–शिवशरण ज्ञवाली
नेपाली पत्रकारिता आज विशाल र संभावनायुक्त उद्योगका रुपमा विकास भइसकेको छ । यो उद्योगको केन्द्रदेखि स्थानीय स्तरसम्म स्थापना हुने क्रम निरन्तर चलिरहेको छ । छापा, श्रव्य, श्रव्यदृश्य र विद्युतीय अनलाइन जस्ता सञ्चार माध्यमहरुको विकास दिनप्रतिदिन भइरहेको छ । उद्योगको विकाससँगै सूचना, शिक्षा, मनोरन्जन र अभिप्रेरणा फैलाउने मूल कार्य गर्ने आमसञ्चार माध्यम आज पर्चाकारितामा बढी केन्द्रीत हुने खतरा पनि उत्पन्न भएको छ । पत्रकारका गालामा लगाइने माला र आसन ग्रहणको उचित बन्दोवस्तले उनीहरुको कलमको निम तिखारिनुको साटो भुत्ते भएको सहजै अनुमान गर्न सकिन्छ ।
अर्कोतिर ठूला सञ्चार माध्यमहरु ज्याकेट लगाएर व्यापारिहरुको हित रक्षा गर्ने कार्यमा तल्लीन भएका हुन् कि भन्ने आभाष मिल्दै गएको छ । तथापि देशका सबै उद्योगहरु अस्ताइरहेका बेला पत्रकारिताले फरक परिवेशको निर्माण गरी हजारौं मानिसहरुलाई त्यो उद्योगमा संलग्न हुने अवसर दिएको छ । चारैतिर निराशा छाउँदा पनि पत्रकारिता बादलमा चाँदीको घेरा बन्न सफल भएको छ ।
गौरवको विषय के छ, नेपाली पत्रकारिताको सग्लो इतिहास छ नेपालीहरुसँग छ । गोरखापत्र त्यसैको उदाहरण हो । यसको प्रकाशन वि. सं. १९५८ वैशाख २४ गतेबाट सुरु भयो । सय वर्षभन्दा बढीको आरोहअवरोह पार गरेको यो समाचार पत्र आज उत्तरोत्तर प्रगति उन्मुख छ । यसका अनेकन् सह-प्रकाशनहरु छन् । यसकै जगमा प्रसारण पत्रकारितामा श्रव्य माध्यम रेडियो नेपाल आयो । २००७ सालबाट पत्रकारितामा छापा एकाधिकार तोडियो । २०४१ सालमा श्रव्यदृश्य सञ्चार माध्यम टेलिभिजन आइपुग्यो । यसरी छापामा सीमित पत्रकारिता श्रव्य, श्रव्यदृश्यमा समेत विस्तारित भयो । प्रजातन्त्रको पुर्नस्थापनासँग निजी क्षेत्रका प्रकाशन प्रसारण माध्यमले सरकारी एकाधिकारलाई तोडेर जबरजस्त रुपमा आफूलाई स्थापित गरे । त्यतिमात्र नभएर नयाँ माध्यमका रुपमा क्षणक्षणमा समाचार सम्प्रेषण गर्ने अनलाइनहरु आए । यसरी विकास भएको पत्रकारिताको पृष्ठभूमि निर्माण गर्ने काम कसले ग¥यो ? नेपाली पत्रकारिताको आदि पत्रकार को हो ? यो प्रश्न आममानिसहरुमा उत्पन्न हुनु अस्वभाविक होइन । त्यसका लागि पत्रपत्रिका प्रकाशनको इतिहासतिर फर्कनु पर्ने हुन्छ ।
नेपालमा पत्रपत्रिका प्रकाशनको इतिहास वि.सं. १९५० को दशकबाट सुरु भयो । तर त्यसभन्दा पहिला नेपालबाहिरबाट नेपाली भाषामा पत्रपत्रिका प्रकाशनको सुरुवात भने वि. सं. १९४० कै दशकबाट भइसकेको थियो । त्यतिबेला भारतको वनारस नेपालीहरुको शैक्षिक तथा धार्मिक केन्द्र थियो । आफ्ना बाबु दयाराम भट्ट माहिली आमाको स्याहार सुसारका लागि वनारसमा बसेकाले मोतीराम भट्टले बाबुसँग त्यहाँ जाने अवसर पाए । त्यही उनले आधुनिक शिक्षा पनि लिन थाले । बहुमुखी प्रतिभाका धनी भट्टले शिक्षासँगै साहित्यिक गतिविधि पनि बढाउन थाले । मोतीमण्डलीको गठन गरेर सामूहिक कविता लेखन कार्यको सुरुवात पनि गरे । आज निकै चर्चित बन्न पुगेको गजललेखन परम्पराको सुरुवात पनि उनैले गरे । त्यसपछि उनी साहित्यको विकासका लागि त्यसको प्रकाशन तर्फ लागे । त्यसैले उनले आफ्ना काशीका मित्र रामकृष्ण बर्मालाई अनुरोध गरेर ‘भारतजीवन प्रेस’को स्थापना गराए । त्यहीबाट उनले भानुभक्तको रामायणको प्रकाशन सुरु गरे ।
साथै आफ्नै पुस्तकहरु गजेन्द्रमोक्ष, पञ्चकप्रपन्चक, शकुनौती, स्वपनाध्याय, गफाष्टक जस्ता कृतिहरुको प्रकाशन गरे । त्यही प्रेसबाट ‘भारतजीवन’को नेपाली संस्करणका रुपमा गोर्खा भारत जीवनको प्रकाशन भयो । त्यतिबेला चालिस हजार नेपालीहरुको त्यहाँ बसोबास रहेको बुझिन्छ । उनीहरुलाई नै लक्षित गरेर यो पत्रिका प्रकाशन भएको देखिन्छ । यो पत्रिका विशुद्ध समाचारपत्र थिएन भन्ने कुरा हाँसीमजाक कुरा प्रकाशन हुन्थे कुराबाट पुष्टि हुन्छ । यो पत्रिकाको सम्पादक रामकृष्ण बर्मा नै थिए । तर यसको प्रकाशनको पृष्ठभूमिमा मोतीराम भट्ट नै रहेका थिए भन्ने कुरामा अध्येताहरुको सहमति रहेको छ । यो साप्ताहिक पत्रिकाको प्रकाशन मिति कतै वि. सं. १९४२, कतै १९४३, कतै १९४८, कतै १९४५, कतै १९५० भन्ने पाइन्छ । यो पत्रिकामा मोतीरामको संलग्नता कुन खालेको थियो भन्ने कुरा प्रष्ट छैन । तर कुनै न कुनै प्रकारले मोतीराम जोडिएका भने थिए ।
वनारसबाट काठमाडौँ फर्किएपछि मोतीराम भट्टले आफ्ना मामा कृष्णदेव पाण्डेसँग मिली ‘मोतीकृष्ण कम्पनी’ पुस्तक पसलको स्थापना गरे । त्यसपछि उनले ‘मोतीकृष्ण शर्मा’ को नाममा पाशुपत छापखानाको स्थापना गरे । मोतीरामको अल्पायुमा देहावसानपछि प्रकाशित भएका सुधासागर साहित्यिक पत्रिका र गोरखापत्र समेत यो छापखानाबाट प्रकाशित भएको इतिहास पाइन्छ । सुधासागर र गोरखापत्रको दुवैको प्रकाशनको भु्रण मोतीराम भट्टले नै तयार पारेको इतिहास पाइन्छ । गोरखापत्रको प्रकाशनका लागि मामामार्फत उनले राणा प्रधानमन्त्रीलाई निवेदन गरेको बुझिन्छ । यी दुवै पत्रपत्रिकाहरु भट्टको असमायिक निधनबाट गर्भे टुहुरा बन्न पुगेको देखिन्छ ।
गोर्खा अर्थात नेपाली भाषामा आधारित गोर्खा भारत जीवनका सम्पादक भारतीय भएका कारण नेपाली पत्रकारितामा पत्रकारिता सुरु गर्ने पहिलो श्रेय मोतीराम भट्टलाई नै जान्छ । त्यसकारण नेपाली पत्रकारिताको सुरुवात मोतीराम भट्टबाटै भयो । उनी नै आदि पत्रकार हुन् ।