपालिका भित्रको आन्तरिक समस्या त मेयर उपमेयर मिलेर हल गर्नुपर्ने । वडाका समस्याहरु पनि नगरपालिका र वडा कार्यालयकै समन्वयमा सुल्झाउनु पर्ने तर यहाँ त छताछुल्ल हुने व्यथिति जस्तो देखिन्छ नि । तपाईलाई यस्तो लाग्दैन ?
कतिपय आन्तरिक समस्यालाई बाहिर ल्याउने गलत काम हो । एउटा परिवार भित्र साना तिना समस्या भईरहन्छन् । तर, ति समस्यालाई सुल्झाउने र आगामी दिनमा हुन नदिन आन्तरिक रुपमै छलफल हुनुपर्छ । हाम्रो विचमा त्यस्तो जटिल समस्या त होइन । तर, कहिलेकाँही साना तिना कुरा पनि बाहिर आउँदा आम नागरिकमा नकरात्मक सन्देश जान्छ । यद्यपी, यहाँ प्रचार भएको जस्तो, हल्ला भएको जस्तो हाम्रोमा समस्या छैन । हामी एक मन एकताको साथमा अगाडी बढिरहेका छौं । कहिलेकाँही आँफ्ना इरादा स्वार्थ पुरा नहुँदा छिटफुट समस्या बाहिर आएका छन् । हामीले कुनै विमती विनानै नगर सभा सम्पन्न ग¥यौं । त्यसले हामीलाई मार्गनिर्देशन गरेको छ । त्यँही अनुसार अगाडी बढेका छौ । कहिले कार्यशैलीको विषयमा पनि समस्या आउन सक्छ । मान्छेका स्वभाव र प्रवृत्ति फरक हुन सक्छ । एउटा कुरा के छ भने खुट्टा तान्ने, कुरा काट्ने, टिप्पणी गर्ने जस्ता अराजक प्रवृत्ति बढेका छन् । भर्खरैको कुरा छ एरपोर्टमा मन्त्रीलाई गरेको व्यवाहार । व्यक्तिगत मागहरु पुरा नहुँदा केही व्यत्तिकै निजी स्वार्थका लागि सिंगो समाजलाई अराजक र भड्किलो तरिकाले अघि बढाउने दुस्प्रयास बढी हुन थालेको छ । आम समाजको चरित्रको बारेमा कुरा गरेको मैले । अरुलाई जे सुकै होस् मेरो काम हुनै पर्छ भन्ने भएन भने झुट्टा प्रचार गर्ने हिसावले समाज अघि बढेको छ । नयाँ परिर्वतन चाहने र यथास्थितिमा रमाउन चाहने बिचको अन्तर विरोधले गर्दा पनि जवाफदेही, जिम्मेवारी, सुशासनको कमी हुँदैछ । मुलुकले सुशासन र सम्वृद्धिको चाहना गरेको छ । आज भोली नीति निर्माताहरुनै बिचौलियाको हुलमुलमा फसेको देख्न सकिन्छ । पारदर्शिताको अभाव छ । हाम्रो समाजमा लामो समय सम्म रहेको राजनीति अस्थिरता रह्यो । राणा र पञ्चायतको शासनदेखि अहिले सम्म पनि राजनीतिक अस्थिरता छ । पछिल्लो कालमा पनि द्वन्द्वले दिएको प्रभाव कायमै छ । यस्ता प्रभावहरुको बारेमा छलफल चल्नु स्वभाविक कुरा हो । हाम्रा राज्यका संयन्त्र, नीति निर्माता, जनता, सबै एक भए मात्र सम्वृद्धि सम्भव छ ।
तपाईलाई उपप्रमुख ज्यूले एक साताको अल्टिमेटम पनि दिनुभएको छ । कार्यपालिका बैठक कहिले बोलाउनु हुन्छ ?
समाधान भइसक्यो । हामी हिजो पनि छलफलमा थियौं । उहाँले मिडियामा मैले ल्याएको होइन, कसैले ल्याईदियो भन्नुभएको छ । बैठक बसेको छैन । बसौ भन्ने राम्रो कुरा हो । त्यो कुरा मुखैले भन्न सकिन्थ्यो । उहाँले चिठी लेख्नुभयो, त्यो फरक कुरा हो । तर, बाहिर हल्ला भएको जस्तो हाम्रो विचमा केही छैन । निकै सौहार्दपूर्ण सम्बन्ध छ, व्यवहार छ ।
अबका दिनमा नगरमा उपलब्धि देखिने मुख्य काम के–के गर्दै हुनुहुन्छ त ?
जनताकै काम गर्नका लागि आएको हो । हामीले गर्ने हरेक काममा ठोस उपलव्धि देखियोस् हाम्रो चाहना र लक्ष्य हुन्छ । आगामी दिनमा अझै हामी पर्यटन प्रर्वद्धन, रोजगारी, शिक्षा, सुशासन र आम नागरिकसँग प्रत्यक्ष जोडिएर उहाँहरुको मनोभावना बुझेर काम गर्ने योजनाको साथमा अगाडी बढेका छौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *